नेपाल हेल्थ न्युज, चितवन । महिलाहरूमा क्यान्सरको प्रारम्भिक पहिचान र स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले चितवनको स्वाधीन समूह भवनमा ‘प्रोजेक्ट मातृत्व’ अन्तर्गत एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
नेपाल हेल्थ कर्प्सको आयोजनामा तथा फिनलिट फाउन्डेशन र बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सहकार्यमा आयोजना गरिएको शिविरमा ४५ भन्दा बढी महिलाहरूले सहभागिता जनाएका छन् ।
शिविरमा गरिएको परीक्षणमा १ जना महिलामा भिआईए (भिज्युअल इन्सपेक्सन वीथ एक्टिक एसिड) पोजिटिभ केस फेला परेको छ भने ३ जना महिलामा स्तनमा गाँठाको लक्षण देखिएको छ। ती महिलाहरूको थप परीक्षण तथा उपचारका लागि सम्बन्धित संस्थामा सिफारिस गरिएको आयोजक टोलीले जनाएको छ।
शिविरमा क्यान्सरजस्तो गम्भीर रोग मात्र नभई समुदायस्तरमा देखिने अन्य जोखिमहरूबारे पनि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको थियो। विशेषगरी निम्न सत्रहरू सहभागीहरूका लागि आकर्षणको केन्द्र बने
- किटजन्य रोगहरूबारे जनचेतना सत्र
- सर्पदंशबाट बच्ने उपायहरूबारे नाटक प्रदर्शन
- स्वस्थ जीवनशैली तथा पोषणसम्बन्धी मार्गदर्शन सत्र

नेपाल हेल्थ कर्प्सका पब्लिक रिलेसन कोअर्डिनेटर आश्विन गिरी भन्नुहुन्छ, “हामीले गाउँघरका महिलाहरूलाई लक्षित गरेर यस्तो शिविर आयोजना गरेका हौं। यस्ता प्रयासहरूले समुदायमा ठूलो प्रभाव पार्छ भन्ने हाम्रो विश्वास हो।”
सहभागी महिलाहरूले यस्ता शिविरहरूले आफूहरूलाई आफ्नो स्वास्थ्यप्रति सजग बनाएको अनुभव सुनाएका छन्। एक सहभागी महिलाले भन्नुभयो, “पहिलोपटक यस्तो स्वास्थ्य शिविरमा आएँ। मलाई शरीरमा समस्या थियो भन्ने थाहा नै थिएन। परीक्षण गरेपछि मात्रै थाहा भयो।”

शिविर सफल बनाउन स्थानीय स्वयंसेवक, सामाजिक अगुवा तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय भूमिका रहेको थियो। आयोजक संस्था नेपाल हेल्थ कर्प्सका एम्वास्डर प्रवेश बास्तोलाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै अझ बढी गाउँ तथा समुदायमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यस शिविरले महिलाहरूमा स्वास्थ्य परीक्षणको आवश्यकता, प्रारम्भिक पहिचानको महत्व र समुदायमा स्वास्थ्य चेतनाको अभावलाई उजागर गरेको छ। प्रोजेक्ट मातृत्व जस्ता अभियानहरूले क्यान्सर रोकथामको दिशामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
