नेपाल हेल्थ न्युज, टोकियो, जापान । इन्टरनेशनल फेडेरेसन अफ फर्टिलिटी सोसाइटी (आईएफएफएस) को वल्र्ड कंग्रेस सम्मेलन २०२५ मा नेपालकी वरिष्ठ निःसन्तान एवं आईभिएफ विशेषज्ञ डा. सानुमैया श्रेष्ठ प्रधानले नेपालको आईभिएफ सेवाको वर्तमान अवस्था र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।
गत अप्रिल २६ देखि ३० तारिखसम्म जापानको टोकियोमा सम्पन्न सम्मेलनमा डा. श्रेष्ठले'Current Status and Chllaenges in Assisted Reproductive Technology Treatment Services in Nepal' शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको हो ।
कार्यपत्रका लागि उहाँले नेपालका आईभिएफ केन्द्रहरूको सर्भे तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट तथ्याङ्क संकलन गर्नुभएको थियो । सम्मेलनमा Real Data And Global Fertility knowledge शीर्षकको सिम्पोजिएम अन्तर्गत नेपालसहित जापान, चीन, नाइजेरिया लगायतका देशका प्रतिनिधिहरूले आफ्ना देशको आईभिएफ सेवा, प्रविधि र डाटाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल, भारत, चीन, अफ्रिका, अमेरिका, युके, अष्ट्रेलिया, रसियालगायत विश्वका विभिन्न देशका विशेषज्ञहरूको सहभागिता रहेको उक्त सम्मेलनलाई डा. श्रेष्ठले ‘धेरै व्यवस्थित, समृद्ध र ज्ञानमूलक’ भएको बताउनुभएको छ ।

उहाँका अनुसार सम्मेलनमा हालसालै विकास भएका प्रविधिहरू जस्तै इनभिट्रो मेचुरेसन (इभिएम), डोरमेन्ट फोलिकल एक्टिभेसन, पिजोइक्सी लगायत अत्याधुनिक विधिबारे जानकारी प्रस्तुत गरिएको थियो । यसबाट आईभिएफको क्षेत्रमा भएको तीव्र प्रगतिको अवलोकन गर्न पाइएको उहाँको भनाइ छ ।
डा. श्रेष्ठले नेपालमा आईभिएफ सेवा विस्तार भए पनि सेवाको गुणस्तर, डाटा व्यवस्थापन, एकीकृत गाइडलाइन र सरकारी समर्थनको कमी रहेको उल्लेख गर्नुभयो । ‘डाटा राख्ने अभ्यास भए पनि युनिफर्मिटी छैन, क्वालिटी कन्ट्रोल छैन’—उहाँले भन्नुभयो ।
सम्मेलनमा प्रस्तुत तथ्याङ्क अनुसार जापानमा जन्मदर ०.९ प्रतिशतमा झरेको छ भने विश्व औसत १.३ प्रतिशत रहेको छ । नेपालमा पनि जन्मदर घट्दो क्रममा रहेको भन्दै आईभिएफ सेवामा सुधार र पहुँच विस्तार आवश्यक रहेको डा. श्रेष्ठको धारणा छ ।

उहाँले जापानमा आईभिएफ सेवा इन्स्योरेन्समार्फत सर्वसुलभ बनाइएको उदाहरण दिँदै नेपालमा पनि नीति र प्रविधिमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । जापानमा आईभिएम (इनभिट्रो मेचुरेसन) बाट गरिएको लाइभ आईभिएफ डेलिभरी दर ३५ प्रतिशत र रियल आईभिएफको डेलिभरि दर ४३ प्रतिशत रहेको छ । नेपालमा विगत २० वर्षदेखि निःसन्तान एवं आईभिएफको क्षेत्रमा कार्यरत डा. श्रेष्ठ नेपालको पहिलो आईभिएफ विशेषज्ञ हुनुहुन्छ । हाल उहाँ ललितपुरको सातदोवाटोस्थित क्रियटर्स आईभिएफ नेपालमा कार्यरत हुनुहुन्छ । 
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

