नेभिगेशन

कम्मर दुखाइलाई कम गर्ने सजिलो उपाय — सीटेड साल्सा

कुर्सीमै बसेर हुने सरल तर प्रभावकारी व्यायाम

नेपाल हेल्थ न्युज, काठमाडौं । विश्वभर लाखौँ मानिस तल्लो ढाड (कम्मर) दुख्ने समस्याबाट पीडित छन् । सामान्य दैनिक क्रियाकलापः जस्तै जुत्ता बाँध्न निहुरिँदा, अचानक चसक्क दुखाइ हुने अनुभव धेरैका लागि परिचितै कुरा हो। यस्तै समस्या भोग्नेको संख्या विश्वमा करिब ६२ करोडको हाराहारीमा पुगेको अनुमान छ।

यद्यपि, विशेषज्ञहरू भन्छन्, यसलाई कम गर्न एकदम सरल, सजिलै गर्न मिल्ने अभ्यास छ, जसलाई ‘सीटेड साल्सा’ भनिन्छ। यसको विशेषता के छ भने, यो गर्न तपाईंले उठ्ने–बस्ने झन्झट पनि मान्नुपर्दैन कुर्सीमा बस्ने क्रममा नै गर्न मिल्छ।

ढाड दुखाइ किन आम समस्या हो ?

तल्लो ढाड शरीरको तल्लो भाग र पेल्भिसबीच पर्ने क्षेत्र हो, जहाँ वजन, धूम्रपानको बानी, वा पारिवारिक इतिहासको कारणले समस्या बढी देखिन्छ। म्यान्चेस्टर मेट्रोपोलिटन विश्वविद्यालयका फिजियोथेरापी विशेषज्ञ क्रिस म्याकार्थीका अनुसार, धेरैजसो समस्या मेरुदण्डका अन्तिम दुई भर्टिब्रामा केन्द्रित हुन्छ, जसले शरीरको ठूलो भार थेगिरहेको हुन्छ।

मेरुदण्ड ३३ वटा हड्डी (भर्टिब्रे) ले बनेको हुन्छ, जसबीचमा ‘डिस्क’ हुन्छन्, जसले शरीर चल्दा हुने धक्का सोस्ने काम गर्छन्। तर तल्लो भागका मांसपेशीहरू कडा भएमा ढाड एकदमै कठोर र पीडादायी बन्दै जान्छ।

सीटेड साल्सा कसरी फाइदाजनक ?

पेल्भिसलाई हल्का घुमाएर दायाँ–बायाँ ‘रिदम’ मा चलाइने यो अभ्यास साल्सा नृत्यको शैलीसँग मिल्दोजुल्दो छ। यसले कडा भइसकेका तल्लो ढाडका मांसपेशीलाई बिस्तारै सक्रिय बनाउँछ र दुखाइ चक्र तोड्न मद्दत गर्छ।

अभ्यास गर्नः

  • कुर्सीमा सिधा बसेर दुवै खुट्टा भुइँमा मजबुत राख्नुहोस्।
  • काँध स्थिर राख्दै दायाँ घुँडा अगाडि र बायाँ घुँडा पछाडि तान्नुहोस्।
  • फेरि उल्टो क्रिया दोहोर्याउनुहोस्।
  • यो गतिलाई एक मिनेटसम्म जारी राख्नुहोस्।

अध्ययनका प्रारम्भिक नतिजाले देखाएको छ कि हरेक ३० मिनेटमा एक मिनेट मात्र यस्तो गतिविधि गर्दा पनि मांसपेशी कडापन घट्ने र आराम अनुभव हुने पाइएको छ।

कसका लागि उपयुक्त ?

– लामो समय कुर्सीमा बस्ने कर्मचारी
– बुढ्यौलीमा कम चल्न सक्ने व्यक्ति
– शल्यक्रियापछि धेरै हलचल गर्न नसक्ने बिरामी

नियमित रुपमा शरीर चलिरहने बानीले दीर्घकालीन रुपमा स्वास्थ्यमा सकारात्मक असर पार्ने चिकित्सकहरूको भनाइ छ।
यदि कसैलाई उठेर स्ट्रेचिङ गर्न कठिन लाग्छ भने, सीटेड साल्सा जस्ता बसेर गर्ने व्यायामहरू उत्तम विकल्प हुन सक्छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष