नेपाल हेल्थ न्युज, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जीवन सीमित भएका दीर्घकालीन तथा जटिल बिरामीका लागि प्रशामक सेवा प्रवर्द्धन गर्ने उद्देश्यले “नेपाल प्रशामक सेवा राष्ट्रिय रणनीति २०२५–२०३५” स्वीकृत गर्नुभएको छ ।
उक्त रणनीतिले क्यान्सर, मुटु, मिर्गौला, फोक्सो, अल्जाइमर्स, पार्किन्सन्सजस्ता दीर्घरोगीहरूलाई सघाउने किसिमको समग्र स्याहार तथा उपचार प्रणालीलाई विकसित गर्ने लक्ष्य लिएको छ।
हालसम्म क्यान्सर रोगीका लागि मात्रै प्रशामक सेवा उपलब्ध भए पनि अन्य जटिल रोगी तथा उनीहरूको परिवारलाई समेत लक्षित गर्ने प्रयास यो पहिलोपटक भएको हो।
रणनीतिमा सरकारी तथा गैरसरकारी सबै तहका स्वास्थ्य संस्थाहरूलाई जनशक्ति निर्माण, सीप अभिवृद्धि तथा आवश्यक औषधी र स्तरीय सेवा उपलब्ध गराउने दायित्व तोकिएको छ। स्वास्थ्य सेवा प्रणालीलाई थप समावेशी बनाउँदै बिरामी मात्र नभई उनीहरूका परिवारलाई पनि मनोसामाजिक तथा व्यवहारिक सहायता पुर्याउने व्यवस्था रणनीतिमा समेटिएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार रणनीति कार्यान्वयनमा ल्याइसकेपछि दीर्घरोगी बिरामी तथा उनीहरूका परिवारले सामना गर्ने कठिनाइलाई सहज बनाउँदै सेवा प्रणालीलाई विस्तार गर्ने अपेक्षा गरिएको छ।
भेरी अस्पतालमा तनाव चुलियो—सुरक्षा नभएसम्म काम नगर्ने चिकित्सकको अडान, सेवा ठप्प
बुधबार, वैशाख १६, २०८३
विदेश उपचारमा ‘भीआईपी सुविधा’ खारेजः सर्वोच्चको ब्रेक
मंगलबार, वैशाख १५, २०८३



