नेभिगेशन

१२ कक्षामा विज्ञान नपढेकाहरूका लागि तीन वर्षे जनरल नर्सिङ कार्यक्रम सुरु हुँदै, मिडवाइफ्री पनि अनिवार्य

चिकित्सा शिक्षा आयोगको माघ ३० गतेको बैठकले जनरल नर्सिङ कार्यक्रमलाई मिडवाइफ्रीसहित तीन वर्षे बनाउने निर्णय — १२ कक्षा विज्ञानबाहेकका विद्यार्थीहरूका लागि नयाँ अवसर

नेपाल हेल्थ न्युज, काठमाडौं, माघ ३० – चिकित्सा शिक्षा आयोगको हिजो बसेको १७औं बैठकले विज्ञान विषयबाहेक अन्य विषयमा १२ कक्षा पास गरेका विद्यार्थीहरूलाई लक्षित गर्दै तीन वर्षे जनरल नर्सिङ कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिरा निरौलाका अनुसार यो कार्यक्रमले विज्ञान नभएका विद्यार्थीलाई पनि नर्सिङ पेशामा समावेश गराउने उद्देश्य लिएको छ। ‘यदि मिडवाइफ्री पढाइ नहुने हो भने कार्यक्रम दुई वर्षे बनाउन सकिने सुझाव आएको थियो,’ उहाँले भन्नुभयाो, ‘तर मिडवाइफ्रीलाई पनि समेट्ने निर्णय भएकाले अब कार्यक्रम तीन वर्षकै हुनेछ।’

यस कार्यक्रमअन्तर्गत १२ कक्षामा विज्ञान नपढेका विद्यार्थीहरू पनि आवेदन दिन योग्य हुनेछन्। विज्ञान विषय पढेकाहरूका लागि भने चार वर्षे ( B.SC.) नर्सिङ कार्यक्रम पहिलेबाटै उपलब्ध छ। जनरल नर्सिङमा प्रवेश गर्न चाहनेले प्रवेश परीक्षामा कम्तीमा ५० प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान प्रस्ताव गरिएको छ।

कार्यक्रमको प्रारूप तयार गर्न गठित कार्यदलमा समावेश नर्सिङ काउन्सिल, स्वास्थ्य मन्त्रालय, र प्रमुख नर्सिङ क्याम्पसका प्रतिनिधिहरूले, मिडवाइफ्री विषय पनि अनिवार्य राखेर कार्यक्रमलाई तीन वर्षे बनाउनु पर्ने निष्कर्ष निकाल्नुभएको थियो ।

कार्यक्रम पुरा गरेपछि विद्यार्थीहरूले थप दुई वर्षे पिबिबिएन (Post Basic Bachelor in Nursing) अध्ययन गरी स्नातक तह पुरा गर्न सक्नेछन्। त्यसपछि उनीहरूले मास्टर्स तहमा पनि अगाडि बढ्न सक्ने सम्भावना खुला रहनेछ।

नर्सिङ काउन्सिलकी रजिष्ट्रार शुक्ला खनालका अनुसार नयाँ कार्यक्रम अनुसार लाइसेन्स दिने प्रक्रिया परिमार्जन गरिनेछ। वर्तमानमा हामी अनमीदेखि स्नातकोत्तर तहसम्म लाइसेन्स दिँदै आएका छौं, यो नयाँ कार्यक्रमका लागि पनि उपयुक्त मापदण्ड तय गरी प्रक्रिया अघि बढाइनेछ, उहाँले बताउनुभयो।

त्यसैगरी, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT)  का सदस्य सचिव महेश भट्टराईले अहिलेको अवस्थामा  नर्सिङलाई तुरुन्तै फेजआउट गर्नु उपयुक्त नहुने धारणा राख्नुभयो। उहाँले जनशक्ति उत्पादन भूगोल र आवश्यकतालाई ध्यानमा राखेर दीर्घकालीन नीति बनाउनु पर्ने बताउनुभयो।

नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले जनरल नर्सिङ कार्यक्रमको अवधी र स्वरूपबारे थप परिपक्व छलफल आवश्यक रहेको बताउँदै, अन्तर्राष्ट्रिय मापदण्डअनुसार मास्टर्स तह अध्ययन गर्न कम्तीमा १६ वर्षको औपचारिक शिक्षा आवश्यक हुने कुरा पनि स्मरण गराउनुभयो।

यस कार्यक्रममार्फत (pcl)  नर्सिङ क्रमशः हटाइने र भविष्यमा १२ कक्षापछि सुरु हुने जनरल नर्सिङ नै मुख्यधारा बन्ने अपेक्षा गरिएको छ। आयोगको निर्णयअनुसार, आगामी वर्षदेखि कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट