नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवसायीहरुको जायज माग वेवास्ता हुँदा आएको आक्रोशसहित उनीहरूले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको राजीनामा माग गरेका छन् ।
व्यवसायीहरूले आज बिहान ११ देखि १२ बजेसम्म एक घण्टा देशभरका आयात, थोक तथा खुद्रा फार्मेसी पूर्ण रूपमा बन्द गर्दै विभागको प्राङ्गणमा विरोध प्रदर्शन गरेका थिए ।
विरोधका क्रममा आन्दोलनकारीले विभागको मुख्य गेटमा ताला समेत लगाए। विभागभित्र बसिरहेको प्रहरी टोलीले ताला खोलेपछि महानिर्देशक ढकाल स्वयं आन्दोलनस्थलमा आएर व्यवसायीहरूसँग संवाद गर्नुभयो। आफ्ना माग सम्बोधनका लागि विभाग सक्रिय रहेकाले फार्मेसी बन्द नगर्न उहाँले आग्रह गर्नुभयो ।
तर व्यवसायीहरूले लिखित रूपमा प्रक्रिया अघि नबढाएसम्म आन्दोलन नरोकिने अडान लिएपछि संघर्ष समितिका संयोजक श्रीधर खनाल, सदस्यसचिव शुभमान श्रेष्ठ तथा नेपाल पशुपन्छी औषधि व्यवसायी संघ, नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघसहितका प्रतिनिधिहरूले विभागसँग औपचारिक वार्ता सुरु गरे ।
वार्ता हाल महानिर्देशकको कार्यकक्षमै जारी छ । संघर्ष समितिका सदस्यसचिव शुभमान श्रेष्ठका अनुसार भविष्यमा सिर्जना हुनसक्ने सबै व्यवसायिक समस्याबाट नरोकिने समाधान खोज्न ‘वार कि पार’ को अडानसहित व्यवसायी वार्तामा बसेका छन्।
उनीहरूको मुख्य मागमा औषधि ऐन २०३५ को दफा ११ (३) संशोधन र उपदफा (५) खारेज प्रमुख रूपमा परेका छन् । यिनै मुद्दालाई लिएर ‘राष्ट्रिय संयुक्त औषधि व्यवसाय संरक्षण समिति’ले मंसिर ११ देखि देशव्यापी आन्दोलन सञ्चालन गर्दै आएको छ जसको नेतृत्व नेपाल औषधि व्यवसायी संघका केन्द्रीय महासचिव श्रीधर खनालले गर्नुभएको छ ।
व्यवसायीहरूले औषधि नीतिमा देखिएका व्यवहारिक जटिलता तथा नियमन सम्बन्धी अस्पष्ट नियमले आफूहरूलाई निरन्तर समस्या परेको भन्दै सरकार तथा विभागले यसपटक ठोस र जिम्मेवार निर्णय लिनुपर्ने माग दोहोर्याएका छन् ।
राष्ट्रिय औषधि व्यवसाय संरक्षण समितिको सरकारलाई आग्रहः 'सहमति समयमै कार्यान्वयन होस्'
मंगलबार, मंसिर १६, २०८२
औषधि व्यवसायी र सरकारबीच लिखित सहमति, आन्दोलन फिर्ता (सहमति पत्रसहित)
सोमबार, मंसिर १५, २०८२
औषधि व्यवसायीको माग सुनुवाई भएन, आन्दोलन यथावत, आज पनि विरोध कार्यक्रम
शुक्रबार, मंसिर १२, २०८२

