नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल नेत्रज्योति संघले पहिलोपटक विदेशमा आँखा सेवा विस्तारको थालनी गर्दै ओमानको राजधानी मस्कटमा नेपाली नागरिकलाई लक्षित गरी निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।
भरतपुर आँखा अस्पतालका प्रमुख नेत्ररोग विशेषज्ञ डा. पुष्पा गिरी श्रेष्ठको नेतृत्वमा गएको टोलीले असार १३ गते मस्कटस्थित बदर अल समा र अल खुवेर अस्पतालमा शिविर सञ्चालन गरेको हो। नेपाली राजदूतावास ओमानको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा सहभागी नेपालीहरूको आँखा परीक्षण गरिनुका साथै आवश्यक पर्नेहरूलाई निःशुल्क चस्मा वितरण गरिएको थियो।
नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले विदेशमा काम गरिरहेका नेपालीहरूलाई सुलभ, गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले यस्तो कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो। उहाँले विदेशमा आँखा उपचार खर्चिलो हुने भएकाले नेपाली श्रमिकहरूका लागि यस्तो सेवा आवश्यक भएको बताउनुभयो।
कार्यक्रम सफल भएपछि ओमानका अन्य सहरहरूमा समेत यस्तै सेवा विस्तार गर्ने योजना रहेको दूतावासले जनाएको छ। यस कार्यक्रमको सफलताले नेपाललाई आँखा उपचारमा ‘मेडिकल टुरिज्म’ गन्तव्यका रूपमा स्थापित गर्ने संघको लक्ष्यमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
संघका अध्यक्ष प्रा.डा. चेतराज पन्तका अनुसार, नेपालमा प्रदान गरिने आँखा सेवा विश्वस्तरीय रहेको प्रमाणित गर्दै अन्तर्राष्ट्रियस्तरमा नेपाललाई एक उत्कृष्ट गन्तव्य बनाउने सोचअनुसार विदेशी भूमिमा सेवा विस्तार गरिएको हो।
संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार, २०२४ मा मात्रै संघको सञ्जालमार्फत करिब ९ लाख बिरामीको परीक्षण र १ लाख ६० हजारभन्दा बढीको शल्यक्रिया गरिएको छ। संस्थाको स्थापना कालदेखि हालसम्म ४ करोड ६८ लाखभन्दा धेरै बिरामीले सेवा लिइसकेको र ५३ लाखभन्दा बढीको शल्यक्रिया सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो।
नेपाल नेत्रज्योति संघको यो पहलले विदेशमा रहेका नेपाली समुदायलाई सस्तो, गुणस्तरीय स्वास्थ्य सेवा दिनुका साथै नेपाललाई विश्वस्तरमा आँखा उपचार सेवाको केन्द्र बनाउन योगदान पुर्याउने विश्वास लिइएको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
