नेभिगेशन

नेपालमा पहिलोपटक ‘मायस्थेनिया ग्राभिस’ रोगको नयाँ प्रविधिबाट सफल शल्यक्रिया

नेपाल हेल्थ न्युज, चितवन । चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले नेपालमै पहिलोपटक ‘मायस्थेनिया ग्राभिस’ रोगको अत्याधुनिक प्रविधिबाट सफल शल्यक्रिया सम्पन्न गरेको छ। दाङकी २२ वर्षीया महिलामाथि जेठ ८ गते गरिएको यो अपरेशन नयाँ प्रविधिको प्रयोगद्वारा सफल बनाइएको हो।

शल्यक्रियामा अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा थोरासिक र ल्याप्रोस्कोपिक सर्जन डा. विनय ठाकुरको नेतृत्वमा चिकित्सकहरूको टोली संलग्न थियो। यो प्रविधिमा बिरामीको पेटमा केवल एक सानो प्वाल बनाइर राखिएको क्यामेरा (दूरबिन) को सहायताले सम्पूर्ण प्रक्रिया सम्पन्न गरिएको हो। डा. ठाकुरका अनुसार यसरी गरिएको शल्यक्रिया नेपालमै पहिलोपटक हो।

पारम्परिक शल्यक्रिया पद्धतिमा श्वासप्रश्वास नलीमा पाइप हालेर, बिरामीलाई गहिरो बेहोस बनाई धेरै प्वाल बनाएर अपरेशन गरिन्थ्यो। तर यो नयाँ प्रविधिमा उक्त प्रक्रिया आवश्यक नपरेको डा. ठाकुरले बताउनुभयो। उहाँ भन्नुहुन्छ, “अबदेखि यस्तो प्रविधिमार्फत निरन्तर शल्यक्रिया गर्न सकिनेछ।”

‘मायस्थेनिया ग्राभिस’ न्यूरोमस्कुलर डिसअर्डर हो, जसले मांसपेशी कमजोर बनाउने गर्दछ। यस्तो अवस्थामा शल्यक्रिया गर्दा विशेष सावधानी आवश्यक हुन्छ। डा. ठाकुरका अनुसार बिरामीलाई मसल रिल्याक्स गर्ने औषधि नदिइएमा अपरेशनपछि लामो समय भेन्टिलेटरको आवश्यकता पर्दैन।

शल्यक्रियामा संलग्न एनेस्थेसियोलोजिस्ट डा. रेश्मी थापाले यो प्रक्रियामा ‘नन-इन्टुवेटेड’ प्रविधि अपनाइएको जानकारी दिनुभयो। उहाँले बताउनुहुन्छ, “यसपटक सामान्य एनेस्थेसियाको प्रयोग गरेर बिरामीलाई बेहोस बनाइएको हो, जसले शरीरका मांसपेशी पूर्ण रूपमा प्यारालाइज नगर्ने हुँदा जोखिम पनि कम हुन्छ।”

‘मायस्थेनिया ग्राभिस’ सबै उमेर समूहमा देखिए पनि विशेषतः २५ वर्षभन्दा कम र ६० वर्षभन्दा माथिका व्यक्तिहरूमा बढी पाइन्छ। यो रोग विश्वभरि एक लाख जनामा वार्षिक औसतमा एक जनामा देखिने उल्लेख गरिएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले यो सफलतामा चिनियाँ सहयोगमा प्राप्त प्रविधि र उपकरणको ठूलो योगदान रहेको बताउनुभयो। अध्यक्ष डा. विजय न्यौपानेले सर्जन र एनेस्थेसिया टोली दुवैको समन्वयले यो कार्य सफल भएकोमा प्रशंसा गनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ