नेपाल हेल्थ न्युज, काठमाडौं । यदि तपाईं खाना खाने बेला वा त्यसपछि तुरुन्तै कफी पिउनुहुन्छ भने, यो बानीले तपाईंको स्वास्थ्यमा असर पार्न सक्छ। वैज्ञानिक अध्ययनहरू अनुसार कफीमा पाइने क्याफिन, पोलिफेनोल र ट्यानिन जस्ता रासायनिक यौगिकहरूले शरीरमा पोषक तत्वहरूको अवशोषणमा बाधा पुर्याउन सक्छ।
कफी र पोषक तत्वको सम्बन्ध
युनिभर्सिटी कलेज लन्डनका पोषण वैज्ञानिक एलेक्स रुआनीका अनुसार, कफीले पोषक तत्वहरूको अवशोषण पूर्ण रूपमा रोक्दैन, तर केही मात्रामा कम गर्न सक्छ। यसको असर कफीको मात्रासँगै तपाईंको उमेर, चयापचय, स्वास्थ्य अवस्था र आनुवंशिकतासँग पनि जोडिएको हुन्छ। विशेष गरी आइरन (फलाम), क्याल्सियम र भिटामिन बी जस्ता पोषक तत्वहरू कफीको असरबाट प्रभावित हुन सक्छन्।
फलामको अवशोषणमा कफीको असर
फलाम शरीरको लागि अत्यावश्यक खनिज हो। तर, कफीमा पाइने पोलिफेनोलले विशेष गरी वनस्पति आधारित फलाम ९लयल(जझभ ष्चयल० लाई पाचन प्रक्रियामा बाँधिदिन्छ, जसका कारण शरीरले त्यसलाई अवशोषण गर्न सक्दैन। यसरी बाँधिएका खनिजहरू पिसाबमार्फत बाहिर जान्छन्। सुझावः आइरनयुक्त खाना खाएको कम्तिमा एक घण्टापछि मात्र कफी पिउनुहोस्।गर्भवती महिला र महिनावारी हुने उमेर समूहका महिलाहरूमा फलामको आवश्यकता बढी हुने भएकाले यस्ता समूहले विशेष सावधानी अपनाउनुपर्छ।

क्याल्सियम र हड्डीको स्वास्थ्यमा असर
क्याफिनले शरीरमा क्याल्सियमको सन्तुलनमा असर पार्न सक्छ। यसले मृगौलाको कार्यमा हस्तक्षेप गर्दै क्याल्सियमको उत्सर्जन बढाउँछ, जसले लामो समयसम्मको असरमा हड्डी कमजोर हुने खतरा ल्याउन सक्छ। विशेष ध्यानः क्याल्सियमको सेवन कम हुने मानिसहरूले कफीको मात्रा सिमित राख्नु उचित हुन्छ।
भिटामिन बी र बारम्बार पिसाब लाग्ने समस्या
कफीले पिसाबको मात्रा बढाउँछ, जसले पानीमा घुलनशील भिटामिनहरू (जस्तै, भिटामिन बी) शरीरबाट बाहिर निकाल्न सक्छ। यद्यपि शरीरमा ती भिटामिनहरू सधैं जम्मा नहुने भएकाले, यो समस्या कफीको अत्यधिक सेवनमा मात्र देखा पर्छ।
प्रोबायोटिक्स र कफीः एकैपटक नलिनुहोस्
प्रोबायोटिक्समा पाइने जीवित ब्याक्टेरिया गर्मीप्रति संवेदनशील हुन्छन्। त्यसैले कफी जस्ता तातो पेय पदार्थहरूसँग सँगै लिँदा तिनीहरूको प्रभाव घट्न सक्छ। सुझावः प्रोबायोटिक्स खाएको कम्तिमा ३० मिनेटपछि मात्र कफी पिउनुहोस्।
चिया कि कफी - कुन राम्रो ?
यदि तपाईं कफीको साटो चिया पिउन चाहनुहुन्छ भने, ध्यान दिनुहोस् कि चियामा पनि पोलिफेनोल हुन्छन्, जसले पोषक तत्वको अवशोषणमा कफी जस्तै प्रभाव पार्न सक्छ। त्यसैले चिया पिउने समय पनि सोचविचार गरेर छान्नुहोस्।

कफी स्वास्थ्यका लागि खराब होइन तर यसलाई कहिले र कसरी पिउने भन्ने कुरामा ध्यान दिन आवश्यक छ। खानासँगै वा तुरुन्तै कफी पिउनु भन्दा एक घण्टा अगाडि वा पछि पिउनु पोषणको दृष्टिले उपयुक्त मानिन्छ। सन्तुलित आहार, नियमित जीवनशैली र सही समयमा कफी सेवन गर्दा तपाईंले यसको स्वाद र ऊर्जा दुबैको भरपुर मजा लिन सक्नुहुन्छ।
कुन तेल प्रयोग गर्ने ? विशेषज्ञको सल्लाह यस्ता छन्
आइतबार, असोज २६, २०८२
स्वास्थ्यको लागि लाभदायक: तितो र टर्रो स्वादका खानेकुराहरूको प्रभाव
सोमबार, असोज ६, २०८२
के चकलेट खाँदा डन्डीफोर आउँछ ? वा त्यो भ्रम मात्रै हो
मंगलबार, भदौ १७, २०८२

