नेभिगेशन

लियोनार्दो फाउन्डेसन : साना जीवनहरूमा आशाको उज्यालो

नेपाल हेल्थ न्युज, काठमाडौं । ती साना आँखा, नाजुक हातहरू र भोलिको सपना बोकेर जन्मिएको थियो एउटा सानो जीवन — लियोनार्दो एडवर्ड श्रेष्ठ । तर जीवन कहिल्यै सहज हुँदैन। जन्मेको चार महिनामै उनको मस्तिष्कमा ट्युमर देखियो। अमेरिकामा उपचारका सबै प्रयासहरू असफल भए र सन् २०१९ को अक्टोबर ३१ मा लियोनार्दोले यो संसार छाडे । साढे आठ महिनाको नानीको असामयिक बिदाइले परिवारलाई मात्र होइन, सम्पूर्ण समाजलाई पनि भित्रभित्रै छोयो ।

तर लियोनार्दोको सम्झनाले एउटा नयाँ आशा जन्मायो—‘लियोनार्दो एडवर्ड श्रेष्ठ फाउन्डेसन ।’ पाँच वर्षअघि अमेरिकाको मिनेसोटामा स्थापना भएको यो फाउन्डेसन, आज नेपालका क्यान्सर पीडित बालबालिकाहरूको जीवनमा न्यानोपन र भरोसा बोकेर आइपुगेको छ ।

बिरामी र उनका अभिभावकहरूलाई खाने र बस्ने व्यवस्था गर्न हामीले यो काम थालेका हौं । १८ वर्ष मुनिका बालबालिकाहरूलाई निःशुल्क सेवा दिन्छौं । सरकारको एक लाख रुपैयाँको सहयोग मात्र अपुग भएकाले, कहिलेकाँहीं उपचार खर्च र शव घर पु¥याउने गाडी भाडासमेत हामी मिलाउँछौं ।

आज, काठमाडौँको धापासी, भक्तपुर र ललितपुरमा भाडाका घरहरूमा ३४ जना बालबालिकाका परिवारहरू बसिरहेका छन् । ठाउँको अभावमा पाँच बालबालिकालाई त छुट्टै कोठा भाडामा लिएर मासिक खर्च दिइएको छ । प्रत्येक महिनामा साढे ६ लाख रुपैयाँभन्दा बढी खर्च हुन्छ — घरभाडा, खाना, उपचार र अन्य व्यवस्थापनमा ।

फाउन्डेसनले अमेरिकामा बसेका सुनील श्रेष्ठ (लियोनार्दोका बुवा) र त्यहाँका साथीभाइहरूबाट सहयोग उठाएर नेपाल पठाउँछन् । हाल नेपालका केही बैंकहरू र होटलहरूले पनि सहयोग गर्न थालेका छन् । अहिलेसम्म २१५ जना बालबालिकाले यो सेवाको लाभ लिइसकेका छन् ।

तर संघर्ष अझै बाँकी छ । ‘हरेक महिनाको दुई लाख रूपैयाँ घरभाडा तिर्नै पर्छ । सरकारले क्यान्सर पीडित बालबालिकाहरूका लागि आवास र यातायातको उचित व्यवस्था गर्नुपर्छ । सरकारले १४ वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचार दिने भनेपनि, सबै अस्पतालमा कार्यान्वयन हुन सकेको छैन ।

फाउन्डेसनले उपचारका क्रममा आवश्यक परेको थप खर्च—१० देखि १५ हजार रूपैयाँसम्म र घर फर्किने क्रममा गाडी भाडासमेत सहयोग गर्छ । वार्षिक सम्झौताअनुसार समाज कल्याण परिषद्र्फत रकम पठाइन्छ र सबै खर्च विवरण नियमित रूपमा पेस गरिन्छ। बच्चाहरूको फोटो, उपचारको प्रगति, बिल र अन्य कागजातसमेत सँगै पठाइन्छ ।

संसारबाट चाँडै बिदा भएका साना लियोनार्दोको स्मृतिले आज सयौं बालबालिकाहरूलाई जीवनको अर्को मौका दिइरहेको छ । उनको नाउँमा बगेका आँसुहरू, आज आशाको बिउ बनिरहेका छन् ।
 

                    (श्रेष्ठ लियोनार्दो एडवर्ड श्रेष्ठ फाउन्डेसन नेपालकी अध्यक्ष हुनुहुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य लेख