नेपाल हेल्थ न्युज, काठमाडौँ । बीरगञ्जका एक व्यवसायीले भारतको युनाइटेड ल्याबोरेटोरिजको नाममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा खाद्यपुरक उत्पादन दर्ता गराएर नेपालमा अर्कै कम्पनीको उत्पादन भित्र्याएको खुलासा भएको छ ।
बीरगञ्ज–१३ निवासी सन्नी द्विवेदीले संचालन गरेको न्युट्रिका फूड कन्सर्नमार्फत भारतको युनाइटेड ल्याबोरेटोरिजको ‘न्युट्रिक क्योर क्याप्सुल’ नामक उत्पादन विभागमा दर्ता गराइएको थियो । दर्ता नं. ३५२०, तर उनीहरूले नेपालमा वास्तवमा अगुष्तो फर्मुलेसनको उत्पादन बिक्रीका लागि भित्र्याएका थिए, जुन स्वीकृति नलिई ल्याइएको प्रमाणित भएको छ ।
यसैबीच, भन्सार प्रक्रियाबिना क्यारिङमार्फत भारत–नेपाल सीमाबाट रक्सौल भन्सार हुँदै नेपाल ल्याउँदै गर्दा सो उत्पादन सशस्त्र प्रहरी बलले बरामद गरेको हो ।
उक्त वस्तु न्युट्रिका फूड कन्सर्नले नै आयात गरेको भए तापनि ‘मार्केटेड बाईः बायोलाइफ केम नेपाल, भिमसेनगोला–३१, काठमाडौं’ लेखिएको देखिएको छ, जुन कम्पनी विभागमा दर्ता नभएको पाइएको छ ।
प्रकरणले गम्भीर मोड लिएको छ । युनाइटेड ल्याबोरेटोरिजले आफ्नो कम्पनीको नाम प्रयोग गरी गलत नियतले बजारमा उत्पादित वस्तु प्रवाह गरिएको भन्दै नेपाल आहारपुरक तथा सौन्दर्यवद्र्धक संघ (एनएनसिए) मार्फत विभागलाई पत्राचार गरेको छ । युनाइटेडले पत्रमा स्पष्ट भनेको छ—‘हाम्रो कम्पनीको नाम बदनाम बनाउने काम गरिएको छ, यसले हाम्रो व्यावसायिक छविमा नकारात्मक असर पारेको छ ।’
एनएनसिएका महासचिव सुरज पौडेलका अनुसार, दुवै भारतीय कम्पनी—अगुष्तो र युनाइटेड—ले संघमा सम्पर्क गरी घटनाको जानकारी दिएका थिए । घटनापछि एनएनसिएले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णलाई भेटेर आवश्यक कारबाहीको माग गरेको छ ।
महानिर्देशक कर्णले घटनाको गम्भीरता बुझ्दै तुरुन्त छानबिन थालिने र कानून विपरीत काम गर्ने व्यवसायीमाथि कारबाही गरिने आश्वासन दिएका छन् ।
एनएनसिएका अध्यक्ष विप्लव रञ्जितले भनेका छन्—‘केही व्यवसायीको गैरकानुनी गतिविधिका कारण सम्पूर्ण खाद्यपुरक व्यवसायी समुदायको छवि धुमिल हुन थालेको छ । संघ कुनै पनि हालतमा गैरकानुनी रूपमा काम गर्ने व्यवसायीको पक्षमा उभिँदैन ।’
यस घटनाले नेपालमा खाद्यपुरक वस्तुको दर्ता र नियन्त्रण प्रणालीमाथि पनि प्रश्न उठाएको छ । प्रश्न यहीँ उब्जिन्छ — यदि दर्ता प्रक्रिया नै छल्ने प्रवृत्ति दोहोरिरह्यो भने, कसरी भरोसा गर्ने उपभोक्ताले फुड सप्लिमेन्टमा ? यो एउटा सानो लफडा हो कि ठुलो नियोजित खेल ? समयले देखाउनेछ ।

३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
