नेपाल हेल्थ न्युज, काठमाडौं । हरेक वर्ष मे १७ मा मनाइने विश्व उच्च रक्तचाप दिवस यस वर्ष ‘आफ्नो रक्तचाप सही रूपमा मापन गर्नुहोस्, नियन्त्रणमा राख्नुहोस्, लामो समय बाँच्नुहोस् भन्ने नाराका साथ मनाइँदैछ । यस दिवसको २० औं वार्षिकोत्सवका अवसरमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्व एशिया क्षेत्रका क्षेत्रीय निर्देशक साइमा वाजेदले उच्च रक्तचाप (हाइपरटेन्सन) विरुद्ध सशक्त र समन्वित कदम चाल्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेकी छन् ।
डब्ल्यूएचओका अनुसार, दक्षिण–पूर्व एशिया क्षेत्रमा मात्रै २९ करोड ४० लाखभन्दा बढी मानिस उच्च रक्तचापबाट प्रभावित छन् । उच्च रक्तचापलाई ‘मौन हत्यारा’का रूपमा चिनिन्छ । यसले मुटु रोग, मस्तिष्कघात (स्ट्रोक) लगायत गम्भीर समस्याहरू निम्त्याउन सक्छ ।
तर, सबैभन्दा चिन्ताजनक पक्ष भनेको ८८ प्रतिशत व्यक्तिले अझैपनि यथोचित रूपमा उच्च रक्तचापको पहिचान, उपचार र नियन्त्रणको सुविधा पाएका छैनन् । अर्थात् १० मध्ये ९ जनाले उच्चरक्तचापको आवश्यक स्वास्थ्य सेवाबाट वञ्चित छन् ।
क्षेत्रीय निर्देशक वाजेदका अनुसार, उच्च रक्तचापका प्रमुख कारणहरूमा धूम्रपान, मद्यपान, बढी नुन सेवन, शारीरिक निष्क्रियता, अस्वस्थकर आहार र मानसिक तनाव रहेका छन् । यी व्यवहारजन्य कारणहरू रोक्न सकिने भएकाले उनीहरूले नीतिनिर्माणमा ध्यान दिन आग्रह गरेकी छन् ।
डब्ल्यूएचओले सुरु गरेको सीहर्टस् कार्यक्रम अन्तर्गत सदस्य राष्ट्रहरूले धूम्रपान नियन्त्रण, नुनको सेवन घटाउने, ट्रान्स–फ्याट हटाउने र प्राइमरी हेल्थ केयरमा उपचार पहुँच बढाउने प्रयास गरिरहेका छन् । यसअन्तर्गत २०२४ को अन्त्यसम्म ४ करोड ६० लाखभन्दा बढीलाई प्रोटोकलमा आधारित उपचारमा समावेश गरिएको जानकारी दिइएको छ ।
डब्ल्यूएचओको तीन प्रमुख रणनीति
- उच्चरक्तचापको जोखिम घटाउने प्रयास सुदृढ पार्नुपर्छ । यसअन्तर्गत खानपान, शारीरिक सक्रियता र नुन तथा ट्रान्स–फ्याटको नियन्त्रणलाई जोड दिनुपर्छ ।
- सी हर्टस् कार्यक्रमलाई प्राथमिक स्वास्थ्य सेवामा समाहित गर्नुपर्छ । यसले प्रमाणित रक्तचाप मापन यन्त्रको उपलब्धता, औषधिको सहज पहुँच र उपचारको एकरूपता सुनिश्चित गर्छ ।
- स्वास्थ्य सेवाबीच समन्वय आवश्यक छ । ताकि आमाबुवा र बालबालिका स्वास्थ्य, मानसिक स्वास्थ्य तथा अन्य गैर–संक्रमणीय रोगका सेवाहरू एकीकृत रूपमा उपलब्ध गराउन सकियोस् ।
वाजेदले भनिन्—‘हामीले अहिले प्राप्त गरेको गतिलाई निरन्तरता दिनुपर्छ । राजनीतिक इच्छाशक्ति, समुदायको संलग्नता र नवीनतम उपायहरूमार्फत हामी २०३० भित्र गैर–संक्रमणीय रोगबाट हुने समय अगावै हुने मृत्यु दर एक–तिहाइले घटाउन सक्छौं ।’
डब्ल्यूएचओको दक्षिण–पूर्व एशिया क्षेत्रभित्र नेपालसहित बङ्गलादेश, भुटान, भारत, इन्डोनेशिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड, उत्तर कोरिया र टिमोर–लेस्टे रहेका छन् ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
