नेभिगेशन
आज विश्व हात स्वश्चता दिवसः ५ मे २०२५ 

सफा हात, सुरक्षित जीवनः पञ्जाले जोगाउँदैन, हात स्वच्छताले बचाउँछ

हात स्वच्छतालाई केवल नियमको रूपमा होइन, संस्कारको रूपमा अपनाउनु पर्छ

‘हरेक वर्षको ५ मे एउटा सानो, तर जीवनरक्षक अभ्यासको स्मरण गराउने विशेष दिन हो — ‘विश्व हात स्वच्छता दिवस ।’ यस वर्ष पनि विश्व स्वास्थ्य संगठनले त्यसै परम्परालाई निरन्तरता दिँदै भनिरहेका छ —‘पञ्जा हुन सक्छ, तर हात सरसफाइ सधैं जरुरी छ ।’

यो दिवसको सुरुवात सन् २००५ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा सुरु गरिएको फस्ट ग्लोबल प्यासेन्ट सेफ्टी च्यालेन्जअन्तर्गत  भएको थियो । यसको उद्देश्य थियो—‘स्वास्थ्य सेवा प्रणालीभित्रै हुने संक्रमण (हेल्थकेयर एसोसिएटेड इन्फेक्सन्स) लाई न्यून बनाउनु ।’  त्यो बेलादेखि आजसम्म हात स्वच्छतालाई विश्व स्वास्थ्य संगठनले सस्तो तर सबैभन्दा प्रभावकारी औजार’ का रूपमा चिनाउँदै आएका छ । 


हात सरसफाइः सरल अभ्यास, गहिरो प्रभाव

हात सफा राख्नु कुनै विलासिता होइन, यो त आवश्यकताकै एउटा रूप हो । स्वास्थ्यकर्मी, बिरामी वा सेवा लिने आम मानिस, जसकोसुकै भूमिकामा किन नहोस्, हात सरसफाइ सुरक्षित स्वास्थ्य सेवाको पहिलो शर्त हो ।


डब्लुएचओ दक्षिण–पूर्वी एशियाकी क्षेत्री निर्देशक साइमा वाजेदकोका अनुसार, हात स्वच्छताले केवल संक्रमणबाट जोगाउँछ भन्ने मात्र होइन, यसले सार्वभौमिक स्वास्थ्य सुरक्षामा पनि योगदान दिन्छ । यही अभ्यासले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित र साकार पार्न मद्दत पुर्याउँछ । साथै यो सरसफाई, पानी, सेनिटेसन, स्वच्छता र हेल्थ कार्यक्रम र एन्टिमाइक्रोबियल रेसिस्टेन्ट विरुद्धको लडाइँको पनि महत्त्वपूर्ण हिस्सा हो ।

पञ्जा लगाउँदा पनि जोखिम ?
यस वर्षको नाराले एक संवेदनशील तर सत्य कुरालाई उजागर गरेको छ — ‘पञ्जा लगाउनु हुँदैन’ होइन, ‘पञ्जाले मात्र पुग्दैन’ । डिस्पोजेबल मेडिकल पञ्जा संक्रमणबाट जोगाउने माध्यम त हो । तर त्यसले हाम्रा हातमा आएका सूक्ष्म किटाणु हटाउँदैन । त्यसैले पञ्जा प्रयोग गर्नु अघि र पछि पनि हात धोइनु अनिवार्य हुन्छ ।


दक्षिण–पूर्वी एशियाको तस्बिर
डब्लुएचओको हालै प्रकाशित ग्लोबल रिपोर्ट अन इन्फेक्सन प्रिभेन्सन एन्ड कन्ट्रोल २०२४ अनुसार, दक्षिण–पूर्वी एशियाली क्षेत्रका अधिकांश मुलुकहरूसँग अब राष्ट्रिय आईपिसी (इन्फेकसन प्रिभेन्सन एण्ड कन्ट्रोल)  कार्यक्रमहरू छन् । धेरैजसो देशहरूले राष्ट्रिय मापदण्ड अनुरूप नीति बनाएका छन् । साथै ६ देशमा यसको लागि छुट्टै बजेट पनि छ ।


डब्लुएचओले २०२४–२०३० का लागि नयाँ ग्लोबल आईपिसी रणनीति, कार्य योजना र अनुगमन रूपरेखा जारी गरिसकेको छ ।  यसले सदस्य राष्ट्रहरूलाई संक्रमण नियन्त्रणको मार्गचित्र दिन्छ । यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न एक विस्तृत कार्यान्वयन मार्गनिर्देशिका पनि उपलब्ध गराइएको छ ।


शिक्षा, पहुँच र प्रतिबद्धताः सफलताका तीन पाटा
हात स्वच्छतालाई केवल नियमको रूपमा होइन, संस्कारको रूपमा अपनाउनु पर्छ । यसका लागि स्वास्थ्यकर्मीलाई तालिम, व्यवस्थापनलाई पूर्वाधार र जनतालाई जानकारी आवश्यक छ । हामी सबैले हात सफा राख्ने चेतना मात्र होइन, अभ्यास पनि गर्नुपर्छ । हामीले हात स्वच्छालाई एउटा नारा होइन, जीवनशैली बनाउन सक्यौँ भने यसले थुप्रै ज्यान बचाउनेछ । 


हात सरसफाइ एउटा यस्तो अभ्यास हो जसको मूल्य त्यो बेला बुझिन्छ जुनबेला हामीलाई त्यसको अभावमा रोग सर्छ । त्यसैले आजैबाट हाम्रो सन्देश साझा गरौं —‘सफा हात, सुरक्षित जीवन ।’ पञ्जा छ भने पनि, हात सफा गर्न नबिर्सौं । हाल डब्लुएचओ दक्षिण–पूर्वी एशिया क्षेत्रमा रहेका ११ देशहमा नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार, माल्दिभ्स, इन्डोनेसिया, थाईल्यान्ड, जनवादी गणतन्त्र कोरिया र टिमोर–लेस्टे रहेका छन् । 
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

पुरुषोत्तम घिमिरे विगत २५ वर्षदेखि स्वास्थ्य पत्रकारिता गर्दै आउनुभएको छ ।  

थप रिपोर्ट विशेष