नेपाल हेल्थ न्युज, काठमाडौं । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डा. इन्द्र ढकाललाई आफ्नो दरबन्दी अनुसार सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा खटिन आदेश दिएको थियो। मन्त्रालयले गत शुक्रबार पत्राचारमार्फत डा. ढकाललाई तुरुन्तै दरबन्दी अनुसारको ठाउँमा हाजिर हुन निर्देशन दिएको थियो।
तर, प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त निर्देशनलाई कार्यान्वयन नगरी उल्टै डा. ढकाललाई बुटवलमै निरन्तर राख्न अनुरोध गर्दै संघीय मन्त्रालयलाई पत्र पठाएको छ। अहिले पनि डा. ढकाल बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमै कार्यरत हुनुहुन्छ।
असार ५ गतेको निर्णयअनुसार डा. ढकालको पदस्थापन सप्तरीमा गरिएको भए पनि उनी हालसम्म घरपायक स्थानमा काम गरिरहनु संघीय निर्देशनको उल्लंघन भएको मन्त्रालयको भनाइ छ। मन्त्रालयले सप्तरीको अस्पतालमा सेवा प्रभावित भएको दाबी गर्दै बुटवल र लुम्बिनी प्रदेशका सम्बन्धित निकायहरूलाई जानकारी गराइसकेको छ।
डा. ढकाल १० औं तहका अर्थोपेडिक सर्जन हुनुहुन्छ। तर, प्रदेश सरकारमाथि डा. ढकाललाई राजनीतिक पहुँचका आधारमा निरन्तरता दिएको आरोप लाग्दै आएको छ। मास्टर्स इन पब्लिक हेल्थ (एमपीएच) सकेका अन्य योग्य चिकित्सकको बेवास्ता गरिएको भन्ने टिप्पणीहरू समेत छन्।
स्वास्थ्य मन्त्री खेम सारुले भन्नुभयो लुम्बिनी प्रादेशिक अस्पताललाई प्रदेश सरकारको प्राथमिकतामा रहेको गौरवको योजना भन्दै डा. ढकालको निरन्तरता आवश्यक भएको बताउनुभयो।
प्रदेश सचिवालयमा भने यस विषयमा स्पष्टता नदेखिएको छ। स्वास्थ्य मन्त्रालयकी सचिव दुर्गालक्ष्मी श्रेष्ठले ९ औं तहभन्दा माथिका कर्मचारीबारे निर्णय गर्ने अधिकार मुख्यमन्त्री कार्यालयमा रहेको बताउनुभयो, भने प्रमुख सचिव बाबुराम अधिकारीले संघीय सरकारलाई पत्र पठाइएको जानकारी दिनुभयो।
यो विषयमा प्रदेश र संघीय सरकारबीच स्पष्ट समन्वय नहुँदा निर्णय प्रक्रिया अन्योलमा परेको देखिन्छ।
पूर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले मेडिकल सुपरीटेन्डेन्टको नियुक्तिमा चलखेल हुने गरेको र त्यसले सेवा प्रवाह तथा कर्मचारीको मनोबलमा असर परेको धारणा व्यक्त गर्नुभएको छ।
यता, डा. ढकालका बारेमा विगतमा एमआरआई मेसिन खरिदमा विवाद, बढुवा प्रक्रियामा अनियमितता, र अख्तियारमा परेको उजुरी लगायतका विवादहरू पनि जोडिँदै आएका छन्।

कोशीबाट उपाध्यक्षमा पूर्व महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको उम्मेदवारी घोषणा
आइतबार, मंसिर २८, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
