नेभिगेशन
आज १७ औं विश्व थाइराइड दिवस – २०२५ 

थाइराइड समस्याको बढ्दो भारः चेतनाको खाँचो अझै उत्तिकै

नेपाल हेल्थ न्युज, काठमाडौं । आज १७ औं विश्व थाइराइड दिवस २०२५ ।    ‘नवप्रवर्तनलाई अँगालौं । तर आधारभूत कुराहरू नछोडौं — लक्षण चिन्नुहोस्, समयमै कदम चाल्नुहोस् र थाइराइडलाई प्राथमिकता दिनुहोस् ।’ यही सन्देशका साथ आइतबार नेपालभर विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व थाइराइड दिवस बनाइँदैछ । 
सन् २००८ देखि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अगुवाइमा प्रत्येक वर्ष मे २५ तारिखमा विश्वभर थाइराइड सम्बन्धी चेतनामूलक कार्यक्रम हुँदै आएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार, थाइराइड ग्रन्थीको समस्या हेर्दा सामान्य लागेपनि बेवास्ता गरिएमा यसले शरीरको सम्पूर्ण प्रणालीलाई असर पार्न सक्छ ।

थाइराइड एउटा सानो ग्रन्थी, तर ठूलो असर
थाइराइड ग्रन्थी घाँटीको अगाडिको भागमा, ठीक रुद्रघण्टीको तल अवस्थित हुन्छ । यसले थाइरोक्सिन (टी फोर) र ट्राइआयोडोथाइरोनिन ( टी थ्री) भन्ने दुई प्रमुख हर्मोन उत्पादन गर्छ । यसले शरीरको मेटाबोलिज्म (शरीरको उर्जा उत्पादन) तापक्रम नियमन, पाचन र मुटुको गति नियन्त्रण गर्ने काम गर्छ ।

वरिष्ठ इन्डोक्राइनोलोजिष्ट डा. अंशुमाली जोशी भन्नुहुन्छ—‘थाइराइड हर्मोनको असन्तुलनले व्यक्ति शारीरिक मात्र होइन, मानसिक रुपमा पनि कमजोर हुनसक्छ । विशेषगरी महिलामा यो समस्या धेरै देखिन्छ, तर अधिकांशले समयमै परीक्षण गराएको पाइँदैन । ’

रोगका दुई रूपः हाइपर र हाइपो
थाइराइड हर्मोन आवश्यकता भन्दा धेरै उत्पादन भएमा हाइपरथाइराइडिज्म र कम उत्पादन भएमा हाइपोथाइराइडिज्म भनिन्छ । दुवै अवस्थाले शरीरमा व्यापक असर पार्छ ।

हाइपोथाइराइडिज्मका लक्षणः
थकान, निद्रा लाग्ने, तौल बढ्ने, चिसो महसुस हुने,कपाल झर्ने, महिनावारी अनियमित, गर्भधारणमा समस्या, अनुहार सुन्निने हुनसक्छ ।

हाइपरथाइराइडिज्मका लक्षण
मुटुको धड्कन बढ्ने, तौल घट्ने, भोक बढ्ने, छिटो रिस उठ्ने, मानसिक अशान्ति, पसिना धेरै आउने, कम्पन महसुस हुने आदि । 

नेपालमा अवस्थाः तथ्य के भन्छ ?
हालसालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एचएचआरसी) को प्रतिवेदन अनुसार, नेपालमा थाइराइड सम्बन्धी समस्या भएका व्यक्तिहरूको संख्या बढ्दो छ । विशेषगरी ३५ वर्षमाथिका महिलामा हाइपोथाइराइडिज्म अधिक देखिएको छ ।

यसबाहेक सन् २०२३ मा त्रिवि शिक्षण अस्पतालमा गरिएको ५,००० जनाको थाइराइड परीक्षणमा १३% मा असामान्यता थाइराइड भएको पाइएको थियो । विशेषगरी उपत्यकाका महिला र पहाडी क्षेत्रमा बसोबास गर्नेहरूमा यस्ता समस्या देखिएका छन् । यस्तै, आयोडिनको कमी भएको भेगहरूमा थाइराइड ग्रन्थी बढ्ने (गइटर) समस्या अझै पनि देखिन्छ ।

गर्भवती र नवजातमा अझ बढी जोखिम
किशोरी र गर्भवती महिलामा थाइराइडको अवस्था जाँच्नु अत्यन्तै आवश्यक हुन्छ । जनस्वास्थ्य विज्ञ डा. अप्सरा अधिकारी भन्नुहुन्छ—‘गर्भावस्थामा हाइपोथाइराइडिज्म भएमा बच्चाको बौद्धिक विकासमा गम्भीर असर पर्न सक्छ । त्यसैले नेपाल सरकारले जन्मेपछि एक साताभित्र शिशुको थाइराइड परीक्षण गर्ने नीति अवलम्बन गर्नुपर्छ ।’

नेपालमा अहिलेसम्म नवजात शिशुको रुटिन थायराइड स्क्रिनिङ सुरु भइसकेको छैन । तर केही निजी अस्पतालहरूमा यो सुविधा उपलब्ध गराइएको छ ।

आयोडिनः सानो तत्व, ठूलो प्रभाव
नेपालमा लामो समयसम्म आयोडिनको कमीका कारण गोइटर (थाइराइड ग्रन्थीको असामान्य वृद्धि) रोग व्यापक थियो । युनिसेफ र स्वास्थ्य मन्त्रालयको सहकार्यमा सन् १९९० को दशकमा ‘आयोडिन मिसाइएको नुन’ अभियान चलाइयो । हाल ९५% भन्दा बढी नेपालीको घरमा आयोडिनयुक्त नुन प्रयोग हुन्छ । जसले गइटरमा कमी ल्याएको छ।

तर, विज्ञहरू भन्छन्—‘थाइराइड समस्या केवल आयोडिनको कमीको कारणले मात्रै हुँदैन । यो आटोइम्युन रोग, वंशाणुगत कारण, हर्मोनको असन्तुलन, तनाव, गर्भपतन र महिनावारी समस्या पनि प्रमुख कारक मानिन्छ ।’

के थाइराइडको उपचार सम्भव छ ?
वरिष्ठ इन्डोक्राइनोलोजिष्ट डा. ज्योति भट्टराई भन्नुहुन्छ—‘थाइराइड पूर्ण रूपमा निको नहुन सक्छ । तर औषधि, खानपान र नियमित परीक्षणबाट सहजै व्यवस्थापन गर्न सकिन्छ ।’ हाइपोथाइराइडिज्ममा लेभोथाइरोक्सिन भन्ने औषधि नियमित खाइन्छ भने हाइपरथाइराइडिज्ममा औषधि, रेडियोआयोडिन थेरापी वा कहिलेकाहीँ शल्यक्रिया पनि गर्नुपर्छ ।

चेतना अझै कमजोर
नेपालका अधिकांश महिलाले थाइराइडसम्बन्धी प्रमुख लक्षण चिन्न सक्दैनन् । डाक्टर भट्टराई भन्नुहुन्छ—‘हाम्रो समाजमा अझै थकान, अल्छीपन, मोटोपन, मानसिक तनावलाई सामान्य ठानिन्छ । तर यी थाइराइडका लक्षण हुन सक्छन् भन्ने थाहा नभएकाले धेरै ढिलो गरी अस्पताल आउँछन् ।’

उपाय के ?
 

अनियमित महिनावारी वा गर्भसम्बन्धी समस्या भएमा थाइराइड परीक्षण गराउने,  तौल, निद्रा, मुडमा परिवर्तन भए थाइराइड जाँच्ने, परिवारमा थाइराइडको इतिहास भए ध्यान दिनुपर्ने, गर्भावस्थाको सुरुवातमै थाइराइड परीक्षण गराउने, बच्चा जन्मेपछि एक हप्ताभित्र थाइराइड परीक्षण गराउनुपर्छ ।  अतः थाइराइड सानो जस्तो देखिने तर ठूलो असर पार्ने ग्रन्थी हो । स्वास्थ्यप्रति सजग भई नियमित परीक्षण गर्ने बानी बसाल्नु नै दीर्घकालीन उपाय हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

पुरुषोत्तम घिमिरे विगत २५ वर्षदेखि स्वास्थ्य पत्रकारिता गर्दै आउनुभएको छ ।  

थप रिपोर्ट विशेष