नेपालमा पछिल्ला केही वर्षयता इलेक्ट्रोनिक सिगरेट (ई–सिगरेट) अर्थात् भेपिङ को प्रयोग तीव्र गतिमा बढिरहेको छ। विशेषगरी किशोरकिशोरी र युवापुस्तामाझ यसलाई आधुनिक जीवनशैली, फेसन र परम्परागत चुरोटको 'सुरक्षित विकल्प' का रूपमा प्रस्तुत गरिएको छ। आकर्षक डिजाइन, विभिन्न स्वाद (फ्लेभर), सामाजिक सञ्जालमा हुने प्रचारप्रसार र साथीभाइको प्रभावका कारण यसको प्रयोग विस्तार हुँदै गएको देखिन्छ। तर वैज्ञानिक अनुसन्धानहरूले देखाएका तथ्य भने यस धारणा भन्दा निकै फरक छन्। धुवाँरहित देखिने भेपिङ वास्तवमा फोक्सो, मुटु, मस्तिष्क तथा समग्र स्वास्थ्यका लागि गम्भीर जोखिमको स्रोत बन्न सक्ने प्रमाणहरू क्रमशः बढिरहेका छन्।
धेरै युवाले भेपिङलाई सामान्य चुरोटभन्दा कम हानिकारक ठान्ने गरेका छन्। वास्तवमा भेपिङ उपकरणबाट निस्कने बाफमा निकोटिनसँगै विभिन्न रासायनिक पदार्थ, भारी धातुका सूक्ष्म कण, अल्ट्राफाइन पार्टिकल्स तथा स्वादका लागि प्रयोग गरिएका रसायनहरू हुन्छन्। यी पदार्थहरू फोक्सोभित्र पुगेर दीर्घकालीन असर गर्न सक्ने देखिएको छ। यद्यपि भेपिङको दीर्घकालीन प्रभावबारे अध्ययन अझै जारी रहे पनि यसलाई पूर्ण रूपमा सुरक्षित भन्न सकिने कुनै वैज्ञानिक आधार छैन।
सबैभन्दा चिन्ताजनक पक्ष भनेको निकोटिनको लत हो। निकोटिन अत्यन्तै लत लाग्ने रसायन हो। किशोरावस्थामा मस्तिष्क अझै विकासको क्रममा हुने भएकाले निकोटिनले स्मरणशक्ति, ध्यान केन्द्रित गर्ने क्षमता, निर्णय गर्ने शक्ति, भावनात्मक नियन्त्रण तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। सुरुमा केवल जिज्ञासा वा साथीहरूको प्रभावमा प्रयोग गरिएको भेपिङले पछि दीर्घकालीन निर्भरता सिर्जना गर्न सक्छ। यही निर्भरता भविष्यमा अन्य सुर्तीजन्य पदार्थ प्रयोग गर्ने जोखिमसमेत बढाउने कारक बन्न सक्छ।
भेपिङसँग सम्बन्धित फोक्सोका जोखिमहरू अझ गम्भीर छन्। विशेषगरी ब्रोंकिओलाइटिस ओब्लिटेरान्स (द्यचयलअजष्यष्तिष्क इदष्तिभचबलक), जसलाई प्रायः “पपकर्न लङ“ भनेर चिनिन्छ, फोक्सोका साना श्वासनलीहरूमा स्थायी क्षति पु¥याउने दुर्लभ तर गम्भीर रोग हो। यद्यपि सबै भेपिङ प्रयोगकर्तामा यो रोग हुने भन्ने प्रमाण छैन, तर केही स्वादयुक्त रसायनहरूको दीर्घ सम्पर्कले यस्तो जोखिम बढ्न सक्ने अध्ययनहरूले संकेत गरेका छन्। एकपटक फोक्सोमा स्थायी दाग बनेपछि त्यसलाई पूर्ण रूपमा निको पार्ने उपचार हालसम्म उपलब्ध छैन।
यसका प्रारम्भिक लक्षणहरूमा लगातार खोकी लाग्नु, सास फेर्दा स्याँस्याँ आवाज आउनु, सामान्य हिँडडुल गर्दा पनि सास फेर्न गाह्रो हुनु, छाती भारी महसुस हुनु तथा छिट्टै थकान लाग्नु पर्दछन्। सुरुमा सामान्य देखिने यी लक्षणहरूलाई बेवास्ता गर्दा अवस्था जटिल बन्न सक्छ।
भेपिङसँग सम्बन्धित अर्को गम्भीर समस्या ई–सिगरेट वा भेपिङ उत्पादनसँग सम्बन्धित फोक्सोको तीव्र क्षति हो। सन् २०१९ मा अमेरिकामा यसको प्रकोप देखिँदा हजारौँ व्यक्ति अस्पताल भर्ना भएका थिए र दर्जनौँको मृत्यु भएको थियो। अनुसन्धानहरूले विशेषगरी केही अवैध वा अनियमित भेपिङ तरल पदार्थमा पाइने भिटामिन ई एसिटेट लगायतका रसायनलाई सम्भावित कारणका रूपमा औँल्याएका थिए। यस घटनाले भेपिङलाई पूर्ण रूपमा सुरक्षित मान्ने धारणा वैज्ञानिक रूपमा कमजोर भएको स्पष्ट सन्देश दिएको छ।

नेपालमा विद्यालय, कलेज तथा युवा समुदायमा भेपिङको प्रयोग बढिरहेको देखिए पनि यसको जोखिमबारे पर्याप्त जनचेतना छैन। अझै धेरै अभिभावकले इलेक्ट्रोनिक सिगरेटलाई साधारण उपकरण ठान्ने गरेका छन्। कतिपय स्थानमा उमेर नपुगेका किशोरकिशोरीलाई समेत सजिलै बिक्री भइरहेको अवस्था सार्वजनिक स्वास्थ्यका दृष्टिले गम्भीर चिन्ताको विषय हो।
अर्को समस्या भनेको भेपिङलाई धूमपान छोड्ने उपाय वा सुरक्षित विकल्प का रूपमा गरिने प्रचार हो। चिकित्सकीय निगरानीबिना गरिएको यस्तो प्रचारले धेरै युवालाई भेपिङतर्फ आकर्षित गरिरहेको छ। वास्तवमा धूमपान छोड्नका लागि वैज्ञानिक रूपमा प्रमाणित उपचार पद्धति र चिकित्सकीय परामर्श उपलब्ध छन्। त्यसैले भेपिङलाई स्वतः सुरक्षित विकल्प ठान्नु उचित हुँदैन।
आज भेपिङ प्रयोग गर्ने धेरै युवामा यसको दीर्घकालीन असर तत्काल नदेखिए पनि आगामी वर्षहरूमा फोक्सो, मुटु, रक्तनली तथा स्नायु प्रणालीसँग सम्बन्धित रोगहरूको भार बढ्न सक्ने चेतावनी विशेषज्ञहरूले दिइरहेका छन्। विगतमा चुरोटलाई सुरक्षित मान्ने भ्रमका कारण विश्वभर लाखौँ मानिसले ज्यान गुमाएका थिए। भेपिङका सन्दर्भमा त्यही गल्ती दोहोरिनु हुँदैन।
यस समस्याको समाधानका लागि सरकार, विद्यालय, अभिभावक, स्वास्थ्यकर्मी, सञ्चारमाध्यम र समुदाय सबैको साझा भूमिका आवश्यक छ। विद्यालयस्तरदेखि नै भेपिङका जोखिमबारे स्वास्थ्य शिक्षा समावेश गर्नुपर्छ। उमेर नपुगेका व्यक्तिलाई बिक्री वितरणमा कडाइ गरिनुपर्छ। सामाजिक सञ्जालमार्फत हुने भ्रामक प्रचारप्रसारको निगरानी आवश्यक छ। साथै युवापुस्तालाई खेलकुद, सिर्जनात्मक गतिविधि र स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने वातावरण निर्माण गर्नुपर्छ।
स्वास्थ्य कुनै पनि व्यक्तिको सबैभन्दा ठूलो सम्पत्ति हो। केही क्षणको फेसन, जिज्ञासा वा साथीहरूको प्रभावमा परेर फोक्सोको स्वास्थ्य जोखिममा पार्नु बुद्धिमानी होइन। भेपिङ आधुनिक देखिन सक्छ, तर यसको सम्भावित मूल्य जीवनभर तिर्नुपर्ने अवस्था आउन सक्छ।
आजको आवश्यकता भेपिङलाई सामान्य सामाजिक प्रवृत्तिका रूपमा स्वीकार गर्नु होइन, यसको वैज्ञानिक तथ्य र स्वास्थ्य जोखिमबारे स्पष्ट जानकारी फैलाउनु हो। यदि अहिले नै सचेत भएनौँ भने भोलिको नेपाल निकोटिनको नयाँ लत, बढ्दो श्वासप्रश्वाससम्बन्धी रोग र सार्वजनिक स्वास्थ्य चुनौतीसँग जुध्न बाध्य हुन सक्छ। त्यसैले भेपिङविरुद्धको सचेतना केवल स्वास्थ्यको विषय मात्र होइन, स्वस्थ र सक्षम राष्ट्र निर्माणको आधार पनि हो।
(लेखक डा. सम्पदा श्रेष्ठ नेपाल क्यान्सर रिलिफ सोसाइटी, धनकुटा शाखाकी सभापति तथा भक्तपुर क्यान्सर अस्पताल सञ्चालक समिति सदस्य हुनुहुन्छ।)
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
