नेपाल हेल्थ न्युज, काठमाडौ । नेपाली फिल्म र म्युजिक भिडियोहरूमा प्रायः देखिने चुरोट, सुर्ती र अन्य सुर्तीजन्य पदार्थको प्रयोगसम्बन्धी दृश्य अब सर्जकहरूले गम्भीरतापूर्वक पुनर्विचार गर्नुपर्ने आवाज बलियो रूपमा उठ्न थालेको छ। यस्ता दृश्यले बालबालिका, किशोरकिशोरीदेखि आम दर्शकमाझ नकारात्मक प्रभाव पार्ने भन्दै सरोकारवाला निकायहरूले वैकल्पिक प्रस्तुतिका लागि सर्जकहरूलाई आह्वान गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर प्रशासन कार्यालय तथा चलचित्र विकास बोर्डको सहकार्यमा हेल्थ खबर फाउन्डेसनले काठमाडौंमा आयोजना गरेको ‘दृष्यमा सुर्तीजन्य पदार्थको प्रयोगः के कथाले माग्छ?’ शीर्षकको कार्यक्रममा चलचित्रकर्मी, कलाकार, स्वास्थ्य विज्ञलगायतले खुलेर विचार राखेका थिए।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले चलचित्र र दृश्य–श्रव्य सामग्रीले जनमानसमा पर्ने प्रभावको चर्चा गर्दै भन्नुभयो, हामीले फिल्ममा देखेका चरित्रको अनुकरण गर्ने प्रवृत्ति अझै पनि समाजमा जीवित छ। यसैले, पर्दामा देखाइने प्रत्येक व्यवहारले जनस्वास्थ्यमा असर पार्न सक्छ। उहाँले सुर्तीजन्य पदार्थ प्रयोग नभइकन पनि गहिरा र प्रभावशाली दृश्य सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले सुर्तीजन्य पदार्थको प्रयोगलाई सिर्जनात्मक ढंगले न्यूनीकरण गर्न सकिनेमा विश्वास व्यक्त गर्नुभयो। उहाँले स्मरण गर्दै भन्नुभयो, “म आफैं विद्यालय पढ्दाखेरी अभिनेता रजनीकान्तको चुरोट घुमाउने शैली देखेर त्यसको अनुकरण गर्न चाहन्थें। त्यसले मलाई प्रभावित गर्यो। त्यसैले बालबालिका र किशोरहरूमा यस्ता दृश्यको असर पर्न सक्छ।”
निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले भन्नुभयो सिर्जकहरूमाथि विभिन्न क्षेत्रबाट लगातार सुझाव र दबाब आउँदा कथानकमै असर पर्ने खतरा देखिएको बताउनुभयो। तथापि, उहाँले सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै गहिरो सोचसहित फिल्म निर्माण गर्नुपर्ने धारणा राख्नुभयो।
एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले फिल्म र म्युजिक भिडियो समाजको प्रतिबिम्ब भएकाले यसले दिने सन्देश सकारात्मक हुनुपर्ने बताउनुभयो। उहाँले अध्ययन र अनुसन्धानबाट प्राप्त तथ्यांक प्रस्तुत गर्दै उल्लेख गरे कि चलचित्रमा देखिएको चुरोट सेवनका दृश्यबाट धेरैले त्यो व्यवहार सिक्ने गरेका छन्। उनले भन्नुभयो, कहिलेकाहीँ त यस्तो लाग्छ, चलचित्र र भिडियोमा यस्ता दृश्य राख्दा अप्रत्यक्ष रूपमा सुर्तीजन्य उद्योगको प्रचारजस्तो देखिन्छ।
कलाकार शंकर बिसीले पनि अनावश्यक रूपमा सुर्तीजन्य पदार्थका दृश्यहरू राख्नुको कुनै तुक नरहेको उल्लेख गर्नुभयो। सबै वक्ताहरूको साझा निष्कर्ष थियो—कथाको मागबिना यस्ता दृश्य राख्नु सर्जनात्मक आवश्यकताभन्दा बढी हानिकारक प्रवृत्तिलाई बढावा दिनु हो।
कार्यक्रमको निष्कर्षमा सहभागीहरूबीच यस्तो सहमति बन्यो कि फिल्म र भिडियो सर्जकहरूले सामाजिक सन्देश बोकेर, स्वस्थ जीवनशैलीलाई प्रोत्साहन दिने खालका वैकल्पिक दृश्यहरू निर्माण गर्न अबको बाटो रोज्नुपर्छ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

