नेभिगेशन

मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै, मन्त्रालयले सहकार्य बढाउने

नेपाल हेल्थ न्युज, काठमाडौं ।  देशभर मानसिक स्वास्थ्य समस्या गहिरिँदै गएको निष्कर्षसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस क्षेत्रसँग जोडिएका सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य बढाउने योजना अघि सारेको छ।

मन्त्रालयमा आयोजित उच्चस्तरीय बैठकमा मन्त्री प्रदीप पौडेलले मानसिक स्वास्थ्य अहिलेको समयको गम्भीर स्वास्थ्य चुनौती भएको उल्लेख गर्दै त्यसको समाधानका लागि समन्वयात्मक प्रयास आवश्यक रहेको बताए।

"मानसिक रोगका बिरामीको संख्या दिनप्रतिदिन बढिरहेको छ। यो समस्या सबै उमेर समूहलाई असर गर्ने खालको छ," मन्त्री पौडेलले भने, "यसलाई प्रभावकारी रूपमा सम्बोधन गर्न हामी नीति तथा कार्यक्रम तर्जुमा गर्दैछौं।"

मन्त्री पौडेलका अनुसार अब मानसिक स्वास्थ्यसम्बन्धी काम गर्दा दोहोरो कार्य नहोस् भनेर सम्बन्धित निकायबीच कार्यविभाजन स्पष्ट पारिनेछ। मन्त्रालयले यसका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने पनि उनले बताए।

विद्यालय तहमा नयाँ कार्यक्रम

बालबालिकामा पनि मानसिक स्वास्थ्य समस्या देखिन थालेको भन्दै मन्त्रालयले शिक्षा मन्त्रालयसँग सहकार्य गर्दै विद्यालय तहमै मानसिक स्वास्थ्यसम्बन्धी शिक्षा र परामर्श समावेश गर्ने तयारी थालेको छ।

"विद्यालय पाठ्यक्रममा स्वास्थ्य शिक्षालाई अनिवार्य गर्दै मानसिक स्वास्थ्यसम्बन्धी सामग्री समावेश गरिनेछ," पौडेलले भने, "बालबालिकालाई सजग बनाउन परामर्श सेवा र मनोसामाजिक सहायता पनि प्रदान गरिनेछ।"

यसबाहेक, विद्यालय नर्स कार्यक्रमलाई संस्थागत विद्यालयसम्म विस्तार गर्ने गरी तयारी भइरहेको उनले जानकारी दिए।

तीनै तहको सहकार्य आवश्यक

मन्त्री पौडेलले मानसिक स्वास्थ्य समस्या समाधानका लागि संघीय, प्रदेश र स्थानीय तीनवटै सरकारको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। "तीन तहका सरकारबीच सहकार्यबिना यो चुनौतीको समाधान सम्भव छैन," उनले भने, "त्यसैले हामी समन्वय गर्दै अघि बढिरहेका छौं।"

बैठकमा विभिन्न संस्थाहरूले मानसिक स्वास्थ्यका क्षेत्रमा भइरहेको आफ्ना कामबारे जानकारी गराउँदै मन्त्रालयसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। मन्त्रालयले चाँडै मानसिक स्वास्थ्य नीति अद्यावधिक गर्ने र आवश्यक जनशक्ति विस्तार गर्ने तयारी गरेको पनि जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष