नेभिगेशन

स्वास्थ्यमा ऐतिहासिक छलाङः नीति तथा कार्यक्रममा १४ ठूला पहल

“निरोगी नेपाल”को अवधारणाः मूर्त रूप दिन सरकारको नवीन र प्रभावशाली कार्यक्रम 

नेपाल हेल्थ न्युज, काठमाडौं — आर्थिक वर्ष २०८२/८३ को राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गर्नुहुँदा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ।

“निरोगी नेपाल”को अवधारणालाई मूर्त रूप दिन सरकारले अनेकौं नवीन र प्रभावशाली कार्यक्रम अगाडि सारेको छ । यहाँ स्वास्थ्य क्षेत्रसँग सम्बन्धित मुख्य कार्यक्रमहरू प्रस्तुत गरिएका छनः

१. अत्याधुनिक न्यूरो साइन्स सेन्टर काठमाडौंमा स्थापना
अब मस्तिष्क, मेरुदण्ड र मानसिक स्वास्थ्यका रोगहरूको उपचारका लागि काठमाडौंमा राष्ट्रिय न्युरोसाइन्स केन्द्र स्थापना गरिने भएको छ । यो केन्द्र उच्चस्तरीय प्रविधि र विशेषज्ञ सेवासहित सञ्चालनमा ल्याइनेछ ।

२. गम्भीर रोगको उपचार स्वास्थ्य बीमा अन्तर्गत
सरकारले गम्भीर प्रकृतिका रोगहरूलाई स्वास्थ्य बीमा कार्यक्रमभित्र समेट्ने निर्णय गरेको छ। यसले आर्थिक भारका कारण उपचारबाट वञ्चित भइरहेका हजारौं बिरामीलाई राहत दिनेछ ।

३. बीमा बोर्डको पुनर्संरचना
स्वास्थ्य बीमाको प्रभावकारिता र पारदर्शिता बढाउन बीमा बोर्डको संस्थागत पुनर्संरचना गरिनेछ।

४. एकीकृत स्वास्थ्य सेवा प्रणालीको सुरुआत
देशभर एकीकृत स्वास्थ्य सेवा प्रणाली लागू गरिनेछ, जसले सेवाको गुणस्तर सुधार गर्न, दोहोरोपना हटाउन र सेवा सुलभ बनाउने लक्ष्य राखेको छ।

५. आधारभूत तथा अत्यावश्यक औषधि स्वदेशमै उत्पादन
नेपालमै अत्यावश्यक औषधिहरू उत्पादन गर्न प्रोत्साहन दिइने छ । यसले आयातमा निर्भरता घटाउने र लागत घटाउने अपेक्षा गरिएको छ।

६. जनशक्ति अभाव हटाउन जनरल नर्सिङ कार्यक्रम
स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्ति पूर्तिका लागि जनरल नर्सिङ कार्यक्रम सञ्चालन गरिनेछ, जसबाट स्थानीय तहसम्म सेवा पु¥याउने उद्देश्य राखिएको छ।

७. संघीय स्वास्थ्य सेवा ऐन र गुणस्तर प्रत्यायन ऐन तर्जुमा
स्वास्थ्य सेवा प्रणालीलाई कानुनी रुपमा मजबुत बनाउन संघीय स्वास्थ्य सेवा ऐन र राष्ट्रिय गुणस्तर प्रत्यायन ऐन तयार गरिनेछ।

८. सातै प्रदेशमा जलन उपचार सेवा विस्तार
सघन जलन उपचार सेवा सातै प्रदेशमा विस्तार गरिनेछ, जसले दुर्घटनामा परेका बिरामीको समयमै उपचार सुनिश्चित गर्नेछ।

९. दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा
स्वास्थ्य सेवा पहुँच सुनिश्चित गर्न दुर्गम जिल्लामा विशेषज्ञ सेवा सञ्चालन गरिनेछ — मेडिकल कलेज र प्रतिष्ठानसँग सहकार्य गर्दै ।

१०. फागुन महिना अब ‘नसर्ने रोग स्क्रिनिङ महिना’
सरकारले फागुन महिनालाई नसर्ने रोग परीक्षण र परामर्शको विशेष महिना घोषणा गरेको छ, जुन सार्वजनिक स्वास्थ्यको लागि महत्वपूर्ण कदम हो ।

११. क्यान्सर र मृगौला सेवा विस्तार
सातै प्रदेशमा क्यान्सर उपचार सेवा तथा मिर्गौला प्रत्यारोपण कार्यक्रम विस्तार गरिनेछ । आवश्यक पूर्वाधार र जनशक्ति विकासको योजना समावेश गरिएको छ ।

१२. १४ वर्षमुनिका बालबालिकाका लागि निःशुल्क क्यान्सर उपचार
सरकारले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरिने व्यवस्था गरिरहेको छ — स्वास्थ्यमा सामाजिक न्यायको कदमका रूपमा ।

१३. एचपिभी खोप निःशुल्क, पाठेघरको क्यान्सर विरुद्ध सुरक्षाको कवच
महिलाको स्वास्थ्य सुरक्षाका लागि एचपीभी खोपलाई निःशुल्क वितरण गर्दै नियमित खोप कार्यक्रममा समावेश गरिएको छ ।

१४. विमा कार्यक्रम थप गम्भीर सेवासम्म विस्तार
नयाँ नीति अनुसार स्वास्थ्य बीमाले गम्भीर रोग, विशिष्टीकृत सेवा र दीर्घकालीन उपचार समेत समेट्ने गरी सुविधा थप गरिनेछ 

निष्कर्षः नीति अब ‘कागज’ मा मात्र होइन, कार्यान्वयनमा आधारित हुनुपर्छ
स्वास्थ्य क्षेत्रका यी योजनाहरूले नेपालको समग्र स्वास्थ्य प्रणालीलाई आधुनिक, पहुँचयुक्त र समावेशी बनाउने स्पष्ट संकेत दिन्छ। अब आवश्यक छ—गुणस्तरीय कार्यान्वयन, राजनीतिक प्रतिबद्धता, र जनसहभागिता ।
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष