दैनिक जीवनमा सजिलै उपलब्ध हुने फलमध्ये केरा एक हो। सस्तो, स्वादिलो र छिटो पच्ने भएकाले केरा नेपाली उपभोक्ताको रोजाइमा पर्ने फलमध्ये पर्दछ। तर यो फल सबैका लागि उपयुक्त हुन्छ त ?
पोषणविद्हरूका अनुसार केरामा शरीरका लागि अत्यावश्यक तत्वहरू प्रशस्त पाइन्छन्। यसको सेवनले शरीरमा शक्ति, सन्तुलन र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ। तर कतिपय अवस्थाहरूमा केरा सावधानीका साथ मात्र सेवन गर्नुपर्ने पनि विज्ञहरूको चेतावनी छ।
केरामा के पाइन्छ ?
पोषण विज्ञहरूका अनुसार केरामा प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, भिटामिन बी ६, भिटामिन सी, पोटासियम र एन्टिअक्सिडेन्ट पाइन्छ। यी तत्वहरूले मुटु, मस्तिष्क, आन्द्रा र छालाको स्वास्थ्यलाई सहयोग पुर्याउँछन्।
विशेषगरी खेलाडीहरू, वृद्धवृद्धा, गर्भवती महिला र विद्यार्थीहरूका लागि केरा ऊर्जा दिने प्रमुख स्रोतको रूपमा लिइन्छ।
किन सावधानी आवश्यक ?
तर चिकित्सकहरू भन्छन् — सबैका लागि केरा लाभदायक नहुन सक्छ। मधुमेह (डायबिटिज) का बिरामी, जसको रगतमा चिनीको मात्रा बढी हुन्छ, तिनीहरूले धेरै केरा खानुहुँदैन। केरामा हुने प्राकृतिक चिनी (ग्लुकोज र फ्रुक्टोज) को मात्रा उच्च हुने भएकाले रक्तचाप र चिनीको स्तरमा असर गर्न सक्छ।
त्यस्तै, गम्भीर किड्नी रोग भएका बिरामीले पनि केराबाट टाढा रहनुपर्ने हुन्छ। पोटासियमको मात्रा बढी हुँदा मिर्गौलाले फिल्टर गर्न सक्ने क्षमतामा असर पर्न सक्छ।
'केरालाई हामी ‘नेचुरल इनर्जी बार’ पनि भन्न सक्छौं, तर यसलाई सबैले एकै प्रकारले सेवन गर्न मिल्दैन'-आहार विशेषज्ञ डा.रचना पन्त भन्नुहुन्छ -'रोगीले मात्र होइन, केही अवस्थामा स्वस्थ व्यक्तिले पनि सावधानी अपनाउनुपर्छ।'
अनुसन्धान के भन्छन् ?
अमेरिकन हार्ट एसोसिएसनले पोटासियमले मुटुमा सकारात्मक असर पार्ने बताएको छ। यसले उच्च रक्तचाप घटाउन सहयोग गर्छ।British Journal of Nutrition मा प्रकाशित एक अध्ययनले केरामा हुने फाइबर (resistant starch) ले आन्द्राको स्वास्थ्य सुधार गर्ने प्रमाणित गरेको छ। यस्तै, केही अनुसन्धानले केरामा ट्रिप्टोफान हुने देखाएका छन् जसले मस्तिष्कमा ‘सेरोटोनिन’ उत्पादन गरी मानसिक सन्तुलनमा सहयोग पुर्याउने बताइएको छ। केरामा पाइने एंटीअक्सिडेन्ट र फाइटोकेमिकलहरूले क्यान्सरजन्य कोषहरू विरुद्ध लड्ने क्षमता देखाएका छन्।
सजग उपभोग जरुरी
पोषणविद् पन्त भन्नुहुन्छ-'हामीले प्रायः बिहानको खाजामा वा बेलुकाको तात्तातो दूधसँग केरा खान सल्लाह दिन्छौं। तर, जो कोहीले एकै किसिमले केरा खाइहाल्नु हुँदैन। अवस्था अनुसार खाने तरिका फरक हुन्छ।'
डाक्टरहरूका अनुसार स्वस्थ व्यक्तिले दिनमा १–२ वटा केरा सेवन गर्न सक्दछन्। रोगीले भने आफ्नो अवस्थाअनुसार चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।
अतः सस्तो, सुलभ र स्वास्थ्यवर्धक मानिने केरा सबैका लागि लाभदायक हुन सक्छ। तर, यसको उपभोग गर्नुअघि आफ्नो स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्न आवश्यक हुन्छ। जानीबुझी खानुहोस् ।
कुन तेल प्रयोग गर्ने ? विशेषज्ञको सल्लाह यस्ता छन्
आइतबार, असोज २६, २०८२
स्वास्थ्यको लागि लाभदायक: तितो र टर्रो स्वादका खानेकुराहरूको प्रभाव
सोमबार, असोज ६, २०८२
के चकलेट खाँदा डन्डीफोर आउँछ ? वा त्यो भ्रम मात्रै हो
मंगलबार, भदौ १७, २०८२

