नेपाल हेल्थ न्युज, लन्डनस्थित प्रतिष्ठित मेडिकल जर्नल ल्यान्सेट को पछिल्लो प्रतिवेदन अनुसार, विश्वभर प्रोस्टेट क्यान्सरका केसहरू आगामी वर्षहरूमा दोब्बर हुने सम्भावना छ। प्रतिवेदनले सन् २०२० मा विश्वभर १४ लाख नयाँ प्रोस्टेट क्यान्सरका केस रिपोर्ट गरिएको उल्लेख गर्दै सन् २०४० सम्ममा यो संख्या २९ लाख पुग्ने अनुमान गरेको छ।
यो क्यान्सर ११२ देशका पुरुषहरूमा हुने सबैभन्दा सामान्य क्यान्सर हो र सन् २०२० मा मात्रै ३.७५ लाख पुरुषको मृत्यु प्रोस्टेट क्यान्सरका कारण भएको थियो। सन् २०४० सम्ममा मृत्युको यो संख्या ८५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
प्रोस्टेट क्यान्सर भनेको के हो ?
प्रोस्टेट क्यान्सर पुरुष प्रजनन प्रणालीसँग सम्बन्धित रोग हो। प्रोस्टेट ग्रन्थि मूत्राशयको ठीक तल अवस्थित हुन्छ र यो उमेरसँगै विस्तार हुँदै जान सक्छ। प्रोस्टेटमा हुने असामान्य वृद्धि नै पछि क्यान्सरमा परिणत हुन सक्छ। तर, सबै प्रोस्टेट समस्याहरू क्यान्सर हुन् भन्ने होइन।
डाक्टरहरू भन्छन् कि यो क्यान्सर प्रायः बिस्तारै विकास हुन्छ, र सुरुमा लक्षण नदेखिन सक्छ। जब लक्षण देखिन्छ, ती यस प्रकारका हुन सक्छन्ः
- बारम्बार पिसाब लाग्नु,
- पिसाब रोक्न गाह्रो हुनु,
- पिसाब गर्दा जलन वा रक्तस्राव हुनु,
- राति बारम्बार पिसाब लाग्नु।
किन बढिरहेको छ प्रोस्टेट क्यान्सरको संख्या ?
ल्यान्सेटको प्रतिवेदन र विभिन्न विशेषज्ञहरूको अनुसार, प्रोस्टेट क्यान्सर बढ्नुका मुख्य कारणहरू यस्ता छन्ः
उमेरको वृद्धिः जीवन प्रत्याशा बढेसँगै वृद्ध उमेरमा देखा पर्ने क्यान्सरहरू (जस्तै प्रोस्टेट क्यान्सर) को केस पनि बढेका छन्।
जीवनशैलीको प्रभावः पश्चिमी देशहरूमा फास्ट फूड, मदिरा, धूम्रपान र न्यून सक्रिय जीवनशैलीले क्यान्सरको जोखिम बढाएको छ।
पछिल्लो चरणमा पत्ता लाग्नुः कम आय भएका देशहरूमा स्क्रिनिङ कार्यक्रमको अभावका कारण क्यान्सर ढिलो पत्ता लाग्छ, जसले मृत्यु दर बढाउँछ।
आनुवंशिक कारणः परिवारमा कसैलाई यो रोग भएको खण्डमा अन्य सदस्यहरूमा पनि यसको जोखिम बढ्छ।
भारत र नेपालमा स्थिति कस्तो छ ?
भारतमा प्रोस्टेट क्यान्सर कुल क्यान्सर केसको लगभग ३ प्रतिशत हिस्सा बनाउँछ। प्रत्येक वर्ष ३३,०००–४२,००० नयाँ केस रिपोर्ट हुन्छन्। शहरी क्षेत्रमा पछिल्ला २५ वर्षमा प्रोस्टेट क्यान्सर ७५–८५ प्रतिशतले बढेको छ।
विशेषज्ञहरूका अनुसार, यो संख्या अझै कम देखिएको हो किनभने धेरै केसहरू रिपोर्टै हुँदैनन्। साथै, भारत र नेपालमा पनि प्रोस्टेट क्यान्सरको स्क्रिनिङ नियमित रूपमा गरिँदैन, जसले गर्दा केसहरू ढिलो पत्ता लाग्ने गर्छन्।
रोकथाम र उपचार के छन् ?
एक्ब् परीक्षण (Prostate Specific Antigen ) यो रक्त परीक्षणले प्रोस्टेट ग्रन्थिको अवस्था देखाउँछ। असामान्य परिणाम आएमा थप जाँच (MRI, बायोप्सी) गरिन्छ।
शल्यक्रिया, रोबोटिक सर्जरी, हर्मोन थेरापी जस्ता विकल्पहरू उपचारका लागि प्रयोग गरिन्छ। प्रारम्भिक चरणमा पत्ता लागेमा उपचार सफलता दर धेरै उच्च हुन्छ।
डा. एसभीएस देवका अनुसार, “प्रोस्टेट क्यान्सर सुस्त गतिमा बढ्ने क्यान्सर हो, त्यसैले प्रारम्भिक उपचारले जीवन प्रत्याशा १०–१५ वर्षसम्म बढाउन सक्छ।”
डाक्टरहरू सल्लाह दिन्छन् कि ४५ वर्षपछि हरेक दुई वर्षमा एक्ब् परीक्षण गराउनु उपयुक्त हुन्छ, विशेषतः यदि परिवारमा क्यान्सरको इतिहास छ भने।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
