कुकुरले टोकेपछि समयमै उपचार नपाउँदा मानिसको मृत्यु हुने समाचार नेपालमा नयाँ होइन । बेलाबेलामा मानवमा प्रयोग हुने रेबिजविरुद्धको खोप अभावको विषय आइरहन्छ । वास्तवमा खोप अभाव मात्र नभई रेबिज नियन्त्रणको समग्र प्रणालीमै कमजोरी छ । नेपालमा रेबिजको संक्रमण पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढिरहेको छ । यसको मुख्य कारण सामुदायिक कुकुरको बढ्दो संख्या, अव्यवस्थित फोहोर व्यवस्थापन, कुकुरमा पर्याप्त खोप नलगाइनु र वन्यजन्तुबाट घरपालुवा जनावरमा संक्रमण सर्नु हो । देशभरका पशु अस्पताल, स्थानीय तह तथा निजी पशु चिकित्सकहरूले पठाएका नमुनाको प्रयोगशाला परीक्षणबाट प्राप्त जानकारी अनुसार, आर्थिक वर्ष २०७६/७७ तिर वर्षमा दुईवटा मात्र रेबिज पुष्टि भएका केस आउँथे । अहिले २०७८/७९ यता हरेक वर्ष एक सयभन्दा बढी रेबिज पुष्टि भइरहेको छ । यसले नेपालमा रेबिजको वास्तविक जोखिम बढ्दै गएको स्पष्ट संकेत दिन्छ ।
समस्या मानव खोपमा, पशुको खोपमा होइन
पशुतर्फ रेविज खोपको संकट छैन । नेपाल सरकारले पशुमा प्रयोग हुने रेबिजसहित १३–१४ प्रकारका खोप स्वदेशमै उत्पादन गर्दै आएको छ । निजी क्षेत्रले समेत केही खोप उत्पादन गरेर विदेश निर्यात गरिरहेको छ । तर मानिसका लागि प्रयोग हुने रेबिज खोप भने नेपालमा उत्पादन हुँदैन । एक समय नेपालमै मानव रेबिज खोपको परीक्षण उत्पादन भएको थियो । तर विभिन्न कारणले निरन्तरता पाउन सकेन । रेबिजका ९५ प्रतिशतभन्दा बढी मानव संक्रमण कुकुरबाट हुने भएकाले रोग नियन्त्रणको केन्द्रबिन्दु पनि कुकुर नै हो ।
तीनवटा आधारभूत काम प्रभावकारी रूपमा गर्न सके रेबिज नियन्त्रण सम्भव छ । घरपालुवा कुकुरका मालिकले नियमित खोप लगाउनुपर्छ भने सामुदायिक कुकुरलाई स्थानीय सरकार, पशु सेवा कार्यालय, सामाजिक संस्था तथा समुदायको सहकार्यमा अभियान सञ्चालन गरी खोप दिनुपर्छ । सामुदायिक कुकुरको संख्या नियन्त्रण गर्न वैज्ञानिक विधि भनेको बन्ध्याकरण नै हो ।
पहिलेजस्तो विष खुवाएर कुकुर मार्ने अभ्यास अमानवीय नभई कानुनी रूपमा पनि अस्वीकार्य छ । सहरी क्षेत्रमा अव्यवस्थित फोहोर व्यवस्थापनले सामुदायिक कुकुरको संख्या तीव्र रूपमा बढाइरहेको छ । बजार तथा बस्तीमा जथाभावी फोहोर थुप्रिनु रेबिज नियन्त्रणमा ठूलो चुनौती बनेको छ ।
वन्यजन्तुबाट पनि बढ्दैछ जोखिम
वन क्षेत्र नजिकका बस्तीमा स्यालजस्ता वन्यजन्तुबाट घरपालुवा कुकुरमा संक्रमण सर्ने र त्यसपछि मानिससम्म पुग्ने सम्भावना पनि बढिरहेको छ । त्यसैले पशु स्वास्थ्य र मानव स्वास्थ्यलाई एउटै दृष्टिकोणबाट हेर्ने ‘वन हेल्थ’ अवधारणालाई प्रभावकारी रूपमा लागू गर्नुपर्छ । रेबिज नियन्त्रणलाई प्रभावकारी बनाउन असार १० गते धनगढीमा सातै प्रदेशका सचिव, महानिर्देशक, पशु चिकित्सक, प्रयोगशाला विज्ञ तथा मानव स्वास्थ्य क्षेत्रका विशेषज्ञ सहभागी राष्ट्रिय गोष्ठी सम्पन्न भयो ।
गोष्ठीले ‘धनगढी घोषणापत्र’ जारी गर्दै सन् २०३० सम्म कुकुरबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न संयुक्त रूपमा काम गर्ने निर्णय गरेको छ ।
कुकुरले टोकेको घाउलाई कम्तीमा १५ मिनेटसम्म साबुनपानीले धुने, डेटोल, साभ्लोन वा बेटाडिनजस्ता एन्टिसेप्टिक प्रयोग गर्ने, तुरुन्त स्वास्थ्य संस्थामा पुग्ने, चिकित्सकको सल्लाहअनुसार रेबिजविरुद्धको खोप लगाउनुपर्छ । गहिरो घाउ, धेरै रगत बगेको वा मांसपेशीसम्म पुगेको टोकाइमा खोप मात्र पर्याप्त हुँदैन । त्यस्तो अवस्थामा रेबिज इम्युनोग्लोबुलिन ( अनिवार्य हुनसक्ने भएकाले चिकित्सकको मूल्याङ्कन आवश्यक पर्छ । केही स्वास्थ्य संस्थामा अझै पनि कुकुरले टोकेको ठूलो घाउ तुरुन्त सिलाइ (टाँका) लगाइदिने अवैज्ञानिक अभ्यास देखिएकाले चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिकलाई पनि रेबिज व्यवस्थापनसम्बन्धी नियमित तालिम आवश्यक छ ।
मानव खोप उत्पादन अब नेपालमै
नेपालले पशु खोप उत्पादनमा प्राप्त गरेको अनुभवलाई प्रयोग गर्दै मानव रेबिज खोप पनि स्वदेशमै उत्पादन गर्ने दिशामा अघि बढ्नुपर्छ । यसका लागि पशु सेवा विभागअन्तर्गतको राष्ट्रिय खोप उत्पादन प्रयोगशालाको क्षमता विस्तार गरी आवश्यक सहकार्य गर्न सकिन्छ । अन्तिममा रेबिजको लक्षण देखिएपछि बच्ने सम्भावना लगभग हुँदैन। तर समयमै घाउ सफा गर्ने, आवश्यक खोप तथा इम्युनोग्लोबुलिन लगाउने हो भने यसबाट हुने मृत्यु शतप्रतिशत रोक्न सकिन्छ ।
नेपालले सन् २०३० सम्म कुकुरबाट हुने मानव रेबिज मृत्यु शून्यमा झार्ने लक्ष्य पूरा गर्न मानव खोप उपलब्ध गराउनु मात्र पर्याप्त नभई सामुदायिक कुकुर व्यवस्थापन, नियमित खोप अभियान, बन्ध्याकरण, फोहोर व्यवस्थापन, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र ‘वन हेल्थ’ अवधारणाअनुसार सबै निकायबीच प्रभावकारी समन्वय अपरिहार्य देखिन्छ ।
विपदमा गम्भीर रोगीः उपचारको जिम्मेवारी कसले लिने ?
सोमबार, भदौ २२, २०८३
आत्मदाह: एउटा जीवनको अन्त्य होइन, समाज र राज्यका लागि गम्भीर प्रश्न-जिता बराल
शुक्रबार, असार २६, २०८३
निकोटिनलाई 'नो' स्वास्थ्यलाई 'हो': धुवाँ नदेखिए पनि खतरा गहिरो– डा. सम्पदा श्रेष्ठ
बिहीबार, असार २५, २०८३
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
