नेपाल हेल्थ न्युज, काठमाडौं । रौतहटको राजपुर नगरपालिका–४ मा सञ्चालनमा रहेको एक अवैध औषधि पसलको अनुगमन गर्न गएका औषधि निरीक्षण टोलीमाथि भएको आक्रमणप्रति नेपाल औषधी व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले कडा आपत्ति जनाएको छ। संघले उक्त घटनालाई सम्पूर्ण औषधि व्यवसायीको मर्यादामा आँच पुर्याउने आपराधिक कार्यको संज्ञा दिएको छ।
जेठ ५ गते घटेको घटनामा फार्मेसी सुपरभाइजर तथा सूचना अधिकारी ओम जैसवाल र अमर शर्मा माथि अभद्र समूहद्वारा शारीरिक आक्रमण भएको पुष्टि भएको छ। संघले यस आक्रमणले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल कमजोर पार्ने, सेवा प्रणालीमै त्रासको वातावरण सिर्जना गर्ने र औषधि व्यवसायको गरिमा खल्बल्याउने बताएको छ।
संघको मागः दोषीलाई कडा कारबाही
नेपाल औषधी व्यवसायी संघ, काठमाडौं शाखाले घटनाको घोर निन्दा गर्दै घाइते निरीक्षकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै संघले यस्ता अमानवीय, गैरकानुनी र निन्दनीय गतिविधिको तीव्र भर्त्सना गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन राज्यसंयन्त्रसँग कडा माग राखेको छ। संघका अध्यक्ष शंकर महर्जन र महासचिव शुभ मान श्रेष्ठद्वारा संयुक्तरूपमा जारी वक्तव्यमा भनिएको छ-'यस्ता आपराधिक घटनालाई राज्यद्वारा गम्भीरतापूर्वक लिएर निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं।'
५२ वर्षे इतिहास बोकेको संघको सेवा भाव
नेपाल औषधी व्यवसायी संघले ५२ वर्षभन्दा बढीको इतिहासमा सधैं सेवा–केन्द्रित भावनासहित औषधि व्यवसायमा क्रियाशील व्यवसायीहरूको प्रतिनिधित्व गर्दै आएको जनाएको छ। संघ औषधि ऐन, नियम, निर्देशिका तथा संविधानको पूर्ण पालना गर्दै गुणस्तरीय, असरदार र सर्वसुलभ औषधिको सुनिश्चिततामा समर्पित रहेको बताइन्छ। संघका अनुसार औषधि ऐन २०३५ निर्माणमा समेत संघले ऐतिहासिक भूमिका खेलेको हो। औषधि व्यवस्था विभागभन्दा पनि पहिले संघको स्थापना भएको तथ्य यसैको प्रमाण भएको उल्लेख छ।
महामारीदेखि संकटसम्म, सधैं अग्रमोर्चामा संघ
संघले महामारी र अन्य संकटका समयमा पनि अग्रपंक्तिमा रही राज्यसँग सहकार्य गर्दै सेवा पुर्याएको गौरवपूर्ण इतिहास रहेको जनाएको छ। त्यसैले सेवा प्रदायकमाथिको आक्रमणलाई संघले सिधा औषधि व्यवसायको मूल्य र मान्यतामाथिको हमला ठानेको छ।
संघको आग्रहः सेवा प्रदायक सुरक्षित हुनुपर्छ
नेपाल औषधी व्यवसायी संघ, काठमाडौं शाखाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय तथा प्रधानमन्त्रीको कार्यालय समक्ष राष्ट्रसेवक कर्मचारीलाई सुरक्षित र सम्मानजनक वातावरणमा कार्य गर्न पाउने सुनिश्चितता गराउन पनि जोडदार आग्रह गरेको छ। संघको भनाइमा-'यस्ता घटनाले सेवा प्रदायक र सेवाग्राही दुवैलाई असर पार्ने हुँदा, आपराधिक प्रवृत्तिको निरुत्साहन गरी कानुनी कार्यवाहीमार्फत सुरक्षित र मर्यादित सेवा वातावरण निर्माण गरिनुपर्छ।'
राष्ट्रिय औषधि व्यवसाय संरक्षण समितिको सरकारलाई आग्रहः 'सहमति समयमै कार्यान्वयन होस्'
मंगलबार, मंसिर १६, २०८२
औषधि व्यवसायी र सरकारबीच लिखित सहमति, आन्दोलन फिर्ता (सहमति पत्रसहित)
सोमबार, मंसिर १५, २०८२
औषधि ऐन संशोधनको माग चुलियो—फार्मेसी बन्द, विभागमा तालाबन्दी
आइतबार, मंसिर १४, २०८२

