नेपाल हेल्थ न्युज, काठमाडौँ । बाथरोग उपचार तथा अनुसन्धानमा सक्रिय नेशनल बाथरोग सेन्टरले आफ्नो १२ औँ वार्षिकोत्सव विशेष समारोहका साथ बिहीबार मनाएको छ । सेन्टर सन् २०१२ मा स्थापना भएको थियो । यो अवधिमा ५ लाख बिरामीहरुले सेन्टरबाट बाथरोगको सेवा लिइसकेका छन् ।
वार्षिकोत्सव समारोहको प्रमुख आकर्षणको रूपमा सेन्टरले बिरामीहरूको उपचार प्रक्रिया सहज बनाउने उद्देश्यले मोबाइल एप सार्वजनिक गरेको छ ।
उक्त एपको औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले उद्घाटन गर्नुभयो । एपमार्फत बिरामीहरूले चिकित्सकसँगको परामर्श लिने, भेटघाटको समय मिलाउने, औषधि सेवनको समयको संकेत जस्ता सेवा पाउनेछन् ।
समारोहमा बोल्दै महानिर्देशक ढकालले सेन्टरले बाथरोगको उपचार र अनुसन्धानमा पु¥याएको योगदानको चर्चा गर्दै औषधिको अभावलाई समाधान गर्न विभागले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । ‘तपाईंहरू अनुमतिका लागि प्रस्ताव लिएर आउनुहोस्, हामी सहयोग गर्न तयार छौँ’—उहाँले भन्नुभयो ।
ढकालले पछिल्लो समय नेपालीहरूमा भिटामिन ‘डी’को कमी भएको चर्चा चलेको भन्दै त्यसमा वैज्ञानिक अनुसन्धानको आवश्यकता औँल्याउनुभयो । ‘भिटामिन डीको अभाव छ भन्ने सुनिन्छ, तर वैज्ञानिक तथ्यहरूसहितको अध्ययनको खाँचो छ’— उहाँको भनाइ थियो ।
‘इभोल्युसन’ को संकेत ?
समारोहमा सेन्टरका अध्यक्षसमेत रहनुभएका बाथरोग विशेषज्ञ डा. विनित वैद्यले बाथरोग समयमै पत्ता लगाएर उपचार गर्नु आवश्यक रहेको बताउनुभयो । शरीरको प्रतिरक्षा प्रणालीमा देखिने गडबडीले बाथरोग हुने र त्यसले शरीरका विभिन्न अङ्गमा असर गर्ने हुँदा समयमै निदान गरेर असर न्यून पार्न सकिने उहाँको भनाइ थियो ।
डा. वैद्यले भिटामिन ‘डी’को कमी देखिए पनि त्यसको स्पष्ट असर नदेखिएको भन्दै यो कुनै नयाँ जैविक ‘इभोल्युसन’ को संकेत हुनसक्ने विचार व्यक्त गर्नुभयो । ‘कमी त पक्का देखिएको छ, तर असर देखिएको छैन’—उहाँले भन्नुभयो—‘सायद हामी अहिले त्यसको परीक्षण गर्न छाडेका छौँ वा यो जैविक अनुकूलनको नयाँ रूप हुन सक्छ ।’
बिरामीमा पनि चाहिन्छ सचेतना
सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले बाथरोग उपचारमा बिरामीहरू आफैँ पनि सचेत हुनु पर्नेमा जोड दिनुभयो । ‘हामी केवल नाफा होइन, सचेतना फैलाउने उद्देश्यले काम गर्छौं’—उहाँले भन्नुभयो ।
कक्षपतिले औषधि सेवन चिकित्सकको सल्लाहअनुसार मात्र गर्नुपर्ने र कम वा बढी खाएमा असर पर्ने भएकाले सचेत रहनुपर्नेमा जोड दिनुभयो । ‘हामी सधैँ सचेतना अभियानमा जुटिरहेका हुन्छौँ’—उहाँले थप्नुभयो ।
उत्कृष्ट कर्मचारी तथा फेलोसिप प्राप्त चिकित्सकको सम्मान
वार्षिकोत्सवको अवसरमा सेन्टरले आफ्ना उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरेको छ । साथै, अन्तर्राष्ट्रिय पोष्ट डक्टरेट फेलोसिप इन क्लिनिकल र्यम्याटोली प्राप्त गरेका दुई जना चिकित्सकलाई विशेष सम्मान गरिएको थियो । यस वर्ष डा. मनिषा भोछिभोया र डा. आदिप अरुण श्रेष्ठले फेलोसिप पाउनुभएको छ । विगत दुई वर्षदेखि सेन्टरले लेडी हार्डीङ मेडिकल कलेज दिल्लीका प्रा.डा. घनश्याम पाण्डे र मेदान्ता इन्डोरका डा. शौरभ माल्भियासँग सहकार्य गर्दै पोष्ट डक्टरेट फेलोसिप इन क्लिनिकल र्यम्याटोली कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सेवा विस्तार गर्दै सेन्टर
सेन्टरका अनुसार हाल देशभर ८ वटा शाखाबाट सेवा दिइँदै आएको छ । साथै, ११ जना बाथरोग विशेषज्ञ चिकित्सकसहित १०८ जना दक्ष जनशक्ति कार्यरत छन् । आगामी दिनमा सेवा विस्तार र परिस्कृत बनाउन संस्थाले रणनीति तयार पारेको पनि प्रबन्ध निर्देशक कक्षपतिले जानकारी दिनुभयो ।\
पाँच लाख बिरामीलाई सेवा
१२ वर्षे यात्रामा बाथरोगको उपचार, अनुसन्धान, सचेतना र प्रविधिको संयोजनमार्फत अगाडि बढेको सेन्टरले अब डिजिटल माध्यममार्फत सेवा पहुँच वृद्धि गर्ने लक्ष्य लिएको छ ।

खाद्यपुरक र न्युट्रास्युटिकलको व्यापारः उपभोक्ताको ढाड सेकिने, व्यापारी धनी हुने
शनिबार, जेठ ३१, २०८२
'म हाँसि हाँसि जेल जाँदैछु': मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भावुक अभिव्यक्ति
शुक्रबार, जेठ ३०, २०८२
गुरुको शल्यक्रिया, शिष्यका हातः आफ्नै विद्यार्थीबाट डा. वसन्त पन्तको शल्यक्रिया
शुक्रबार, जेठ ३०, २०८२