नेपाल हेल्थ न्युज, काठमाडौं । एमआरपी (अधिकतम खुद्रा मूल्य) लागू गर्ने सरकारी प्रयासका बीच पनि बजारमा न्युट्रास्युटिकल र खाद्यपूरक वस्तुहरूको विकृति रोकिएको छैन । उपभोक्ता संरक्षणका नाउँमा थुप्रै रणनीति बनाइए पनि न्युट्रास्युटिकल व्यावसायमा देखिएको अराजकता अहिलेको ठूला उपभोक्ता समस्यामध्ये एक बन्दै गएको छ ।
नेपाल आहारपुरक सौन्दर्यद्धक संघ (एनएनसीए) का अध्यक्ष र महासचिवसहितको टोलीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालसँग भेटवार्ता गरी यस समस्याप्रति ध्यानाकर्षण गराएको छ ।
एमआरपी कार्यान्वयनमा एनएनसीएको प्रतिबद्धता
भेटमा अध्यक्ष विप्लव रञ्जित र महासचिवले एमआरपी प्रणालीमा देखिएका समस्या समाधानका लागि संघ स्थापनाकालदेखि नै साथमा रहेको र भविष्यमा पनि अझ मजबुत सहकार्य गर्ने प्रतिबद्धता जनाए । महासचिव सुरज पौडेलले विभागसँगको सहकार्यलाई सुदृढ बनाउँदै खाद्य र न्युट्रास्युटिकल बजारलाई ‘स्वस्थ, मर्यादित, सुरक्षित र उपभोक्तामैत्री’ बनाउन आफूहरू लागिपरेको बताए ।
व्यवसायी र चिकित्सकको मिलेमतोमा उपभोक्ता शोषण
हाल बजारमा विक्री भइरहेको धेरैजसो न्युट्रास्युटिकलको मूल्य स्वेच्छाचारी ढंगले निर्धारण भइरहेको छ । केही व्यवसायीहरूले एमआरपी स्वयं तोक्ने, नक्कली मेसिन प्रयोग गरेर मूल्य छाप्ने र कुनै स्थायी कार्यालयसमेत नराखी कारोबार गर्ने गरेको प्रमाण भेटिएको वाणिज्य विभागका स्रोतहरूले जनाएका छन् ।
अझ गम्भीर कुरा के छ भने कतिपय चिकित्सकहरूलाई उच्च कमिसनको प्रलोभन देखाएर अनावश्यक न्युट्रास्युटिकल औषधिहरू सिफारिस गराउने प्रवृत्ति बढ्दो छ । यो प्रवृत्तिले बिरामीलाई अनावश्यक आर्थिक भार त बढाउँछ नै, साथसाथै औषधिको प्रभावकारिता र स्वास्थ्य सुरक्षामा समेत प्रश्न उठाउँछ ।
महानिर्देशकको चेतावनीः ‘अब कुनै बहानामा यो कार्य रोकिन्न’
विभागका महानिर्देशक कुमार प्रसाद दाहालले भेटवार्ताको क्रममा स्पष्ट रूपमा भन्नुभएको छ—‘एमआरपी कार्यान्वयन वाणिज्य विभाग मात्रको काम होइन, सम्पूर्ण व्यवसायी र उपभोक्ताको साझा उत्तरदायित्व हो । यसलाई काठमाडौँमा मात्र सीमित नराखी देशैभर सशक्त बनाउँदै लैजान्छौँ ।’
उहाँले यो अभियान निकै अघि बढिसकेको र अब यसलाई कुनै बहानामा रोक्न नदिइने स्पष्ट गर्नुभयो । साथै यस अभियानलाई संकुचित नभई देशव्यापी बनाइने समेत बताउनुभयो ।
विकृतिबाट जोगिन के गर्न सकिन्छ?
- वास्तविक अनुगमनः कागजी योजना मात्र हैन, जिल्लादेखि सिमावर्ती बजारसम्म ठोस अनुगमन आवश्यक छ ।
- चिकित्सक नियमनः औषधिको सिफारिसमा पारदर्शिता र जिम्मेवारी तय गर्न मेडिकल काउन्सिल र नेपाल चिकित्सक संघको भूमिका सक्रिय हुन जरुरी छ ।
- भेटरिनरी र सप्लिमेन्ट बजार नियमनः पशुपालन र खेलकुद क्षेत्रमा पनि सप्लिमेन्टका नाममा अत्यधिक मूल्यमा उत्पादन बिक्री भइरहेको छ । यो पनि नियमनको दायरामा ल्याइनु जरुरी छ ।
- एमआरपी पारदर्शी बनाउनेः एमआरपी निर्धारणको आधार जनसमक्ष खुला गरिनुपर्छ । व्यवसायीले मात्र होइन, उपभोक्ता संगठनलाई समेत मूल्य निर्धारण प्रक्रिया समावेश गरिनुपर्छ ।
निष्कर्ष
नेपालमा स्वास्थ्य, आहार र औषधि बजारको विकृति समाधानका लागि नीति, नियमन र निगरानीको त्रिसूत्रीय संयोजन जरुरी देखिन्छ । वाणिज्य विभाग, स्वास्थ्य मन्त्रालय, नेपाल चिकित्सक संघ, उपभोक्ता हित संरक्षण मञ्चजस्ता सरोकारवाला निकायहरूको समन्वयात्मक प्रयासले मात्र यी समस्याको दीर्घकालीन समाधान सम्भव देखिन्छ ।

‘डिम्बको कालोबजारी’ को काला अध्यायः किशोरीको शरीरमाथि व्यापार !
मंगलबार, असार ३१, २०८२
भक्तपुर क्यान्सर अस्पतालमा आधुनिक उपकरणको शुभारम्भ: अब क्यान्सर उपचार अझै गुणस्तरीय
बिहीबार, असार २६, २०८२
चिकित्सक फर्किए ड्युटीमा, आन्दोलन रोकियो, सरकारसँगको सहमति पछि सेवा सुचारु
बुधबार, असार २५, २०८२
स्वास्थ्य पत्रकार मञ्चको अस्तित्व संकटमाः नेतृत्व विवादपछि सामूहिक बहिर्गमन
आइतबार, असार २२, २०८२