नेभिगेशन

भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीका लागि हटलाइन सेवा सुरु

नेपाल हेल्थ न्युज, चितवन । क्यान्सर उपचारमा चरणबद्ध रुपमा रहेका तथा उपचारपछि घर फर्केका बिरामीलाई सहजीकरण गर्ने उद्देश्यले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले नयाँ हटलाइन सेवा सञ्चालनमा ल्याएको छ।

अस्पतालको मेडिकल अंकोलोजी विभाग प्रमुख डा. गुरुशरण साहका अनुसार, क्यान्सर रोगीहरूलाई उपचारको क्रममा वा पछि देखिन सक्ने समस्या समाधान गर्न यो सेवा शुरू गरिएको हो।

९८५५०८१५०१ नम्बरमा चौबिसै घण्टा सम्पर्क गर्न सकिने हटलाइन सेवा विशेष गरी क्यान्सर पहिचान भएका, उपचारकै क्रममा रहेका वा उपचारपछि पुनः समस्या देखिएका बिरामीलाई लक्षित गरिएको छ। यस सेवाबाट अस्पताल बाहिर रहेका बिरामी वा चिकित्सकलाई पनि मार्गदर्शन प्रदान गरिनेछ।

डा. साहका अनुसार, क्यान्सर उपचार केमोथेरापी वा रेडिएसनपछि घर फर्केका बिरामीमा जटिलता देखिन सक्ने भएकाले त्यस्तो अवस्थामा तुरुन्त सहयोगको आवश्यकता पर्छ। यो हटलाइनले त्यस्तै आपतकालीन अवस्थामा आवश्यक सल्लाह उपलब्ध गराउनेछ।

त्यस्तै, दूरदराजका स्वास्थ्य संस्था वा नन-क्यान्सर अस्पतालमा कार्यरत चिकित्सकहरूलाई क्यान्सर पहिचानपछि प्रारम्भिक उपचार तथा रिफर प्रक्रियामा सहयोग पुग्ने गरी जानकारी तथा सुझाव प्रदान गरिने उहाँले जनाउनुभयो।

अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले तालिमप्राप्त अंकोलोजी चिकित्सक र नर्सहरूबाट २४ सै घण्टा मोबाइलमार्फत सेवा उपलब्ध हुने जानकारी दिनुभयो। बिरामीको रिपोर्ट वा लक्षणका आधारमा तत्काल तथा दीर्घकालीन उपचारसम्बन्धी सुझाव यस सेवामार्फत प्रदान गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट