नेभिगेशन

अन्तरिक्ष यात्रा: शारीरिक परिवर्तन र पृथ्वीमा फर्किएपछि आउने चुनौती

नेपाल हेल्थ न्युज, काठमाडौँ । अन्तरिक्षबाट पृथ्वीको मनोरम दृश्य हेर्ने रहर हामी धेरैको हुन सक्छ। तर पृथ्वीको गुरुत्वाकर्षणमा बानी परेको हाम्रो शरीरका लागि अन्तरिक्षको बसाइ त्यति सहज हुँदैन।

पृथ्वीमा फर्किसकेपछि अन्तरिक्षमा हुने तौलविहीनताको अवस्थाबाट मुक्त हुन हाम्रो शरीरलाई वर्षौँ लाग्न सक्छ।

नासाका दुई अन्तरिक्षयात्री सुनी विलिअम्स र बुच विल्मोर नौ महिना अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा बिताएर भर्खरै पृथ्वीमा फर्किएका छन्। अहिले उनीहरू पृथ्वीमा पुनर्स्थापित हुने क्रममा छन्।

‘हालसम्म मानिस पुगेका ठाउँहरूमध्ये सबैभन्दा चरम अवस्था भएको ठाउँ अन्तरिक्ष पनि हो। त्यस्तो चरम अवस्थालाई सामना गर्न सक्ने गरी हाम्रो शरीर बनेको छैन,’ साउथ वेल्स विश्वविद्यालयमा ह्यूमन फिजिओलजीका प्राध्यापक डेमिअन बेली भन्नुहुन्छ ।

अन्तरिक्षमा प्रवेश गर्नासाथ मानवको शरीरमा परिवर्तन हुन थाल्छ। सुरुसुरुमा अद्भुत अनुभूति हुन्छ। ‘बिदामा रमाइलो गरे जस्तो हुन्छ,’ सन् २०१५ आईएसएसमा गएका अन्तरिक्षयात्री टिम पिक भन्छन्।

‘तपाईँको मुटुलाई आराम भए जस्तो हुन्छ। तपाईँका मांसपेशी र हड्डीहरूलाई पनि आनन्द अनुभूति हुन्छ। शून्य गुरुत्वाकर्षण भएको अन्तरिक्ष स्टेशनमा तपाईँ तैरिने अवस्था बन्छ। ’

अन्तरिक्षमा हुँदा मांसपेशीमा पनि गम्भीर प्रभाव पर्छ। जीउ र अङ्गहरू नचलाउने हो भने मांसपेशी नै बिग्रिने सम्भावना हुन्छ।

सामान्य उभिने काम गर्दा मात्रै पनि तपाईँलाई स्थिर राख्न शरीरभरिका मांसपेशीहरूको प्रयोग हुन्छ। तर अन्तरिक्ष स्टेशनमा त्यसो हुँदैन। सबै कुरा तौलविहीन हुने स्थानमा मांसपेशीको बलको अर्थ हुँदैन। त्यसैले अन्तरिक्षयात्रीहरूले त्यहाँ नियमित व्यायाम नगरी हुँदैन।

चाँडै आउने बुढ्यौली
मुटुले गुरुत्वाकर्षणको विपरीत दिशामा रगत प्रसार गर्नु पर्दैन। त्यसैले मुटु र रक्तनलीहरूले आराम पाउँछन्। कामको चाप नपर्दा ती कमजोर हुन थाल्छन्। हड्डीहरू पनि कमजोर बन्न थाल्छन्। हड्डी टुक्र्याउने र बनाउने कोशिकाहरूबीच सन्तुलन कायम हुनुपर्छ। तर गुरुत्वाकर्षण नभएको ठाउँमा त्यस्तो सन्तुलन भङ्ग हुन्छ।

‘हरेक महिना उनीहरूको शरीरमा झन्डै एक प्रतिशत हड्डी र मांसपेशीहरू मरेर जान्छन्। तसर्थ उनीहरूमा बुढ्यौली तीव्र गतिमा देखा पर्छ,’ प्राध्यापक बेली भन्छन्।

उनीहरू पृथ्वी फर्किँदा उनीहरूमा बुढ्यौलीका सङ्केतहरू स्पष्ट रूपमा देखिन्छ। तलको दृश्यमा अन्तरिक्षयात्री विलिअम्सलाई क्याप्स्यूलबाहिर निकाल्न र ह्वीलचेअरमा बस्न पनि अरूको सहयोग आवश्यक परेको देखिन्छ। त्यहाँ पुगेपछि पनि उनीहरूको दैनिक कार्यतालिकामा साढे दुई घण्टाको नियमित व्यायाम पर्छ।

त्यस क्रममा उनीहरू ट्रेडमिलुमा हिँड्ने, साइक्लिङ गर्ने र भारोत्तलन गर्ने गर्छन्। त्यसो गर्दा उनीहरूलाई हड्डी र मांसपेशी ठिकठाक राख्न सहयोग पुग्छ।

अहिले पृथ्वीमा आइपुगेका विलिअम्स र विल्मोरले गुमेको शारीरिक क्षमता पुनः हासिल गर्न गहन अभ्यास र तालिम सुरु गर्नेछन्।

‘उनीहरूका मांसपेशीलाई पूर्ववत् अवस्थामा फर्काउन केही महिना लाग्न सक्छ,’अन्तरिक्षमा पुग्ने पहिलो ब्रिटिश नागरिक डा हेलेन शर्मन भन्छन्।

हड्डीमा खनिज पदार्थको मात्रा (बोन मास) पुरानै अवस्थामा फर्किन केही वर्ष नै लाग्न सक्छ। पृथ्वीमा फर्किएपछि पनि त्यो पुरानै र साधारण अवस्थामा नफर्किन सक्छ।

अन्तरिक्षमा मांसपेशी र हड्डी मात्रै नभएर पूरा शरीर नै परिवर्तन हुन सक्छ। हाम्रो शरीरमा हुने गुणकारी जीवाणुहरू पनि फेरिन सक्छन्।

माइक्रोग्र्याभिटी अर्थात् न्यून गुरुत्वाकर्षण भएको स्थानमा शरीरमा रहेको तरल पदार्थमा पनि परिवर्तन हुन्छ। गुरुत्वाकर्षणका कारण खुट्टातिर आउने तरल पदार्थ छाती र अनुहारको भाग तिर तैरिन्छ।

शरीरमा देखिने गरी हुने परिवर्तन भनेको त्यहाँ अनुहारको भाग फुल्नु हो। तर यसले मस्तिष्क र आँखा सुन्निनुका साथै आँखाको स्नायु, रेटिना र आँखाको स्वरूपमा पनि असर गर्न सक्छ।

अन्तरिक्षयात्रासँग सम्बन्धित आँखा र स्नायुप्रणालीमा उत्पन्न हुने समस्याका कारण धमिलो देखिने र आँखामा निको नहुने गरी हानि पुग्ने सम्भावना हुन्छ।

चक्कर लागे जस्तो अनुभव

न्यून गुरुत्वाकर्षणका कारण भेस्टिब्यूलर प्रणालीमा पनि दुष्प्रभाव पर्छ। उक्त प्रणालीले हामीलाई सन्तुलन कायम गर्न र माथिपट्टि भएका कुरा चिन्न सहयोग गर्छ। अन्तरिक्षमा माथि, तल वा छेउछाउ भन्ने हुँदैन। त्यस कारण माथि पुगेर पृथ्वीमा फर्कँदा तपाईँलाई अलमल हुन सक्छ।

टिम पीक भन्छन्– ‘आरम्भमा तपाईँलाई रिँगटा लागेजस्तो हुने, शरीरको सन्तुलन मिलाउन कठिन हुने र साधारण रूपमा हिँडडुल गर्न बल नभए जस्तो हुन्छ। त्यो सुरुका दुई-तीन दिन मात्रै हुन्छ। पृथ्वीमा फर्किएपछिका दुई–तीन दिन वास्तवमै सजाय भोगिरहेको जस्तो महसुस हुन्छ।’ बीबीसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट