नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले निर्माणाधीन र प्रस्तावित मेडिकल कलेजहरूको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
बुधबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल, सुर्खेत र डडेलधुरामा निर्माणाधीन तथा प्रस्तावित मेडिकल कलेजहरूको पूर्वाधार निर्माण कार्यलाई गति दिन ५६ करोड रुपैयाँ छुट्याइएको जानकारी दिनुभयो ।
“स्वास्थ्य सेवाको पहुँच बढाउन देशका विभिन्न भेगमा मेडिकल कलेजको पूर्वाधार निर्माणमा जोड दिइनेछ,” उहाँले भन्नुभयो, “यसका लागि बुटवल, सुर्खेत र डडेलधुरामा निर्माणाधीन कलेजलाई प्राथमिकता दिइएको छ।”
हालैका वर्षहरूमा मेडिकल शिक्षा विस्तारमार्फत स्थानीय तहसम्म विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने सरकारी योजनाअनुसार विभिन्न स्थानमा मेडिकल कलेज स्थापना र निर्माणको प्रक्रिया अघि बढाइएको छ। यसका लागि आवश्यक पूर्वाधार विकास, भवन निर्माण, उपकरण खरिद तथा जनशक्ति व्यवस्थापनमा खर्च हुने अनुमान गरिएको छ।
बुटवल, सुर्खेत र डडेलधुरा तीनै ठाउँमा मेडिकल कलेजको पूर्वाधार निर्माण कार्य विभिन्न चरणमा रहेको छ। बुटवलमा लुम्बिनी प्रदेश सरकारअन्तर्गतको मेडिकल कलेजको भवन निर्माण भइरहेका छन् भने, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेलधुरामा समेत मेडिकल कलेज निर्माणका लागि प्रारम्भिक संरचना निर्माण हुँदै आएका छन्।
स्वास्थ्य क्षेत्रमा राज्यको लगानी बढाउँदै स्थानीयस्तरमै विशेषज्ञ उपचार सुविधा दिने उद्देश्यले सरकारले मेडिकल कलेज स्थापना र सुदृढीकरणलाई बजेटमा प्राथमिकता दिएको हो।
सरकारको यो कदमले दूरदराजका क्षेत्रमा स्वास्थ्य शिक्षाको पहुँच बढाउनुका साथै स्थानीय बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ।
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२



