नेभिगेशन

झापाकी रोजिना दाहालः महाराजगञ्जबाट जनस्वास्थ्य विषयको स्नातकोत्तर तहमा टपर

नेपाल हेल्थ न्युज, काठमाडौं ।  जब मुलुक स्वास्थ्य संकट, महामारी र प्रणालीगत चुनौतीसँग जुधिरहेको हुन्छ, त्यतिखेर केही अनुहारहरू आशाको किरण बनि उदाउँछन्—जुन केवल शैक्षिक प्रमाणपत्रको कारण मात्र होइन, सोच, दृष्टिकोण र योगदान गर्ने दृढ इच्छाशक्तिका लागि पनि प्रेरणा बनिन्छन्।


त्यस्तै एउटा अनुहार हुन्—रोजिना दाहाल। झापा भद्रपुरकी यी मेहेनती र प्रतिबद्ध युवतीले हालै त्रिभुवन विश्वविद्यालय अन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान , महाराजगञ्जबाट जनस्वास्थ्य विषयमा सर्वोत्कृष्ट अंक ल्याउँदै स्नातकोत्तर तहमा पहिलो स्थान  (टपर) हाँसिल गरेकी छन्।

सपना र संघर्षको बाटो
पूर्वी नेपालको सानो सहर भद्रपुरमा हुर्केकी रोजिनाको बाल्यकालदेखि नै स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्छ भन्ने सपना थियो। स्थानीय अस्पतालमा बिरामी हेर्दै गर्दा उनलाई लाग्थ्यो—स्वास्थ्य सेवा केवल औषधि र उपचारमा मात्र सीमित छैन, यो नीति, पहुँच, जनचेतना र समाजको संरचना सँग गहिरो रूपमा गाँसिएको विषय हो।

त्यही सोचले उनलाई विज्ञान संकाय हुँदै पव्लिक हेल्थमा भविष्य खोज्ने प्रेरणा दियो। ब्याचलर तहको अध्ययन उत्कृष्टताका साथ सम्पन्न गरेपछि उनले आफ्नो यात्रालाई अझ गहिरो बनाउँदै त्रिभुवन विश्वविद्यालयको आइओएम, महाराजगञ्जमा एमपिएच अध्ययन सुरु गरिन्।

८० दशमलव ०८ प्रतिशतः आँकडामा मात्र होइन, दृष्टिमा पनि टप
रोजिनाले एमपिएचमा ८०.०८ प्रतिशत अंक ल्याइन्। यो केवल एकेडेमिक उपलब्धि मात्र होइन, सार्वजनिक स्वास्थ्यका गहन सैद्धान्तिक र व्यवहारिक पक्षमा भएको उनको समर्पण र स्पष्ट दृष्टिकोणको प्रमाण हो।

जनस्वास्थ्य विषयको जटिलता बुझ्न, रिसर्च गर्न, केस स्टडी अध्ययन गर्न र ग्राउन्ड लेभल समस्या समाधानका उपाय सोच्न सक्ने क्षमताले उनलाई अरुभन्दा पृथक बनायो। उनका शिक्षकहरु बताउँछन्—“रोजिना सधैं गम्भीर, खोजमूलक र समस्या समाधानमुखी छात्रा थिइन्।”

पढाइसँगै सामाजिक संलग्नता
एमपिएच पढ्दापढ्दै उनी विभिन्न स्वास्थ्य सचेतना अभियान, क्याम्प, र स्थानीय सरकारसँगको सहकार्यमा आयोजना गरिएका पब्लिक हेल्थ प्रोग्रामहरूमा स्वयंसेवकको रूपमा सहभागी भइन्। खासगरी ग्रामीण महिलाहरुको पोषण, किशोरी स्वास्थ्य, र स्थानीय स्वास्थ्यकर्मीहरूको तालिममा उनको भूमिका उल्लेखनीय रह्यो।

एक अन्तरवार्तामा उनले भनिन्—“हामी पढ्ने कुरा कक्षा भित्र सीमित रहनु हुँदैन। जबसम्म हामी गाउँ–बस्तीमा पुगेर तिनको स्वास्थ्य अवस्था, सोच, पहुँच र व्यवहार नबुझ्दछौं, तबसम्म जनस्वास्थ्यको कुरा अधुरो हुन्छ।”

परिवारको साथ र आत्मबल
उनको सफलताको अर्को मुख्य आधार हो—परिवारको निरन्तर साथ। तीन दाजुभाइको एक्लो बहिनी रोजिनाका लागि शिक्षामा अगाडि बढ्नु सजिलो थिएन। तर आमाबुबाको हौसलाले उनले जुनसुकै चुनौती सामना गरिन्। ूहामी छोरीलाई डाक्टर, नर्स या शिक्षक मात्रै होइन, नीति बनाउने जनस्वास्थ्यविद् देख्न चाहन्थ्यौंू, रोजिनाका बुबाको भनाइ थियो।

अबको लक्ष्यः नीति निर्माणदेखि समुदायसम्म
अब रोजिनाको लक्ष्य केवल शिक्षामा सीमित छैन। उनी नीतिगत तहमा पुगेर नेपाली जनस्वास्थ्य प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने सपना बोकेकी छन्। सरकारी स्वास्थ्य नीति, मातृ तथा शिशु स्वास्थ्य, महामारी व्यवस्थापन, पोषण र मानसिक स्वास्थ्य उनका प्रमुख चासोका क्षेत्र हुन्।

उनको विचारमा—“स्वास्थ्य हकलाई संविधानले अधिकार दिएको छ, तर त्यो व्यवहारमा पुग्न अझ धेरै काम गर्नुपर्नेछ। मैले पढेको ज्ञान अब नीति निर्माण, अनुसन्धान र कार्यान्वयनमा उपयोग गर्नु छ।”

रोजिना दाहालः प्रेरणा र सम्भावना दुबै
आज रोजिना दाहाल एमपिएच टपरका रूपमा चिनिइरहेकी छन्। तर भोलिका दिनमा उनी एक नीतिगत नेतृत्वकर्ताको रूपमा, वा एक प्रभावशाली अनुसन्धानकर्ताको रूपमा, वा ग्रामीण स्वास्थ्य सुधार अभियन्ताको रूपमा उदाउने सम्भावना बोकेकी छन्।

उनी जस्ता युवाले देशको स्वास्थ्य प्रणालीमा सुधार ल्याउने जिम्मेवारी बोकेका छन्—शब्दमा होइन, कर्ममा।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष