नेभिगेशन
आज विश्व मस्तिष्क ट्युमर दिवस २०२५

नेपालमा पहिलोपटक मस्तिष्क ट्युमरसम्बन्धी राष्ट्रिय तथ्याङ्क सार्वजनिक

‘सबै उमेरका लागि मस्तिष्क स्वास्थ्य’ नारासहित विश्व मस्तिष्क ट्युमर दिवस–२०२५ मनाइँदै

नेपाल हेल्थ न्युज, काठमाडौँ । आज विश्व मस्तिष्क ट्युमर दिवस (जुन ८) ‘सबै उमेरका लागि मस्तिष्क स्वास्थ्य’ भन्ने नारासहित मनाइँदैछ । यस वर्षको दिवसले मस्तिष्क ट्युमरको प्रारम्भिक पहिचान तथा समग्र स्नायु स्वास्थ्य प्रवद्र्धनका लागि विश्व स्वास्थ्य संगठन (डब्लएचओ) को दृष्टिकोणलाई समेत समर्थन गर्दछ । यही अवसरमा नेपालमा पहिलोपटक मस्तिष्क ट्युमरसम्बन्धी राष्ट्रिय स्तरको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

यो ऐतिहासिक कार्यले नेपालको स्नायुरोग सम्बन्धी अनुसन्धान र स्वास्थ्य नीति निर्माणको क्षेत्रमा नयाँ युगको सुरुवात् गराएको छ । तथ्याङ्क सार्वजनिक गर्दै नेशनल ब्रेन ट्युमर सेन्टरका संस्थापक अध्यक्ष तथा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स) बीर अस्पतालका न्युरो सर्जरी विभाग प्रमुख प्रा.डा. राजिव झाले यस उपलब्धिलाई “गौरवमय र परिवर्तनकारी पाइला” भनेका छन् ।

१७३९ बिरामीको तथ्याङ्क संकलन
देशभरका २० भन्दा बढी न्युरो सर्जिकल केन्द्रहरुमार्फत संकलित तथ्याङ्क अनुसार नेपालमा वार्षिक मस्तिष्क ट्युमरका नयाँ बिरामीको संख्या करिब २,५०० देखि २,६०० हुने अनुमान गरिएको छ । प्रति लाख जनसंख्यामा मस्तिष्क ट्युमरको इन्सिडेन्स दर ११.४ देखि ११.८ रहेको देखिएको छ ।

प्रा. झाका अनुसार, “नेपालमा पहिलोपटक व्यापक रूपमा संकलन गरिएको यस तथ्याङ्क हाम्रो स्वास्थ्य प्रणालीलाई तथ्यमा आधारित नीति निर्माण र दीर्घकालीन योजना बनाउने दिशामा लैजान मद्दत पुर्याउनेछ ।”


brain-tummer-day-2025-1749366149.jpg
उमेर, लक्षण र क्षेत्रगत वितरण
अध्ययन अनुसार, महिला र पुरुष दुवैमा मस्तिष्क ट्युमरको जोखिम समान रहेको छ । बिरामीहरुको औसत उमेर ४६.३२ वर्ष पाइएको छ जसमा ४० देखि ५० वर्ष उमेर समूहमा सबैभन्दा बढी ट्युमर पत्ता लागेका छन् । यसले तुलनात्मक रूपमा कम उमेरमै मस्तिष्क ट्युमर हुने प्रवृत्ति देखाउँछ ।

तथ्याङ्कमा उल्लेख भएअनुसार, बिरामीमध्ये ५८ प्रतिशतमा टाउको दुख्ने, ३६ प्रतिशतमा वान्ता हुने र अन्यमा बेहोस हुने, पक्षाघात तथा टाउको घुम्ने (भर्टिगो) लगायतका लक्षण देखिएका छन् ।क्षेत्रगत रूपमा बागमती र मधेश प्रदेशमा सबैभन्दा बढी मस्तिष्क ट्युमरका बिरामीहरू पाइएको उल्लेख गरिएको छ ।

ट्युमरका प्रमुख प्रकार
मस्तिष्क ट्युमरका विभिन्न प्रकारमध्ये सबैभन्दा बढी ग्लायोमा (३९%) देखिएको छ । तीमध्ये ५६ प्रतिशत उच्च ग्रेड ग्लायोमा पाइएको छ जसमा शल्यक्रिया, विकिरण ( रेडिएसन थेरापी) र कीमोथेरापी आवश्यक पर्छ । उपचारको परिणाम भने तुलनात्मक रूपमा कमजोर हुने प्रा. झाको भनाइ छ । अन्य ट्युमरहरूमा मेनिन्जियोमा २१% र पिट्युटरी ट्युमर ८% बिरामीमा देखिएको तथ्याङ्कले देखाउँछ ।

उपचारको अवस्था सुधारोन्मुख
हाल नेपालमा न्युरो विज्ञान र प्रविधिको विकासका कारण मस्तिष्क ट्युमरको उपचारमा सुधार आएको देखिएको छ । पर्याप्त विशेषज्ञ जनशक्ति, न्युरो सर्जिकल केन्द्रहरूको विस्तार तथा प्रविधिमा आएको प्रगति यसको मुख्य कारण रहेको बताइएको छ ।

प्रा. झाका अनुसार, “अब हामी सर्जरीबिना उपचार गर्न सक्ने प्रविधिको सम्भावनामा पनि आशावादी छौं ।”

अनुसन्धान, चेतना र नीति निर्माणमा योगदान
यस ऐतिहासिक तथ्यांकले मस्तिष्क ट्युमरसम्बन्धी नयाँ अनुसन्धान, जनचेतना अभिवृद्धि तथा नीतिगत निर्णयमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । मस्तिष्क स्वास्थ्य सबै उमेर समूहका लागि महत्त्वपूर्ण रहेको सन्देशसहित मनाइएको आजको दिवसले नेपालको स्नायुरोग सम्बन्धी स्वास्थ्य सेवा र अनुसन्धानलाई दीर्घकालीन दिशामा अघि बढाउने विश्वास लिइएको छ ।


वीर अस्पताल : ब्रेन ट्युमर उपचारको पहिलो मोर्चा
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले ब्रेन ट्युमर दिवसलाई उत्सव नभई चेतनामूलक दिनको रूपमा लिनुपर्ने बताए । “यो दिवस उत्सवको लागि होइन, चेतावनीको लागि हो—रोग लाग्न नदिने मनोभावका साथ मनाउनु हो,” मन्त्री पौडेलको भनाइ थियो ।
उहाँले भने, “ब्रेन ट्युमर भयो भन्दैमा डराउनु हुँदैन । वीर अस्पताल जस्ता सरकारी संस्थान उपचारका लागि अगाडि छन् ।” उहाँले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मार्फत जनशक्ति उत्पादनमा वीर अस्पतालको अग्रणी भूमिका रहेको पनि स्मरण गराए ।

यस्तै, न्याम्सका उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेतले वीर अस्पताललाई नेपालमा न्यूरो सर्जरीको इतिहास सुरु गर्ने संस्था भएको उल्लेख गरे । “आजभन्दा धेरै वर्षअगाडि हप्तामा एक–दुईवटा मात्र सर्जरी हुने गर्दथ्यो । अहिलेको दिनमा हप्तामा चार–पाँच वटा सर्जरी नियमित भइरहेका छन्,” उनले बताए ।

समयमै अप्रेसनको आवश्यकता
वीर अस्पतालमा न्यूरो सर्जरी विभाग विस्तारसँगै सर्जरीको संख्या मात्र होइन, गुणस्तर पनि बढेको छ ।  बस्नेतको भनाइमा, “हप्ताको छ दिन सर्जरी हुने व्यवस्था गर्न सक्यौँ भने बिरामीले लामो समय पर्खनुपर्ने अवस्था हट्छ ।” यो प्रयासले ट्युमर बढ्न नपाउँदै समयमै हटाउने अवसर पनि दिन सक्छ, जसले बिरामीको जीवन मात्रै होइन, मानसिक तनाव र आर्थिक भार पनि कम गर्न सक्छ ।

स्वास्थ्य प्रणालीका चुनौती
नेपालमा ब्रेन ट्युमरको उपचार सम्भव भए पनि चुनौतीहरू प्रशस्तै छन् । धेरैजसो बिरामीले सुरुवाती लक्षणलाई सामान्य टाउको दुखाइ वा थकानका रूपमा लिने गर्छन्। जबसम्म अवस्था गम्भीर हुँदैन, तबसम्म अस्पताल पुगिंदैन । साथै, आधुनिक इमेजिङ ( एमआरआई ,सिटीस्क्यान) परीक्षण महँगो भएकाले धेरै बिरामी ढिलो गरी निदानमा पुग्छन् । उपचार खर्च पनि धेरै हुने भएकाले मध्यम वर्ग र गरिबका लागि सरकारी अस्पताल नै भरोसाको केन्द्र बन्छ ।

चेतनाको जरुरत
 

ब्रेन ट्युमर दिवसको अवसरमा प्रभातफेरीको आयोजना गरिएको थियो । प्रभातफेरीपछि आयोजित विशेष कार्यक्रममा विशेषज्ञ चिकित्सक र सरकारी अधिकारीहरू सहभागी थिए । उनीहरूले यस किसिमका रोगप्रति जनचेतना फैलाउनु सबैभन्दा महत्त्वपूर्ण काम भएकोमा जोड दिए ।

डा. राजीव झा, राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष, भन्छन्, “हामीकहाँ ग्लायोमा सबैभन्दा बढी देखिन्छ भन्ने तथ्य आफैँमा चेतावनी हो । यस्तो ट्युमर समयमै थाहा पाएर उपचार गर्न सकिन्छ । तर ढिलाइ भएमा रोग जटिल बन्छ ।”

निष्कर्षः चेतना र उपचारको सन्तुलन
ब्रेन ट्युमर कुनै एक दिनमा लाग्ने रोग होइन । यसको विकास मस्तिष्कभित्र चुपचाप हुन्छ । त्यसैले समयमै लक्षण बुझ्ने, चिकित्सकसँग सल्लाह गर्ने, अनि सरकारी अस्पतालहरूको पहुँच प्रयोग गर्ने चेतना विकास गर्नु अत्यावश्यक छ ।
ब्रेन ट्युमर दिवस कुनै पर्व होइन—यो चेतावनी दिने दिन हो । ताकि हामी सबले बुझ्न सकौँ, जिन्दगीको ४६ औँ दशकमा मस्तिष्कभित्र लुकेको खतरा पहिचान गर्ने हाम्रो जिम्मेवारी हो । 
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

पुरुषोत्तम घिमिरे विगत २५ वर्षदेखि स्वास्थ्य पत्रकारिता गर्दै आउनुभएको छ ।  

थप रिपोर्ट विशेष