नेपाल हेल्थ न्युज, काठमाडौं । वरिष्ठ न्यूरो सर्जन प्रा.डा. वसन्त पन्तका लागि २०८२ जेठ २९ गतेको दिन एउटा ऐतिहासिक मोड बन्यो । अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेजमा कार्यरत डा. पन्तको गर्धनको हड्डीमा रहेको तीन तहको ‘हर्निएटेड डिस्क’ को जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो ।
यो सर्जरीलाई विशेष बनाउने तत्व भनेको शल्यक्रिया गर्ने तीनै जना सर्जन—डा. सुदन ढकाल, डा. समीर आचार्य र डा. जनम श्रेष्ठ । उहाँहरु सबै डा. पन्तकै पूर्वविद्यार्थी हुनुहुन्छ ।
‘हिजो मेरो जीवनको एक ऐतिहासिक दिन रह्यो’— सामाजिक सञ्जालमार्फत आफ्ना अनुभूति बाँड्दै डा. पन्तले लेख्नुभएको छ—‘तीनजना प्रतिष्ठित स्नायु सर्जन, जो मेरा विद्यार्थी समेत हुन्, तिनैबाट म आफ्नो उपचार गराउँदै थिएँ । त्यो क्षण भावनात्मक पनि थियो, ऐतिहासिक पनि ।’
गुरुको परीक्षण: शिष्यको सफलता
न्यूरोसर्जरीजस्तो जटिल शल्यक्रिया सहज हुँदैन । गर्धनको ‘सर्भाइकल स्पाइन’ मा तीन तहमा ‘हर्निएटेड डिस्क’ देखिनु गम्भीर विषय हो, जसले अंग सुन्निनु, पीडा र शरीरको गतिशीलतामा प्रभाव पार्न सक्छ । त्यसैले सर्जरीलाई चुनौतीपूर्ण मानिएको थियो । तर तीन पूर्वविद्यार्थीहरूले गरेको सहकार्य र समर्पणले शल्यक्रिया सफल भयो ।
‘हाम्रो सबैका लागि हिजोको दिन एउटा ठूलो परीक्षा जस्तो अनुभव भयो’— डा. पन्तले लेख्नुभएको छ—र, म गर्वका साथ भन्न सक्छु, हामी सबैले त्यो परीक्षा पास गर्यौं ।’
आफ्नै विद्यार्थीहरूबाट उपचारको सन्तोष
आफ्नै विद्यार्थीहरूले उपचार गर्नु आफैंमा दुर्लभ अनुभव हो । डा. पन्तका लागि यो एउटा भावनात्मक सन्तोषको क्षण थियो । ‘आफ्नै देशमा, आफ्नै इन्स्टिच्युटमा, आफ्नै विद्यार्थीहरूबाट उपचार गरिनु—यो मेरो जीवनको सबैभन्दा ठूलो खुसी हो’— उहाँले भावुक शब्दमा लेख्नुभएको छ ।
अन्नपूर्ण परिवार र परिवारजनप्रति आभार
डा. पन्तले आफ्नो सफल शल्यक्रियामा सहयोग गर्ने सम्पूर्ण अन्नपूर्ण अस्पताल परिवार—एनेस्थेटिस्ट, नर्स र सहयोगी स्टाफहरूप्रति गहिरो आभार व्यक्त गर्नुभएको छ । साथै उपचारको दौरान निरन्तर साथ दिएकी जीवनसाथी विजया र सन्तानहरू जुन, रच्छिता, आकाश र निहारिकाप्रति विशेष धन्यवाद दिनुभएको छ ।
स्वास्थ्य लाभतर्फको यात्रा सुरु
शल्यक्रियापछि डा. पन्तले आफू निकै राम्रो महसुस गरिरहेको जनाएका जनाउनुभएको छ । उहाँले भन्नुभयो—‘ आज म निकै राम्रो महसुस गरिरहेको छु ।’ अब केही समय उहाँको ध्यान पूरै स्वास्थ्य लाभतर्फ केन्द्रित हुनेछ ।
नेपालको चिकित्सा क्षेत्रमा डा. वसन्त पन्तको योगदान उल्लेखनीय छ । आज उहाँ स्वयं बिरामीको भूमिकामा हुनुहुन्थ्यो, तर उपचार गर्ने हात उहाँसँगै सिकेका शिष्यका थिए । यो केवल शल्यक्रियाको सफलताको कथा मात्र होइन, यो गुरु र शिष्यबीचको गहिरो सम्बन्ध, शिक्षाको फल र नेपालमै विश्वस्तरीय स्वास्थ्य सेवा सम्भव छ भन्ने उदाहरण पनि हो ।

‘डिम्बको कालोबजारी’ को काला अध्यायः किशोरीको शरीरमाथि व्यापार !
मंगलबार, असार ३१, २०८२
भक्तपुर क्यान्सर अस्पतालमा आधुनिक उपकरणको शुभारम्भ: अब क्यान्सर उपचार अझै गुणस्तरीय
बिहीबार, असार २६, २०८२
चिकित्सक फर्किए ड्युटीमा, आन्दोलन रोकियो, सरकारसँगको सहमति पछि सेवा सुचारु
बुधबार, असार २५, २०८२
स्वास्थ्य पत्रकार मञ्चको अस्तित्व संकटमाः नेतृत्व विवादपछि सामूहिक बहिर्गमन
आइतबार, असार २२, २०८२