नेपाल हेल्थ न्युज, काठमाडौं । भारतका क्यान्सर विशेषज्ञ डा. पंकजकुमार बर्मन नेपालमा बिना लाइसेन्स चिकित्सा अभ्यास गरिरहेको भेटिएपछि नेपाल मेडिकल काउन्सिलले अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाएको छ।
नेपाल मेडिकल काउन्सिलको विदेशी चिकित्सक सम्बन्धी उपसमिति (एफएनडी) को छानबिनमा डा. बर्मनको लाइसेन्स २०२४ अक्टोबर २ मा सकिएको पुष्टि भएको हो। लाइसेन्स नवीकरण नगरे पनि उहाँ चितवन मेडिकल कलेजमा नियमित रूपमा बिरामीको उपचार गरिरहेको प्रमाणित भएपछि काउन्सिलले कारबाही सिफारिस गरेको हो।
एफएनडी समितिका अध्यक्ष डा. अनिल कार्कीले भन्नुभयो, “काउन्सिलको लाइसेन्स बिना नै चिकित्सा सेवा दिइएको पुष्टि भएपछि हामीले आवश्यक कारबाहीको निर्णय गरेका हौं। चितवन मेडिकल कलेजमा बिरामीलाई लेखिएको प्रेस्कृप्सन नै प्रमाण बनेको हो।”
काउन्सिलका रजिष्ट्रार डा. सतिश देवका अनुसार, डा. बर्मनले बिना लाइसेन्स चिकित्सा सेवा दिएको हुँदा गृह मन्त्रालयलाई पत्र लेखिएको छ। साथै, उहाँलाई काममा लगाएको चितवन मेडिकल कलेजलाई समेत स्पष्टिकरण माग गर्दै सात दिनको समय दिइएको छ।
डा. देव भन्नुहुन्छ, “लाइसेन्स नवीकरण नगरेका चिकित्सकलाई काममा लगाउन पाइँदैन। त्यसैले सम्बन्धित संस्था र चिकित्सक दुवैलाई जानकारीसहित प्रक्रिया अघि बढाइएको हो।”
नेपाल मेडिकल काउन्सिल ऐन (२०२० संशोधन २०७४) अनुसार, दर्ता नभएका व्यक्तिले चिकित्सा अभ्यास गर्न पाउँदैनन्। ऐनको दफा २६ को उपदफा १ अनुसार, यस्तो कार्यमा संलग्न पाइएमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।
काउन्सिलको अभिलेखअनुसार, डा. बर्मन २०१७ देखि नेपालमा काम गर्दै आउनु भएको छ । उहाँले पहिले बीएण्डबी अस्पतालमा काम गर्दा पनि अन्यत्र दोहोरो सेवा दिएको विषयमा विवाद उठेको थियो।
चितवन मेडिकल कलेजलाई पठाइएको पत्रमा सोधिएको छ, “नियम विपरीत विदेशी नागरिक चिकित्सकलाई संलग्न गराइएको हुँदा किन कारबाही नगर्ने ?
यो घटनाले नेपालमा विदेशी चिकित्सकको नियमन र निगरानीप्रति प्रश्न उठाएको छ, साथै चिकित्सा संस्थाहरूको उत्तरदायित्वबारे समेत गम्भीर बहसको खाँचो देखिएको छ।
शल्यक्रियापछि बिरामीको मृत्यु हुँदा जनकपुरको कृष्णा अस्पतालमा तोडफोड
शुक्रबार, वैशाख १८, २०८३
वीर अस्पतालमा पहिलो पटक ईयुएस कोइल इन्जेक्सनबाट ग्यास्ट्रिक भेरिक्सको सफल उपचार
शुक्रबार, वैशाख १८, २०८३
एनएमएको नयाँ नेतृत्वका लागि काठमाडौं उपत्यकामा आजदेखि निर्वाचन सुरु
शुक्रबार, वैशाख १८, २०८३
१९ जना डाक्टरको नाम दर्ता खारेज (सूचीसहित)
शुक्रबार, वैशाख १८, २०८३

