नेपाल हेल्थ न्युज,काठमाडौं । आज मे ८ । नेपाललगायत विश्वभर ‘विश्व थालासेमिया दिवस’ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित मनाइँदैछ । ‘जीवनलाई सशक्त बनाउँदै, प्रगतिलाई अँगाल्दै: प्रत्येक बिरामीका लागि गुणस्तरीय उपचारको पहुँच’ भन्ने नारासहित सन् २०२५ को दिवसले थालासेमिया पीडितप्रति ऐक्यबद्धता जनाउँदै उपचार र रोकथामका उपायप्रति ध्यान केन्द्रित गरेको छ ।
थालासेमिया एक गम्भीर बंशाणुगत रक्तरोग हो जसले शरीरमा हेमोग्लोबिनको कमी गराउँछ । हेमोग्लोबिनको न्यूनताका कारण बिरामीले अक्सिजनको कमी अनुभव गर्छन् जसले थकान, कमजोरी र अन्य जटिलता निम्त्याउँछ ।
नेपालमा बढ्दो जोखिम
नेपालमा थालासेमिया दुर्लभ रोगका रूपमा चिनिए तापनि पछिल्लो समय यसको जोखिम बढ्दो क्रममा देखिएको छ । विशेषगरी तराईका मोरङ, झापा, सुनसरी, सप्तरी, सिराहा, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही, कैलाली र कञ्चनपुर जिल्लामा माइनर र मेजर दुबै प्रकारका केसहरू भेटिन्छन् । मधेसी, मुस्लिम, थारु, राजवंशी लगायतका समुदायहरूमा यसको जोखिम उच्च देखिएको विज्ञहरूले जनाएका छन् । काठमाडौँ, पोखरा, नेपालगञ्ज र बुटवल जस्ता शहरी क्षेत्रमा उपचारको खोजीमा आएका थालासेमिया पीडितहरूको उपस्थिति पनि उल्लेखनीय छ ।
लक्षण र चुनौती
थालासेमिया माइनर भएका व्यक्तिहरूमा प्रायः कुनै लक्षण देखिँदैन । तर दुई माइनर व्यक्तिको विवाहबाट जन्मिएको सन्तानमा मेजर प्रकारको थालासेमिया हुन सक्छ । यस्ता व्यक्तिहरुलाई जीवनभर रगत चढाउनुपर्ने हुन्छ । गम्भीर थालासेमियाका लक्षणमा अत्यधिक थकान, छालाको रङ फिक्का हुने, जन्डिस, पाचन समस्या, फुलिएको पेट, गाढा पिसाब र विकासमा ढिलाइ हुनुजस्ता लक्षण देखिन्छन् ।
उपचार चुनौतीपूर्ण र खर्चिलो
थालासेमिया मेजरको उपचार जीवनभर लाग्ने रगत चढाउने प्रक्रिया (प्रत्येक ३–४ हप्तामा), आइरन चिलेशन थेरापी, बोन म्यारो ट्रान्सप्लान्ट जस्ता जटिल र खर्चिला पद्धतिमा निर्भर छ । जीन थेरापी हाल अनुसन्धानमै सीमित भए पनि भविष्यमा प्रभावकारी विकल्प बन्ने आशा गरिएको छ ।
नेपालमा केही सरकारी अस्पतालहरू (जस्तैः त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल र सिभिल अस्पताल) मा थालासेमिया उपचार सुविधा उपलब्ध छन् । सरकारले थालासेमिया मेजर भएका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था पनि गरेको छ ।
रोकथाम नै प्रमुख उपाय
थालासेमिया रोकथाम गर्न विवाहपूर्व र गर्भकालीन परीक्षण अनिवार्य बनाउने दिशामा काम भइरहेको छ । थालासेमिया माइनर व्यक्ति एउटै प्रकारको व्यक्तिसँग विवाह गर्न नहुने सल्लाह स्वास्थ्यकर्मीहरूले दिने गरेका छन् । नेपाल थालासेमिया सोसाइटी, नेपाल रेडक्रस जस्ता सामाजिक संस्थाहरूले जनचेतना फैलाउने, रक्तदान कार्यक्रम सञ्चालन गर्ने र बिरामीलाई औषधि सहयोग उपलब्ध गराउने कार्यमा भूमिका खेलिरहेका छन् ।
चेतनाका लागि दिवस
आजको दिवस थालासेमिया रोगबारे चेतना फैलाउने, समुदायलाई परीक्षण र रोकथामतर्फ उन्मुख गराउने अवसर हो । विशेषतः जोखिम समूहमा पर्ने समुदायहरूमा नियमित स्क्रिनिङ, विवाहपूर्व जाँच र उपचारको पहुँच सुनिश्चित गर्नु आजको प्रमुख आवश्यकता हो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

