नेपाल हेल्थ न्युज, काठमाडौं । केही मानिसहरू बिहानै उठ्नेबित्तिकै नुहाउन रुचाउँछन् भने अरूलाई राति सुतेर अघि शरीर ताजा बनाउन मन पर्छ। यति साधारण लाग्ने यो बानीले पनि मानिसहरूलाई दुई कित्तामा विभाजित गरेको देखिन्छ। त्यसो त, अमेरिकामा झण्डै एक तिहाइ मानिसले दैनिक रूपमा नुहाउँदैनन् भन्ने तथ्य पनि रोचक छ। अब प्रश्न उठ्छ स्वास्थ्यका हिसाबले कुन समय नुहाउनु राम्रो ?
नुहाउँदा शरीरमा के–के फाइदा ?
दिनभर धुलो, पसिना र वातावरणबाट आएका प्रदूषकहरू छालामा बस्छन्। नुहाउँदा यी फोहोरहरू हट्छन्। पसिनाले आफैँ दुर्गन्ध पैदा नगरे पनि छालामा बस्ने लाखौँ सूक्ष्म जीवहरूले त्यसलाई गन्धयुक्त बनाउँछन्। त्यसैले कतिलाई राति नुहाएर सफा ओछ्यानमा सुत्नु राम्रो लाग्छ।
तर वैज्ञानिकहरूको तर्क के भन्छ ?
माइक्रोबायोलोजिस्ट प्रिमरोज फ्रीस्टोनका अनुसार, राति नुहाए पनि निद्राको समयमा शरीरले फेरि पसिना निकाल्छ र त्यसबाट सूक्ष्म जीवहरू सक्रिय भइरहन्छन्। त्यसैले बिहान उठ्दा फेरि हल्का दुर्गन्ध आउन सक्छ।
ओछ्यान सफा राख्नु मुख्य कुरो
राति नुहाउनेहरूको एउटा फाइदा त निश्चय नै छ, सफा शरीर लिएर ओछ्यानमा पस्ने। तर यो फाइदा त्यतिबेला मात्र प्रबल हुन्छ जब ओछ्यान पनि नियमित रूपमा सफा गरिन्छ।
तन्ना, सिरक, तकियामा बस्ने ब्याक्टेरिया हप्तौँसम्म सक्रिय रहन सक्छन्, र ओसिलो अवस्थामा ढुसी समेत विकास हुन सक्छ। एलर्जी हुनेहरूका लागि यो झनै समस्या बन्न सक्छ, किनकि ओछ्यानमा रहेको धुलो र ढुसीले श्वासप्रश्वाससम्बन्धी समस्या तीव्र पार्न सक्छ।
निद्रामा मद्दत गर्छ रातिको स्नान
कति अध्ययनले देखाएका छन् कि सुत्नुभन्दा करिब एक–दुई घण्टा अघि १० मिनेट जति तातो पानीले नुहाउँदा शरीरको तापक्रम घट्ने क्रममा शरीरले ‘अब सुते हुन्छ’ भन्ने संकेत पाउँछ, जसले छिट्टै निद्रा लाग्न मद्दत गर्छ।
बिहान नुहाउनु कि राति ?
फ्रीस्टोनको धारणा छ, बिहान नुहाउनुले रातभर जम्मा भएको पसिना र सूक्ष्म जीवहरू हटाएर दिनको सुरुवात ताजा बनाउँछ। तर स्वास्थ्यका हिसाबले कुन बेला नुहाउने भन्ने कुरा अत्यन्तै ठूलो फरक पार्ने विषय होइन। तपाईंले कुन समयमा आफूलाई सहज लाग्छ त्यही रोजाई उपयुक्त हुन्छ।
विशेषज्ञहरूको भनाइमा दैनिक रूपमा शरीरका संवेदनशील भागहरू सफा गर्ने हो भने हप्तामा दुई पटक मात्र पुरै स्नान गर्नु स्वास्थ्यका लागि पर्याप्त मानिन्छ। कामको स्वरूपले पनि नुहाउने समय फरक पर्न सक्छ जस्तै, खेतबारीमा काम गर्ने व्यक्तिले सायदै साँझ नुहाउन रुचाउनेछन्। तर समग्रमा हेर्दा ओछ्यान सफा राख्नु सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। बीबीसी
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२

