पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) महिलाको अण्डाशयसँग सम्बन्धित एउटा गम्भीर रोग हो र अहिले विश्वभर यसबाट पीडित महिलाको संख्या तिब्र गतिमा बढिरहेको छ । यो समस्यालाई पोलिसिस्टिक ओभरी डिजिज (पीसीओडी) पनि भनिन्छ । कतिपय महिलाहरू पीसीओएस र पीसीओडी दुवै नामको बारेमा भ्रममा पर्छन् । यो एउटै हो । कुनै पनि स्वास्थ्य सम्बन्धी समस्याका धेरै लक्षणहरू एकैसाथ देखा पर्न थाल्दा त्यसलाई सिन्ड्रोम भनिन्छ । त्यसैले पीसीओडी र र पीसीओडीमा कुनै भिन्नता छैन । पीसीओएसका कारण महिलाको शरीरमा हर्मोनल सन्तुलन बिग्रन्छ जसले गर्दा गर्भधारण गर्न गाह्रो हुन्छ । पीसीओएस एक दीर्घकालीन अवस्था हो र यो निको हुन सक्दैन । यद्यपि जीवनशैली परिवर्तन, औषधि र प्रजनन उपचारहरू मार्फत केही सुधार गर्न सकिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार, पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) बाट प्रजनन उमेरका करिब ८ देखि १३ प्रतिशत महिलाहरु प्रभावित भएका छन् । विश्वमा पीसीओएस प्रभावित ७० प्रतिशत महिलाहरूको निदान हुन सकेको छैन । पीसीओएस दीर्घकालीन विभिन्न स्वास्थ्य समस्याहरूसँग जोडिएकाले शारीरिक र भावनात्मक स्वास्थ्यलाई असर गर्छ । पीसीओएस धेरैलाई हुने एक हार्मोनल समस्या हो । यसले प्रजनन उमेरका महिलाहरूलाई असर गर्छ । सामान्यतया यो किशोरावस्थाको समयमा सुरु हुन्छ । तर समयअनुसार लक्षणहरुमा उतार–चढ़ाव आउनसक्छ ।
पीसीओएसमा हार्मोनल असन्तुलन, अनियमित महिनावारी, अत्यधिक एण्ड्रोजन (पुरुष हर्मोन) को स्तर बढ्नसक्छ । साथै अण्डाशयमा सिस्टहरू गराउन सक्छ । अनियमित महिनावारी र ओभुलेसनको कमीका कारण गर्भवती हुन मुश्किल पर्नसक्छ । अतः पीसीओएस निःसन्तानको प्रमुख कारण हो ।
हालसम्म पीसीओएसको सही कारणहरू थाहा हुन सकेको छैन र यस विषयमा विश्वभर निरन्तर अनुसन्धान भइरहेको छ । केही अनुसन्धानले देखाएको छ कि पीसीओएसको समस्या आनुवंशिक पनि हो । जसको मतलब तपाईको परिवारमा कोही पहिले नै पीसीओएसबाट पीडित छ भने यो समस्या हुने सम्भावना धेरै बढ्छ । यो पनि पाइएको छ कि मधुमेह सँगै, यदि महिलाको महिनावारीमा पनि अनियमितता छ भने त्यस्ता महिलाहरूमा पीसीओएस हुने सम्भावना पनि बढ्छ । यस लेखमा हामी तपाईलाई पोलिसिस्टिक ओभरी सिन्ड्रोमको लक्षण, कारण र उपचारको बारेमा विस्तृत रूपमा बताइरहेका छौं ।
पीसीओएस भनेको के हो ?
यो अण्डाशयसँग सम्बन्धित समस्या हो जसका कारण महिलाको शरीरमा हर्मोनल असंतुलन हुनथाल्छ । यस्तो अवस्थामा महिलाको शरीरमा महिला हर्मोनको सट्टा पुरुष हर्मोन (एन्ड्रोजन) को स्तर बढी हुन थाल्छ । पीसीओएसका कारण अण्डाशयमा धेरै सिस्टहरू बन्न थाल्छन् । यी सिस्टहरू सानो थैलीको आकारमा हुन्छन् र तरल पदार्थले भरिएका हुन्छन् । बिस्तारै यी सिस्टहरू ठूला हुन थाल्छन् र त्यसपछि तिनीहरूले अण्डाशयको प्रक्रियामा बाधा पुर्याउँछन् । पीसीओएसबाट पीडित महिलाहरूमा ओभ्युलेसन प्रक्रिया नहुँदा गर्भधारण हुने सम्भावना कम हुन्छ । पीसीओएस भएका महिलालाई टाइप–२ मधुमेह हुने सम्भावना पनि बढ्छ । पीसीओएसको उपचार पूर्णतया सम्भव नभए पनि जीवनशैली र खानपानमा प्रभावकारी परिवर्तन गरी उचित उपचारको सहयोगले पीसीओएसको लक्षण धेरै हदसम्म कम गर्न सकिन्छ । पीसीओएसबाट पीडित महिलाहरू कहिल्यै आमा बन्न सक्दैनन् भन्ने आवश्यक छैन । बरु, यो रोग र उपचारको गम्भीरतामा निर्भर गर्दछ । उचित उपचार र जीवनशैलीमा आवश्यक परिवर्तन भएमा यसबाट पीडित महिलाहरू पनि गर्भवती हुनसक्छन् ।
लक्षण
धेरैजसो महिलालाई गर्भावस्थाको जाँच नभएसम्म पीसीओएस रोगबारे थाहा हुँदैन । समयमै पत्ता नलाग्दा यो समस्या बढ्दै गएको छ । यद्यपि, तपाईं यसलाई प्रारम्भिक लक्षणहरू द्वारा पहिचान गर्न सक्नुहुन्छ ।
अनियमित महिनावारी
पीसीओएसले तपाईंको महिनावारीलाई सबैभन्दा बढी असर गर्छ र यसै कारणले गर्दा महिनावारी चक्रमा बाधा पुग्छ वा धेरै अवस्थामा समयमै महिनावारी हुँदैन । तसर्थ, तपाईंले आफ्नो महिनावारीको मिति होसियारीपूर्वक नोट गर्नुहोस् र यदि तपाईंको महिनावारी समयमा आउँदैन भने डाक्टरकोमा जानुहोस् र आफूलाई जाँच गराउनुहोस् ।

अत्यधिक रक्तस्राव
पीसीओएसबाट पीडित महिलाहरूलाई महिनावारीको समयमा सामान्य भन्दा बढी रक्तस्राव हुन्छ ।
नचाहिने कपाल बढ्नु
पीसीओएसबाट पीडित अधिकांश महिलाहरूको पुरुषजस्तै अनुहार र शरीरमा कपाल बढ्न थाल्छ । विशेषगरी छाती, पेट र ढाडमा बढी कपाल देखिने गर्छ ।
डण्डिफोर
पीसीओएस रोगबाट पीडित हुँदा महिलाको शरीरमा पुरुष हर्मोनको स्तर बढ्छ र यी पुरुष हर्मोनहरूले छालालाई अधिक तैलीय बनाउँछ जसको कारण अनुहार वा छातीमा डण्डिफोर देखा पर्न थाल्छ । यदि पिम्पल बारम्बार देखा परिरहेको छ भने यो पीसीओएसको कारण हुन सक्छ, त्यसैले डाक्टरकोमा जानुहोस् र आफ्नो जाँच गराउनुहोस् ।
तौल बढ्नु
पीसीओएसबाट पीडित हुँदा महिलाको तौल पनि बढ्न थाल्छ र यदि सही ढंगले हेरचाह गरिएन भने मोटोपनको सिकार भइनसक्छ । त्यसैले बढ्दो तौललाई बेवास्ता नगर्नुहोस् । बरु चिकित्सककहाँ गएर यसको वास्तविक कारण पत्ता लगाउनुहोस् ।
टाउको दुख्ने
हर्मोनल असन्तुलनका कारण पनि केही महिलालाई टाउको दुख्ने समस्या हुनसक्छ ।
व्यवहारमा परिवर्तन
पीसीओएसबाट पीडित महिलाहरूमा पुरुष हर्मोनको मात्रा बढेपछि यसको प्रभाव उनीहरूको व्यवहारमा पनि देखिन थाल्छ र उनीहरू पहिलेभन्दा बढी चिडचिडा र क्रोधित हुन्छन् ।
अनिद्रा
राम्ररी निद्रा नलाग्नु पनि पोलिसिस्टिक ओभरी सिन्ड्रोमको लक्षण हो । यस्तो अवस्थामा उठ्दा पनि थकान महसुस हुन्छ । यद्यपी यी समस्याहरू स्लीप एपनिया जस्ता रोगको लक्षण पनि हुन सक्छन्, तर यदि तपाईंलाई यस्तो केही महसुस भइरहेको छ भने अवश्य स्वास्थ्य जाँच गराउनुहोस् ।
यदि तपाईमा माथि उल्लेख गरिएका धेरै लक्षणहरू छन् भने ढिलो नगरी ई डाक्टरबाट राम्रोसँग जाँच गर्नुहोस् र वास्तविक कारणहरू पत्ता लगाउनुहोस् ।
पीसीओएसबाट बच्ने उपाय
यद्यपि यो समस्यालाई पूर्ण रूपमा निको पार्न गाह्रो छ । तैपनि तपाईंले केही कुराहरूलाई ध्यानमा राखेर पीसीओएसबाट आफूलाई बचाउन सक्नुहुन्छ । विशेषगरी तपाईंले आफ्नो जीवनशैलीमा धेरै परिवर्तन ल्याउनु पर्नेछ । पीसीओएसबाट बच्न के गर्ने भनेर चिकित्सकलाई थाहा दिनुहोस् ।
तौल घटाउनुहोस्
यदि तपाइँको तौल र बडी मास इन्डेक्स दुबै सामान्य भन्दा बढी छ भने यसलाई सामान्य समस्याको रूपमा बेवास्ता नगर्नुहोस् । बरु जतिसक्दो चाँडो तौल घटाउने प्रयास गर्नुहोस् । ५ देखि १०% सम्म शरीरको तौल घटाउनुले मासिक धर्म चक्र नियमित गर्न मद्दत गर्दछ र पीसीओएसको लक्षणहरूमा पनि सुधार गर्दछ ।

व्यायाम
पीसीओएस भएमा शरीरको तौल द्रुत गतिमा बढ्न थाल्छ र यसको साथसाथै इन्सुलिनको स्तर पनि बढ्छ । यस्तो अवस्थामा हरेक दिन बिहान र बेलुका व्यायाम गर्नु अति आवश्यक छ । अन्यथा तपाईको समस्या झनै बढ्नेछ । नियमित व्यायामले तौल नियन्त्रण गर्छ र तौल घटाउन पनि इन्सुलिन नियन्त्रण गर्न मद्दत गर्छ । त्यसैले दैनिक व्यायाम गर्नुहोस् ।
आहारमा परिवर्तन गर्नुहोस्
केही अनुसन्धानले पत्ता लगाएको छ कि कम कार्बोहाइड्रेट खाना खाँदा वजन र इन्सुलिन दुवै घटाउन मद्दत गर्दछ । तसर्थ, आफ्नो आहारमा फलफूल, हरियो सागसब्जी र सम्पूर्ण अन्न जस्ता कम ग्लाइसेमिक इन्डेक्स वस्तुहरू प्रयोग गर्नुहोस् । यी चीजहरूले महिनावारी नियमित गर्न थप मद्दत गर्दछ ।
पोलिसिस्टिक ओभरी सिन्ड्रोमका लक्षणहरू कम गर्न एक्लै व्यायामले मात्र पुग्दैन, तर व्यायामसँगै पौष्टिक आहार लिनु धेरै महत्वपूर्ण छ । राम्रो आहारको साथसाथै व्यायामले छिट्टै तौल घटाउन मद्दत गर्छ र मधुमेह र मुटुसँग सम्बन्धित रोगहरूको जोखिम पनि कम गर्छ ।
पीसीओएसको उपचार
सत्य के हो भने यो रोग पूर्ण रूपमा निको हुन सक्दैन । तर केही उपचारको मद्दतले यसका लक्षणहरूलाई धेरै हदसम्म निको पार्न सकिन्छ । पीसीओएसको कारण, हार्मोनहरू सबैभन्दा बढी प्रभावित हुन्छन्, त्यसैले डाक्टरहरूले सामान्यतया पीसीओएसबाट पीडित महिलाहरूलाई गर्भनिरोधक चक्कीहरू खान सल्लाह दिन्छन् ताकि गडबड हार्मोनल चक्र सुधार गर्न सकियोस् । यसबाहेक अनावश्यक कपालबाट छुटकारा पाउन केही यस्ता उपचार गरिन्छ जसले कपाल बढ्नबाट रोक्न सक्छ ।
जीवनशैली सुधार गर्दा गर्भाधान हुनसक्ने सम्भावना
तीनजना निःसन्तान मध्ये १ जनालाई पोलिसिस्टिक ओभरियन सिन्ड्रम हुनसक्छ । पोली भनेको धेरै हो अर्थात् अण्डाशयमा धेरै शिष्ट हुनुलाई पोलिसिस्टिक ओभरियन सिन्ड्रोम भनिन्छ । यहाँ १०–१२ मिलिमिटरका स—साना शिष्ट हुन्छन् । हरेक महिना ८–१० वटा अण्डा बन्न तयार हुन्छन् । तर यी अण्डामध्ये एउटा मात्र ठूलो हुँदै जान्छ । अरु अण्डा सुक्छन् । एउटा अण्डा मात्र ठूलो हुने समस्यालाई डोमिनन फोलिकोल भनिन्छ । यसबाट फूटेर सानो अण्डा निस्कन्छ । यो सामान्य हो । पोलिसिस्टिक ओभरियन सिन्ड्रोममा ८–१० वटा अण्डा तयार हुन्छन् । तर हर्मोनको गडबडीले कुनैपनि ठूलो हुन पाउँदैनन् र यी अण्डा सुक्दा पनि सुक्दैनन् । शिष्ट जस्तो भएर बस्छन् । अर्को महिना फेरि चक्र दोहोरिन्छ । यसले गर्दा शिष्टै शिष्ट हुन्छ । अण्डा बन्न सक्दैन र बच्चा बस्न पनि सक्दैन । यसरी समयमा अण्डा नबनेपछि निः सन्तानको समस्या हुन्छ ।
शरीरमा केटा मानिसमा पाइने टेस्टेस्टोरोन हर्मोन बढी हुने, ल्युटिनाइजिङ (एलएच) हर्मोन बढी हुने, एफएसएच (फोलिकल स्टिमुलेटिङ हर्मोन) बढी हुने गर्छ । यसरी हर्मोनको गडबढीले गर्दा पोलिसिस्टिक ओभरिज सिन्ड्रोम भएका महिलाहरुमा मधुमेह, भविष्यमा मुटु रोग, पाठेघरको क्यान्सर जस्ता समस्या हुनसक्छ । त्यसैले यसलाई मेटावोलिक डिसअर्डर पनि भनिन्छ ।
मोटोपनाले इस्ट्रोजन हर्मोनमा परिवर्तन हुन्छ । यसले अण्डा नबन्ने, अण्डाकोषको भित्ता बाक्लो भएर अण्डा फुट्न नसक्ने आदि हुनसक्छ । इन्सुलिन हर्मोन सेन्सेटिभ नहुँदा खाएको कार्वोहाइड्रेट इनर्जीमा परिवर्तन हुन सक्दैन ।
पोलिसिस्टिक ओभरियन सिन्ड्रोमले मोटोपन गराउँछ । अल्ट्रासाउण्ड गर्दा शिष्ट मोतिको माला जस्तो देखिन्छ । रगतको जाँच गर्दा हाइपरएनड्रोजीन अर्थात् एन्ड्रोजन हर्मोनहरु (टेस्टेस्टेरोन हर्मोन, एलएसएच) बढी देखिन्छ । अल्ट्रासाउण्ड र हर्मोन दुवैलाई मिलाएर हेरेपछि पोलिसिस्टिक ओभरिज पत्ता लाग्छ । जीनशैलीली कस्तो हुनुपर्छ ? भन्ने प्रश्न पनि आउन सक्छ । त्यसैले यसबाट छुटकारा पाउन जीवनशैलीमा सुधार ल्याउनुपर्छ । स्वस्थ खाना खाने, जंक फूड नखाने, शारीरिक अभ्यास गर्नुपर्छ । कार्वोहाइड्रेट कम खाने । कतिपय अवस्थामा औषधि सेवन गर्नुपर्छ । मोटो मानिसले आफ्नो तौलको करिब ५ प्रतिशतसम्म मोटोपन घटाएमा पनि अण्डा बन्न थाल्छ । यसले गर्भाधान हुने सम्भावना बढ्छ ।
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२

