नेपाल हेल्थ न्युज, काठमाण्डौ । आज ७७ औं विश्व स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । विश्व स्वास्थ्य सङ्गठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ ।
यस वर्षको विश्व स्वास्थ्य दिवसको अवसरमा मातृ तथा नवजात शिशु स्वास्थ्यलाई केन्द्रित गर्दै वर्षव्यापी अभियानको शुभारम्भ गरिदै छ । स्वस्थ सुरुवात, समृद्ध भविष्य भन्ने मूल नारा सहित, यस अभियानले सरकार र स्वास्थ्य क्षेत्रमा कार्यरत सरोकारवालालाई मातृ तथा नवजात शिशु मृत्यु न्यूनीकरणका लागि प्रयासहरू तीव्र बनाउन र महिलाको दीर्घकालीन स्वास्थ्य तथा आरोग्यतालाई प्राथमिकता दिन आग्रह गरिएको छ ।
यस अवसरमा, विश्व स्वास्थ्य संगठन तथा साझेदार संस्थाहरूले स्वस्थ गर्भावस्था, सुरक्षित प्रसूति तथा सुत्केरीपछिको स्वास्थ्य प्रवद्र्धन गर्न सन्देशमूलक जानकारीहरू प्रदान गर्नेछन् ।
हरेक महिला तथा शिशुको स्वस्थ र समृद्धिका लागि सहयोग
विश्व स्वास्थ्य संगठनले भनेको छ —‘यो कार्य अत्यन्त महत्वपूर्ण छ । दुःखद रूपमा, हालै प्रकाशित आंकलनहरू अनुसार दक्षिण पूर्वी एसियामा हरेक वर्ष करिब ३ लाख महिलाले गर्भावस्था वा प्रसूतिका क्रममा ज्यान गुमाइरहेका छन् । त्यसैगरी, २० लाखभन्दा बढी नवजात शिशुको जन्मेको पहिलो महिनाभित्रै मृत्यु हुन्छ भने करिब २० लाख शिशु मृत अवस्थामा जन्मिन्छन् । यसको अर्थ हरेक ७ सेकेन्डमा रोकथाम गर्न सकिने एउटा मृत्यु भइरहेको छ ।’
हालको प्रवृत्तिलाई हेर्दा, ५ मध्ये ४ अर्थात् ८० प्रतिशत देशहरू सन् २०३० सम्म मातृ मृत्युदर कम गर्ने लक्ष्य हाँसिल गर्न सक्ने अवस्थामा छैनन् । त्यस्तै, ३ मध्ये १ देशले नवजात शिशु मृत्युदर घटाउने लक्ष्य पूरा गर्न नसक्ने सम्भावना रहेको संगठनको भनाइ छ ।
महिलाहरुको आवाज सुन्ने र परिवारहरुलाई सहयोग गर्ने
प्रत्येक महिला र उनीहरुका परिवारलाई गर्भावस्था, प्रसव र सुत्केरी अवस्थामा शारीरिक तथा मानसिक रूपमा सहयोग पुर्याउन गुणस्तरीय स्वास्थ्य सेवाको आवश्यकता हुन्छ ।
मातृ तथा नवजात शिशुको स्वास्थ्यमा असर पुर्याउने विभिन्न स्वास्थ्य समस्याहरूको व्यवस्थापन गर्नका लागि स्वास्थ्य प्रणालीको सुदृढीकरण आवश्यक छ । यसमा प्रत्यक्ष प्रसूति सम्बन्धी जटिलतामात्र नभई मानसिक स्वास्थ्य समस्याहरू, नसर्ने रोगहरू, र परिवार योजना सम्बन्धी सेवाहरू पनि समेटिनुपर्छ ।
त्यसैगरी, महिला र परिवारको स्वास्थ्य तथा अधिकार सुनिश्चित गर्नका लागि उनीहरुलाई उपयुक्त कानुन र नीतिहरू मार्फत सहयोग गर्न आवश्यक रहेको संगठनको भनाइ छ ।
सन् १९४८ मा विश्व स्वास्थ्य सङ्गठनको स्थापना भएको पाँच वर्षपछि सन् १९५३ मा नेपाल सदस्य राष्ट्र बनेको थियो ।
जनस्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका सफलताहरूको स्मरण गर्नुको साथै वर्तमान र भविष्यका स्वास्थ्य चुनौतीहरूको सम्बोधन गर्न स्वास्थ्य प्रणालीलाई अझै सुदृढ बनाउने अवसरको रुपमा पनि यस दिवसलाई लिइएको छ ।
चिकित्सकको लापरबाही, नाकको शल्यक्रिया गर्दा आँखा नै गुम्यो
सोमबार, मंसिर २२, २०८२
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआईभी संक्रमण पुष्टि
सोमबार, मंसिर २२, २०८२
आठ स्वास्थ्य संस्थाबाट अब स्वास्थ्य बीमा अन्तर्गत प्रथम सेवा
सोमबार, मंसिर २२, २०८२
मेडिकल काउन्सिलको सदस्य पदमा डा. गोपालकुमार चौधरी नियुक्त
सोमबार, मंसिर २२, २०८२
