नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेमा मन्त्रालयसँग सम्बन्धित कलेजका सबै काम रोकिने बताउनुभएको छ ।
आज स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकका प्रतिनिधिहरूबीच भएको वार्तामा उहाँले निर्वाह भत्ता दिनुपर्ने विषयमा चिकित्सा शिक्षा आयोगले निर्णय गरिसकेको कुरामा तर्क गरिराख्नुको औचित्य नभएको बताउनुभयो ।
मन्त्री पौडेलले भन्नुभयो, “निजी मेडिकल कलेजहरूले निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेसम्म मन्त्रालयसँग सरोकार राख्ने कुनै पनि काम अघि बढ्दैन । निर्णयबाट पछि हट्ने कुनै सम्भावना छैन ।”
उहाँले निजी मेडिकल कलेजले निर्वाह भत्ता रु ४८ हजार दिनु पर्ने निर्णय कार्यान्वयन गर्नुपर्ने र त्यसपछि कलेजहरूले माग गर्दे आएको स्नातकोत्तरको सिट र शुल्क बढाउने कुरामा वार्ता गर्न सकिने बताउनुभयो ।
मन्त्री पौडेलसहित नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्की, आवासीय चिकित्सकले गठन गरेको सङ्गठन ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समिति’का संयोजक शेषराज घिमिरेलगायतको टोली वार्तामा बसेको थियो ।
निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूले सरकारी सरह निर्वाह भत्ताको माग गर्दै विगत २२ दिनदेखि आन्दोलनरत छन् । भोलि शुक्रबार आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी चिकित्सकहरूले दिएका छन् ।
चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णयले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजहरूले निर्णय कार्यान्वयन नगरेपछि चिकित्सकहरू आन्दोलित भएका हुन् । रासस
चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा दादुरा नियन्त्रणका लागि खोप अभियान
मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य
मंगलबार, चैत ३, २०८२

