नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालको पशुपालन क्षेत्र अहिले एउटा नयाँ मोडमा उभिएको छ । परनिर्भरताको साङ्लो तोड्दै पहिलोपटक नेपालमै अत्याधुनिक कोरियन प्रविधिमा पशु औषधि उत्पादन हुने पक्कापक्की भएको छ । यस ऐतिहासिक मोडमा उभिएको छ—कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल) ।
बर्षौँदेखि पशुपालन व्यवसायमा संलग्न किसानको एउटै गुनासो रहँदै आएको थियो—‘गुणस्तरीय औषधिको अभाव र विदेशी महँगा औषधिको भर ।’ तर अब त्यो यथार्थ बदलिने सम्भावना छ किनभने केपीएलले दक्षिण कोरियाको बहुराष्ट्रिय कम्पनी केबीएनपीसँग एउटा महत्वाकांक्षी प्राविधिक साझेदारी गरेको छ । यसले नेपालको पशु औषधि उद्योगमा नयाँ युगको सुरुवात गर्ने आशा पलाएको छ ।
सम्झौताको ऐतिहासिक पल
बि.सं. २०८२ वैशाख ३१ गते । स्थान—नयाँ बानेश्वरस्थित होटल एभरेष्ट । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल, पशु सेवा विभागकी सहसचिव डा. सलिना मानन्धर, उद्योग क्षेत्रका विज्ञ र पत्रकारहरूको उपस्थितिमा केपीएल र केबीएनपी कोरियाबीच एउटा विशेष सम्झौता भएको थियो ।

सम्झौतापत्रमा कान्तिपुर फर्मास्युटिकल्सका अध्यक्ष हेमराज बडाल र केबीएनपी कोरियाका वरिष्ठ प्रतिनिधि हानी स्वङगले हस्ताक्षर गर्नुभयो । यस सम्झौताको अर्थ दुई कम्पनीबीचको कारोबारी लेनदेन मात्र होइन । यो सम्झौता नेपालमै अन्तर्राष्ट्रियस्तरको पशु औषधि उत्पादन गर्ने संकल्पको दस्तावेज हो ।
‘मेड इन नेपाल’ पशु औषधिको सपना अब यथार्थमा
‘केबीएनपी जस्तो प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीसँगको सहकार्य हाम्रो लागि गौरवको विषय हो’—सम्झौतापछि अध्यक्ष बडालले भन्नुभयो—‘यसले नेपालको पशु औषधि उद्योगमा गुणस्तर र प्रविधिको नयाँ युग सुरु गर्नेछ । हामी उत्पादन मात्र होइन, आत्मनिर्भरता र निर्यातको दिशामा अघि बढ्नेछौं ।’ कोरियन पक्षको उत्साह पनि त्यत्तिकै उच्च छ । ‘हामीले नेपालमा ठूलो सम्भावना देखेका छौं’—केबीएनपीका हानी स्वङगले भन्नुभयो— ‘कान्तिपुरसँगको सहकार्यले हाम्रो प्रविधि र यहाँको स्थानीय विशेषज्ञता समायोजन गरेर उत्कृष्ट परिणाम दिनेछ ।’
केपीएलको यात्रा: सपना, संघर्ष र विस्तार
कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको यात्रा केवल एउटा कम्पनीको मात्र कथा होइन—यो एउटा देशको आत्मनिर्भरताको यात्रासँग जोडिएको छ । काभ्रेको पाँचखाल नगरपालिका–७ मा अवस्थित यो कम्पनीले २०२१ मा फिड सप्लिमेन्ट उत्पादनबाट व्यवसायिक यात्रा सुरु गरेको थियो । त्यसपछि सन् २०२४ अगस्टदेखि एलोपेथिक पशु औषधिको उत्पादन शुरु गर्न थाल्यो ।
हाल यो कम्पनीले २६ वटा आहारपूरक पदार्थ विभिन्न ब्रान्डमा बजारमा ल्याइसकेको छ । औषधि व्यवस्था विभागबाट ७० वटा औषधिका लागि बजारिकरण अनुमति र ४० औषधिका लागि उत्पादन अनुमति प्राप्त गरिसकेको छ । यो विस्तार संख्यामा मात्र होइन, गुणस्तर र नवप्रवर्तनमा आधारित छ । कम्पनीका प्रविधिक प्रमुख विवेक सिँह महत भन्नुहुन्छ—‘हामी बजारमा उपस्थिति मात्र जमाउने सोचमा छैनौं, हाम्रो फोकस—गुणस्तरीय, अनुसन्धानमा आधारित र किसानका लागि सुलभ औषधि उत्पादन हो ।’

कोरियन प्रविधि: ब्राण्ड मात्र होइन, भरपर्दो आधार
केपीएल र केबीएनपी कोरियाबीचको सम्बन्ध नयाँ होइन । केबीएनपीले यस कम्पनीलाई विगतदेखि नै अनुसन्धानमा सहकार्य गर्दै आएको थियो । सन् २०२५ जनवरी ८ मा केपीएलमा गरिएको गुणस्तर अडिट सफल भएपछि यो सहकार्य औपचारिक ढंगमा अघि बढाइएको हो । केबीएनपी दक्षिण कोरियाको पशु स्वास्थ्य क्षेत्रमा अग्रणी कम्पनी हो । यसले खोप, औषधि, पोषणपूरक र कीटाणुनाशक उत्पादन गर्छ । कम्पनीको स्थापना सन् १९८८ मा भएको हो र हाल यो कम्पनीका उत्पादनहरू पाकिस्तान, भारत, भियतनाम, इन्डोनेसिया हुँदै अमेरिका र युरोपसम्म पुगिसकेका छन् । यस कम्पनीको उच्चस्तरीय जैविक उत्पादन प्रणाली र वातावरणमैत्री प्रविधि आज विश्वव्यापी रूपमा प्रशंसित छ ।
आयात प्रतिस्थापनदेखि निर्यातसम्मको योजना
नेपालमा पशुपालन व्यवसाय किसानको आर्थिक मेरुदण्ड बनेको छ । तर पशु औषधिको सवालमा अझै पनि देशले ठूला परिमाणमा विदेशी आयातमा भर पर्नुपरेको छ । यसले स्वदेशी रुपियाँ बाहिरिने र कहिलेकाहीँ गुणस्तरहीन औषधिजस्ता समस्या पनि देखार्नसक्छ । केपीएल र केबीएनपीको सहकार्यले यो अवस्थालाई उल्ट्याउने सम्भावना देखिएको छ । आयात प्रतिस्थापन गर्दै देशभित्रै उच्च गुणस्तरको औषधि उत्पादन गरी सस्तो मूल्यमा किसानलाई उपलब्ध गराउने मात्र नभइ निर्यातको सम्भावना समेत देखिएको छ ।
आईपीओ घोषणा: सर्वसाधारणको साझेदारीमा उद्योग
गुणस्तरीय उत्पादनमा केन्द्रित केपीएलले हालै सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आईपिओ) गर्ने घोषणा पनि गरिसकेको छ । यसले कम्पनीलाई अझ पारदर्शी, दिगो र जनउत्तरदायी बनाउने अपेक्षा गरिएको छ । ‘हामी व्यापारिक संस्थान होइन, किसानसँग जोडिएको जनसरोकारको उद्योग हो । त्यसैले ‘अब हामी आमजनतालाई पनि यो यात्रामा सहभागी गराउनेछौं ।’—अध्यक्ष बडालको भनाइमा आत्मविश्वास मात्र होइन, उद्देश्यको स्पष्टता पनि देखिन्छ ।
भोलिको नेपाल: आत्मनिर्भर, नवप्रवर्तनशील र निर्यातमुखी
पशु औषधि उत्पादनमा कोरियन प्रविधिको आगमन केवल प्रविधिको हस्तान्तरण मात्र होइन—यो आत्मनिर्भर नेपालतर्फको अग्रसरता हो । गुणस्तर, नवीनता, अनुसन्धान र किसान–केन्द्रित सोचका साथ अगाडि बढेको केपीएलको यो यात्रा अब नेपालको कथा रहने छैन । यो दक्षिण एशियाली पशु औषधि उद्योगको प्रेरणादायी उदाहरण बन्न सक्छ । एक दशकपछि हामी भन्न सक्छौं—‘नेपालले पशु औषधि मात्र उत्पादन गरेन, यसले प्रविधिको प्रयोग गरेर सम्भावनालाई यथार्थमा बदलेको थियो ।’
कान्तिपुर फर्मास्युटिकल्सको नेपालमै कोरियन प्रविधिमा पशु औषधि उत्पादन गर्ने सम्झौताको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल, नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल, नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्वल जंग पाण्डे, नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधान, पशुसेवा विभागकी डा. सरिना मानन्धर र डा. हेमराज अवस्थीले शुभकामना दिनुभएको छ ।
राष्ट्रिय औषधि व्यवसाय संरक्षण समितिको सरकारलाई आग्रहः 'सहमति समयमै कार्यान्वयन होस्'
मंगलबार, मंसिर १६, २०८२
औषधि व्यवसायी र सरकारबीच लिखित सहमति, आन्दोलन फिर्ता (सहमति पत्रसहित)
सोमबार, मंसिर १५, २०८२
औषधि ऐन संशोधनको माग चुलियो—फार्मेसी बन्द, विभागमा तालाबन्दी
आइतबार, मंसिर १४, २०८२

