नेपाल हेल्थ न्युज, काठमाडौं । 'क्यान्सर लाग्दैमा जीवन सकिँदैन, यसलाई आत्मबलले जित्न सकिन्छ’ भन्ने सन्देशसहित ३८औँ क्यान्सर सर्भाइभर दिवस राजधानीमा राष्ट्रिय रूपमा मनाइएको छ। हरेक वर्ष जुन महिनाको पहिलो आइतबार विश्वव्यापी रूपमा यो दिवस मनाइन्छ ।
नेपाल क्यान्सर सर्भाइभर सोसाइटीले आयोजना गरेको कार्यक्रममा क्यान्सर विजेता, सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी र कलाकारहरूको उत्साहजनक सहभागिता देखिएको थियो।
कार्यक्रममा बोल्दै क्यान्सरबाट बाँच्न सफल साइकलयात्री ध्रुवप्रसाद हुमागाईंले क्यान्सर लाग्दैमा मान्छे मरिदैन, हामी विजेताहरूले अरूलाई पनि फाइटर बनाउनुपर्ने धारणा राख्नुभयो । वरिष्ठ गायिका तथा स्तन क्यान्सर विजेता मीरा राणाले नेपालमा प्रारम्भिक परीक्षण नहुनु तथा जनचेतनाको अभावले गर्दा महिलाहरू बढी जोखिममा रहेको र ४० वर्ष नाघेपछि महिलाले दुई वर्षको अन्तरालमा मेमेग्राफी परीक्षण गराउनुपर्ने सुझाव दिनुभयो । क्यान्सर सर्भाइभर सोसाइटीकी अध्यक्ष प्रमिता खनालले विजेताहरूबीचको भावनात्मक सम्बन्ध र आपसी समझदारीले एकअर्कामा आत्मबल बढाउने उल्लेख गर्नुभयो । सोसाइटीकी कोषाध्यक्ष विनु केसीले आत्मबल बलियो बनाउन परिवारको साथ अनिवार्य हुने बताउनुभयो ।
कार्यक्रममा घाँटीको क्यान्सरबाट मुक्त भएर मेची–महाकाली साइकलयात्रा गरेकी नमिता बस्नेतलाई सम्मान गरिएको थियो। उहाँले आत्मबलकै कारण यस्तो साहसिक यात्रा गर्न सम्भव भएको बताउनुभयो । कार्यक्रममा सहभागी गीता रानाभाटले आफ्नो छोरीले क्यान्सर जित्न सक्नुमा परिवारको आत्मबल निर्णायक भएको र चिकित्सकले छोरीको आयु छोटो बताए पनि आत्मबलले १५ वर्षदेखि छोरी सामान्य जीवन बिताइरहेकी उल्लेख गर्नुभयो ।
सो अवसरमा क्यान्सरसँगको जीवन अनुभवमूलक कविता वाचन गर्नुका साथै सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो। नेपालमा भने आठ वर्षदेखि राष्ट्रिय रूपमा ‘क्यान्सर सर्भाइभर दिवस’ मनाउन थालिएको हो।
क्यान्सर सर्भाइभर्स दिवसको सुरुवात् सन् १९८८ को जुन ५ मा अमेरिकाको न्यु मेक्सिकोमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनपछि गरिएको थियो । यो दिवस मनाउने उद्देश्य क्यान्सर सर्भाइभरहरूको जीवनस्तर सुधार, उनीहरूको स्वास्थ्यका लागि आवश्यक स्रोतको व्यवस्था, तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्नु हो ।
हाल विश्वमा ५ करोड ३५ लाखभन्दा बढी व्यक्ति क्यान्सरबाट बाँच्न सफल भएका छन् । उनीहरूका लागि पुनः जीवन यापन सहज छैन । सामाजिक, आर्थिक, मानसिक तथा स्वास्थ्यसम्बन्धी चुनौतीहरू दिनप्रतिदिन बढ्दो छन् ।
कार्यक्रमको मूल सन्देश थियो — “क्यान्सरलाई जित्न सकिन्छ, डर होइन, हिम्मत आवश्यक छ।”

खाद्यपुरक र न्युट्रास्युटिकलको व्यापारः उपभोक्ताको ढाड सेकिने, व्यापारी धनी हुने
शनिबार, जेठ ३१, २०८२
'म हाँसि हाँसि जेल जाँदैछु': मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भावुक अभिव्यक्ति
शुक्रबार, जेठ ३०, २०८२
गुरुको शल्यक्रिया, शिष्यका हातः आफ्नै विद्यार्थीबाट डा. वसन्त पन्तको शल्यक्रिया
शुक्रबार, जेठ ३०, २०८२