नेपाल हेल्थ न्युज, टोकियो, जापान । इन्टरनेशनल फेडेरेसन अफ फर्टिलिटी सोसाइटी (आईएफएफएस) को वल्र्ड कंग्रेस सम्मेलन २०२५ मा नेपालकी वरिष्ठ निःसन्तान एवं आईभिएफ विशेषज्ञ डा. सानुमैया श्रेष्ठ प्रधानले नेपालको आईभिएफ सेवाको वर्तमान अवस्था र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।
गत अप्रिल २६ देखि ३० तारिखसम्म जापानको टोकियोमा सम्पन्न सम्मेलनमा डा. श्रेष्ठले'Current Status and Chllaenges in Assisted Reproductive Technology Treatment Services in Nepal' शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको हो ।
कार्यपत्रका लागि उहाँले नेपालका आईभिएफ केन्द्रहरूको सर्भे तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट तथ्याङ्क संकलन गर्नुभएको थियो । सम्मेलनमा Real Data And Global Fertility knowledge शीर्षकको सिम्पोजिएम अन्तर्गत नेपालसहित जापान, चीन, नाइजेरिया लगायतका देशका प्रतिनिधिहरूले आफ्ना देशको आईभिएफ सेवा, प्रविधि र डाटाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल, भारत, चीन, अफ्रिका, अमेरिका, युके, अष्ट्रेलिया, रसियालगायत विश्वका विभिन्न देशका विशेषज्ञहरूको सहभागिता रहेको उक्त सम्मेलनलाई डा. श्रेष्ठले ‘धेरै व्यवस्थित, समृद्ध र ज्ञानमूलक’ भएको बताउनुभएको छ ।

उहाँका अनुसार सम्मेलनमा हालसालै विकास भएका प्रविधिहरू जस्तै इनभिट्रो मेचुरेसन (इभिएम), डोरमेन्ट फोलिकल एक्टिभेसन, पिजोइक्सी लगायत अत्याधुनिक विधिबारे जानकारी प्रस्तुत गरिएको थियो । यसबाट आईभिएफको क्षेत्रमा भएको तीव्र प्रगतिको अवलोकन गर्न पाइएको उहाँको भनाइ छ ।
डा. श्रेष्ठले नेपालमा आईभिएफ सेवा विस्तार भए पनि सेवाको गुणस्तर, डाटा व्यवस्थापन, एकीकृत गाइडलाइन र सरकारी समर्थनको कमी रहेको उल्लेख गर्नुभयो । ‘डाटा राख्ने अभ्यास भए पनि युनिफर्मिटी छैन, क्वालिटी कन्ट्रोल छैन’—उहाँले भन्नुभयो ।
सम्मेलनमा प्रस्तुत तथ्याङ्क अनुसार जापानमा जन्मदर ०.९ प्रतिशतमा झरेको छ भने विश्व औसत १.३ प्रतिशत रहेको छ । नेपालमा पनि जन्मदर घट्दो क्रममा रहेको भन्दै आईभिएफ सेवामा सुधार र पहुँच विस्तार आवश्यक रहेको डा. श्रेष्ठको धारणा छ ।

उहाँले जापानमा आईभिएफ सेवा इन्स्योरेन्समार्फत सर्वसुलभ बनाइएको उदाहरण दिँदै नेपालमा पनि नीति र प्रविधिमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । जापानमा आईभिएम (इनभिट्रो मेचुरेसन) बाट गरिएको लाइभ आईभिएफ डेलिभरी दर ३५ प्रतिशत र रियल आईभिएफको डेलिभरि दर ४३ प्रतिशत रहेको छ । नेपालमा विगत २० वर्षदेखि निःसन्तान एवं आईभिएफको क्षेत्रमा कार्यरत डा. श्रेष्ठ नेपालको पहिलो आईभिएफ विशेषज्ञ हुनुहुन्छ । हाल उहाँ ललितपुरको सातदोवाटोस्थित क्रियटर्स आईभिएफ नेपालमा कार्यरत हुनुहुन्छ । 
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
