नेपाल हेल्थ न्युज, काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालले पछिल्ला तीन दशकमा मातृ तथा सुत्केरी मृत्यु दर न्यूनीकरण लगायत स्वास्थ्यका विविध सूचकहरूमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभएको छ।
संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजना भएको जनसंख्या तथा विकास आयोगको ५८ औँ उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपालले आफ्नो स्वास्थ्य प्रणाली सुदृढ गर्दै हरेक नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने दृढता व्यक्त गर्नुभयो ।
उहाँका अनुसार दक्ष स्वास्थ्य जनशक्तिको विकास, परिवार नियोजन सेवाको विस्तार, प्रजनन क्षमतामा गिरावट, किशोरावस्थाको जन्मदरको कमी र बालविवाह न्यूनीकरणमा नेपालले सन्तोषजनक परिणाम हासिल गरिसकेको छ। 'तर, यी उपलब्धिहरू कायम राख्न र अझ उचाइमा पुर्याउन अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यबद्धता आवश्यक छ'- मन्त्री पौडेलले भन्नुभयो।
उहाँले ग्रामीण क्षेत्रहरूमा अझै पर्याप्त स्वास्थ्य पूर्वाधारको अभाव, बजेटको सीमितता र प्रतिव्यक्ति स्वास्थ्य खर्च अन्तर्राष्ट्रिय औसतभन्दा कम भएकाले नेपालले अझै चुनौतीहरू सामना गरिरहेको उल्लेख गर्नुभयो। साथै, जलवायु परिवर्तनले निम्त्याएका नयाँ स्वास्थ्य चुनौती र प्राकृतिक विपद्ले आपतकालीन अवस्थाको सामना गर्न लचिलो स्वास्थ्य प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याउँनुभयो।
जलवायु परिवर्तन र प्राकृतिक प्रकोपका कारण आपतकालीन स्थितिमा छिटो प्रतिक्रिया दिनसक्ने प्रणाली आजको आवश्यकता हो, मन्त्री पौडेलले स्पष्ट पार्नुभयो। उहाँले नेपालजस्ता विकासशील राष्ट्रहरूलाई विकास सहायताको खाँचो अझै तीव्र रुपमा महसुस भएको पनि बताउनुभयो।
नेपाल सरकार स्वास्थ्य सेवाको सर्वसुलभ पहुँच विस्तार गर्नका लागि अन्तर्राष्ट्रिय सहयोगका साथै निजी क्षेत्रको लगानीमा पनि जोड दिइरहेको उहाँले बताउनुभयो। 'स्वास्थ्यमा निजी क्षेत्रको सहभागिता बढाउन जरुरी छ, ताकि राज्यले मात्रै नपुगेको सेवा जनसहभागितामार्फत विस्तारित गर्न सकियोस्'- मन्त्री पौडेलले भन्नुभयो।
यस उच्चस्तरीय सत्रमा नेपाल प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनुभएका मन्त्री पौडेलले न्यूयोर्क बसाइका क्रममा विभिन्न मुलुकका प्रतिनिधिहरूसँग द्विपक्षीय वार्ता गर्ने, तथा त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट गरी स्वास्थ्य सेवा सुधारसम्बन्धी सुझाव संकलन गर्ने कार्यक्रम रहेको राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले जानकारी दिनुभयो।
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२



