नेपाल हेल्थ न्युज । काठमाडौंको एक शीतल बिहानी वातावरणमा औपचारिकता थियो । तर मञ्चमा उभिएका व्यक्तिको आवाजमा जीवन थियो। नेपाल कुष्ठ रोग सम्मेलनको उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले जब बोल्न थाल्नुभयो त्यो भाषण एकजना बिरामी, एकजना कैदी र एकजना नेताको साझा कथा बन्यो।
उहाँको स्वरमा सत्ता होइन, संवेदना थियो। भाषणको शुरुवातमा औपचारिकता थियो । तर केही मिनेटमै त्यो एउटा आत्मकथा बन्यो—गोलघरको चिसो भुइँबाट मिर्गौला रोग हुँदै सिंहदरबारको कुर्सीसम्मको यात्रा।
गोलघरको चिसो भुइँमा सुत्दा सुरु भएको त्यो पीडा मेरो जीवनको स्थायी छाया बन्यो,
यी शब्दहरू जब एक राष्ट्र प्रमुखको मुखबाट निस्किन्छन्, ती केवल अतीतको सम्झना होइन, समाजप्रतिको गहिरो सन्देश बन्छन्।
प्रधानमन्त्री ओलीले स्पष्ट रूपमा बताउनुभयो—पञ्चायतकालको जेल जीवन, भोक, औषधिको अभाव र पीडाको अविरल प्रवाह। जब उपचार थिएन, पेनकिलरमा बाँच्नु परेको थियो। त्यही लगातार पेनकिलरको प्रयोगले मिर्गौलामा गहिरो असर पार्यो।
आज उहाँ सत्ताको शिखरमा हुनुहुन्छ । तर त्यो पद उहाँले सजिलै पाउनुभएको होइन । त्यो पदले उहाँलाई बोल्न सजिलो बनाएको छैन । तर अनुभवले उहाँलाई सत्य बोल्न हिम्मत दिएको छ।
उहाँको भनाइमा एक गहिरो चेतावनी थियो—संक्रमणजन्य रोगहरु (जस्तै कुष्ठ रोग) हाम्रो स्वास्थ्यमात्र होइन, हाम्रो सोचाइमा पनि परीक्षा लिने रोग हुन्।
“हामीले प्रगति गरेका छौँ,” उहाँले भन्नुभयो “तर रोग पूर्णतः अन्त्य नभएसम्म हामी सन्तुष्ट हुन सक्दैनौं।”
प्रधानमन्त्रीले परम्परागत आशीर्वादको स्मरण गर्दै स्वस्थ जीवनशैलीप्रति सबैलाई प्रेरित गर्नुभयो। “पाचन राम्रो होस्” भन्ने आशीर्वादमा जीवनको मूल मन्त्र लुकेको छ भन्ने सन्देश दिंदै उहाँले फिजिकल फिटनेस मात्र होइन, मानसिक सन्तुलन र सामाजिक समावेशिताको पक्षमा बल दिनुभयो।
तर उहाँको भाषणको सबैभन्दा मार्मिक पक्ष थियो—कुष्ठ रोग पीडितहरूप्रति समाजले देखाउने भेदभावको विरोध। उहाँले कानुनी संरचना परिमार्जन हुँदै गरेको सन्देश दिनुभयो र सञ्चार तथा प्रविधिको प्रयोगमार्फत जनचेतना फैलाउने निर्देशनसमेत स्वास्थ्य मन्त्रालयलाई दिनुभयो।
प्रधानमन्त्रीको त्यो सम्बोधन केवल एक कार्यक्रमको सन्दर्भ मात्र रहेन, त्यो एक व्यक्ति जो राज्यका विरुद्ध लडे, रोगसँग लडे, अनि अहिले रोगमुक्त समाजका लागि लडिरहेका छन्—को अन्तरकथा बन्यो।
आजको नेपालमा कुष्ठ रोग उपचार सम्भव छ । औषधि निःशुल्क छ। तर सबैभन्दा जटिल उपचार चाहिएको छ—हाम्रो मानसिकताको। रोग लुकाउनु हुँदैन । पीडितलाई टाढा राख्नु हुँदैन। यो सन्देश, प्रधानमन्त्रीको जीवनबाट आएको सन्देश हो—अनुभवले भिजेको, पीडाले बलियो बनाएको, र समर्पणले उज्यालो बनाएको।
गोलघरको चिसो भुइँले दिएको घाउ आज सिंहदरबारको निर्णयमा परिणत भएको छ।
र त्यो निर्णय हो—स्वस्थ समाज, समान समाज।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
