५६ वर्षीया माया श्रेष्ठ (नाम परिवर्तन) ले शरीरमा थकाइ, कमजोरी र सामान्य दुखाइ महसुस गर्दा उनले उमेरको असर ठानिन् । तर समस्या विस्तारै गम्भीर बन्दै गयो । भ-याङ चढ्न, बस्न उठ्न र कपाल कोर्न समेत मुस्किल हुन थाल्यो । धेरै जाँचपछिको नतिजाले देखायो — उनी ‘इन्फ्लामेटरी मायोसाइटिस’ भन्ने दुर्लभ मांशपेसीको बाथ रोगबाट पीडित थिइन् ।
रोग जुन शत्रु होइन, शरीर आफैं हो
मायोसाइटिस एक अटोइम्युन रोग हो । यसमा शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा गडबडी भइदिन्छ र आफ्नै मांसपेशीमाथि आक्रमण गर्छ । विशेषगरी थाइ र आर्मको मांसपेशी सबैभन्दा पहिले प्रभावित हुन्छन् । रोगका केही रूपहरूमा छालामा रातो वा बैजनी रंगका र्यासेस, हातमा ‘मेकानिक्स ह्यान्ड्स’ जस्ता दाग देखिन सक्छन् । यो केवल मांसपेशीसँग मात्र जोडिएको हुँदैन, श्वासप्रश्वास, मुटु र फोक्सो समेत जोखिममा पर्न सक्छ । मायोसाइटिस वयस्कहरूमा बढी देखिन्छ । ‘इन्क्लुजन बडी मायोसाइटिस’ जस्ता भेरियन्टहरू उमेर ढल्किएपछि देखा पर्न सक्छन् ।
कारण एक होइन, तर जटिल छ
यस रोगको कारण पूर्णरूपमा प्रस्ट छैन । तर अटोइम्युन गडबडी, वंशानुगत जोखिम र वातावरणीय कारक मिलेर यो सक्रिय हुने विश्वास गरिन्छ । शरीरको इम्युन प्रणालीले आफैंलाई नै बाह्य तत्व ठान्ने समस्याकै उपज हो मायोसाइटिस ।
सकारात्मक निदानः समयमै थाहा पाए उपचार सजिलो
शुरूवाती चरणमा सामान्य स्टेरोइडको सानो मात्रा पर्याप्त हुन सक्छ । तर रोगले भित्री अंगमा असर पु-याइसकेको अवस्थामा इम्युनोसप्रेस औषधि, अस्पताल भर्ना र दीर्घकालीन उपचार आवश्यक पर्छ । त्यसैले रोग चाँडै पत्ता लागेमा बिरामीको जीवनशैली सामान्य राख्न सकिन्छ । ढिलाइ भयो भने उपचार जटिल र खर्चिलो हुन्छ ।
खानपान र व्यायामः रोग नियन्त्रणको आधार
यो रोग खानपानबाट उत्पन्न नहुने भए पनि तौल नियन्त्रण र स्वस्थ जीवनशैली अत्यन्तै महत्वपूर्ण हुन्छ । चिल्लो, गुलियो, प्रशोधित खाना (जंकफुड) र चिसो खानेकुरा परहेज गर्नुपर्छ । पोषिलो खाना सबै खाँदा हुन्छ । शरीरको गुमेको शक्ति फिर्ता ल्याउन मांसपेशी स्ट्रेन्थनिङ र स्ट्रेचिङ व्यायाम अत्यावश्यक हुन्छ ।
पूरै निको हुन्छ त ?
रोगको निको हुने अवस्था रगतमा देखिएको एन्टिबडीमा निर्भर हुन्छ । साधारण एन्टिबडी भएमा रोग सजिलै नियन्त्रणमा आउन सक्छ । तर एमडीएफआई जस्ता एन्टिबडीको अवस्थामा रोगले भित्री अंगमा असर गरेर प्राणघातक बन्न सक्छ । निरन्तर सुख्खा खोकी, कमजोरी, वा श्वास फेर्न गाहो हुन थाल्यो भने तुरुन्त जाँच गर्नुपर्छ — मायोसाइटिसको संकेत हुन सक्छ ।
निष्कर्ष
मायोसाइटिस अझै पनि धेरैका लागि अपरिचित रोग हो । थकाइ, कमजोरी र सामान्य दुखाइ जस्ता संकेतहरूलाई हेलचेक्र्याईं गर्नु खतरनाक हुन सक्छ । समयमै रोगको पहिचान, उपचार र सही जीवनशैलीले यस रोगसँगको लडाइँलाई जित्न सकिन्छ । मायोसाइटिस विरुद्धको यो लडाइँ केवल बिरामीको मात्र होइन, सम्पूर्ण समाजको चेतनाको लडाइँ हो ।
(डा. श्रेष्ठ काठमाडौंको रातोपुलस्थित नेशनल बाथरोग सेन्टरमा कार्यरत हुनुहुन्छ ।)
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
