नेभिगेशन

गर्मीको राजा लिचीः स्वादिलो मात्रै होइन, स्वास्थ्यवर्धक पनि !

नेपाल हेल्थ न्युज । गर्मीको मौसम सुरु भएसँगै बजारमा रसिलो र मीठो लिचीले ठाउँ लिएको छ । स्वादका लागि लोकप्रिय मानिने यो फल स्वास्थ्यका हिसाबले पनि निकै लाभदायक हुने विशेषज्ञहरू बताउँछन् । लिची नामको यो फल विशेषगरी गर्मीमा फल्ने गर्छ । नेपाल, भारत, चीनलगायत देशहरूमा यसको उत्पादन र खपत हुने गरेको छ । रातो रङको बाक्लो छालाभित्र लुकेको सेतो र रसिलो गुदीले लिचीलाई मनपर्ने फलको रूपमा स्थापित बनाएको छ ।

भिटामिन सी को भण्डार
स्वास्थ्य विशेषज्ञहरूका अनुसार लिची भिटामिन सी को उत्तम स्रोत हो । १०० ग्राम लिचीमा करिब ७० मिलीग्रामसम्म भिटामिन सी हुन्छ जुन दैनिक आवश्यकताभन्दा बढी हो । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने, छालालाई स्वस्थ राख्ने र संक्रमणबाट जोगाउने काम गर्छ । ‘गर्मीमा डिहाइड्रेशन हुने समस्या लिचीले कम गर्छ । यसको सेवनले शरीरमा पानीको मात्रा सन्तुलनमा रहन्छ पोषणविद् डा. सरिता खरेल भन्नहुन्छ ।’

litchi3-1749726011.jpg
 

अनुसन्धानहरू के भन्छन् ?

अन्तर्राष्ट्रिय अनुसन्धानहरूले पनि लिचीलाई स्वास्थ्यका लागि लाभदायक मानेका छन् ।  जर्नल अफ फूड साइन्समा प्रकाशित एक अध्ययन अनुसार, लिचीले एन्टिअक्सिडेन्टको काम गर्छ जसले क्यान्सर र मुटुरोगको जोखिम घटाउँछ । यस्तै जर्नल अफ इथ्नोफर्माकोलोजीले लिचीमा पाइने फ्लाभोनोइड्स र पोलिफेनोल्सले शारीरिक कोषहरूमा हुने अस्वाभाविक परिवर्तनलाई रोक्ने देखाएको छ ।

कसलाई खानु हुँदैन ?
तर लिची सबैका लागि उपयुक्त छैन । विशेषगरी मधुमेहका रोगीहरूका लागि यो फल हानिकारक हुन सक्छ । लिचीमा चिनीको मात्रा बढी हुने भएकाले ब्लड सुगर बढ्न सक्छ । ‘मधुमेह भएका बिरामीहरूले लिची सीमित मात्रामा खानुपर्छ’—डा. खरेल सुझाउनुहुन्छ ।

यस्तै भोकै पेट लिची खानु पनि खतरनाक हुनसक्छ । भारतको बिहार राज्यमा भएको एक घटनामा दर्जनौँ बालबालिकाको मृत्यु भोकै पेट लिची खाएका कारण भएको प्रमाणित गरिएको थियो । अनुसन्धानअनुसार लिचीमा पाइने ’हाइपोग्लाइसिन ए’ र एमसीपीजी नामक रसायनले रगतमा चिनीको मात्रा घटाउँछ जसले हाइपोग्लाइसेमियाको अवस्था ल्याउँछ । ‘बालबालिकालाई भोकै पेट लिची खुवाउनु हुँदैन, विशेष सतर्कता अपनाउनुपर्छ’—बालरोग विशेषज्ञ डा. रञ्जित श्रेष्ठ भन्नुुहुन्छ ।

लिची खाने तरिका कस्तो हुनुपर्छ ?
विशेषज्ञहरूले लिची सन्तुलित मात्रामा खान सुझाव दिएका छन् । एकै पटक ५–१० वटा भन्दा बढी लिची नखानु उपयुक्त हुन्छ । अत्यधिक सेवनले पेट फुल्ने, ग्यास, एलर्जी लगायत समस्या निम्त्याउन सक्छ । साथै वात प्रकृतिका मानिसहरूले अत्यधिक लिची खाँदा अपच, चर्म समस्या वा पाचन गडबडी हुनसक्ने आयुर्वेदिक मत पनि रहेको छ ।

litchi-4-1749726030.jpg
 

स्वास्थ्यसँगै स्वादको राजा
लिची न केवल स्वादिलो छ । यो गर्मीमा शरीरलाई चिसो राख्न, रोगसँग लड्न र छालालाई चम्किलो बनाउन पनि प्रभावकारी छ । तर जस्तोसुकै लाभ भए पनि सन्तुलनको अभ्यास गरिनु अत्यावश्यक हुन्छ । लिचीको सिजन छोटो हुन्छ, तर यसको प्रभाव दीर्घकालीन । त्यसैले लिची सेवन गर्दा उमेर, स्वास्थ्य अवस्था र मात्रा विचार गर्नु बुद्धिमानी हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वाद पनि स्वास्थ्य पनि