नेभिगेशन

यो वर्ष ६० हजारभन्दा बढीलाई डेंगु संक्रमण हुन सक्ने उच्च जोखिम 

सावधानी अपनाउन इपिडिमियोलोजी महाशाखाको आग्रह

 

नेपाल हेल्थ न्युज, काठमाडौं । डेंगु संक्रमणको जोखिम यो वर्ष झनै भयावह बन्न सक्ने संकेत देखिएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ६० हजारभन्दा बढीलाई डेंगु संक्रमण हुने सम्भावना रहेको अनुमान गर्दै डेंगु नियन्त्रणका लागि व्यापक तयारी थालेको छ।

महाशाखाका अनुसार साउनदेखि कात्तिक अन्त्यसम्मको समयमा डेंगु संक्रमणको जोखिम अत्यधिक हुने भएकाले विशेष सतर्कता अपनाउनु जरुरी छ। किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार जुनसुकै समय, जुनसुकै स्थानमा डेंगु तीव्र गतिमा फैलिन सक्छ। हालसम्म ७३ जिल्लाबाट करिब १,६७३ जनामा डेंगु पुष्टि भइसकेको छ भने १० हजारभन्दा बढी व्यक्ति उपचारमा नपुगेको हुन सक्ने अनुमान छ।

जोखिमको आँकलन, चुनौती र तयारी
डा.दाहालका अनुसार, “ठ्याक्कै संक्रमितको संख्या कति पुग्छ भन्ने यकिन गर्न सकिन्न। तर सावधानी नअपनाए अवस्था भयावह बन्न सक्छ।” उहाँका अनुसार गत वर्ष जस्तै नागरिक सतर्क नहुने हो भने यो वर्षको संक्रमण संख्या र गम्भीरता बढ्न सक्छ।

महाशाखाले डेंगु नियन्त्रणका लागि करिब १० करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ। यसै सन्दर्भमा महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले स्थानीय तहमा लार्भा नष्ट गर्न ८ करोड रुपैयाँ वितरण भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार स्थिति हालसम्म नियन्त्रणमै छ । तर संक्रमण फैलिन सक्ने उच्च सम्भावना रहेकाले थप अभियान सञ्चालनको तयारी भइरहेको छ।

प्रदेश अनुसार संक्रमणको अवस्था
हालसम्मको तथ्याङ्क अनुसार सबैभन्दा बढी संक्रमित गण्डकी प्रदेशमा रहेका छन्। पछिल्लो सातामा मात्र ७१ जना नयाँ संक्रमित थपिएका छन्। गण्डकी प्रदेशमा २० जना, बागमतीमा ४०४ जना, कोसीमा ३३४, लुम्बिनीमा २७८, सुदूरपश्चिममा २३२, कर्णालीमा ३६, र मधेस प्रदेशमा ३१ जना संक्रमित भएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हालसम्म गम्भीर अवस्थामा अस्पताल आइपुगेका बिरामी नभएपनि संक्रमण फैलिन नदिन सबैलाई सचेत हुन आग्रह गर्नुभएको छ ।

डेंगु के हो ? कसरी फैलिन्छ ?
डेंगु एडिस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल रोग हो। यो रोग सिधै एक व्यक्ति बाट अर्कोमा सर्दैन। एडिस लामखुट्टेको जीवनकाल १ देखि ३ महिनासम्मको हुने र यसले शितोष्ण तथा समशितोष्ण क्षेत्रमा बढी प्रभाव पार्ने गर्दछ।

डेंगुका मुख्य लक्षण

  • उच्च ज्वरो
  • कडा टाउको दुखाइ
  • आँखाको गेडी पछाडि दुख्ने
  • मांसपेसी र जोर्नी दुख्ने
  • वाकवाक लाग्ने वा वान्ता हुने

रोकथामका उपाय
डेंगु विरुद्ध हाल कुनै प्रभावकारी खोप वा निश्चित उपचार छैन। त्यसैले लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। यसका लागि 

  • लामखुट्टेको बासस्थान (लार्भा) नष्ट गर्नु
  • वरिपरिको वातावरण सफा राख्नु
  • पानी जम्मा नहुने व्यवस्था मिलाउनु
  • पानीका भाँडाहरू छोपेर राख्नु
  • झ्याल ढोकामा जालीको प्रयोग गर्नु
  • झुलको प्रयोग गर्नु
  • शरीरलाई ढाक्ने कपडा लगाउनु

विगत वर्षको अनुभवः ५० हजार संक्रमित, १५ को मृत्यु
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार, गत वर्ष मात्रै देशभर ५० हजारभन्दा बढी व्यक्तिमा डेंगु संक्रमण देखिएको थियो र १५ जनाले ज्यान गुमाएका थिए। यस वर्ष संक्रमणको आँकलन झनै भयावह भएकाले सावधानी, समन्वय र नागरिक सतर्कता अनिवार्य भएको सरकारी निकायको जोड रहेको छ। संक्रमणको जोखिम घटाउने उपाय नागरिकस्तरमै सुरु हुन्छ। सस्तो उपाय, नियमित सरसफाइ र सचेत व्यवहार अपनाउन सकिए मात्र डेंगु नियन्त्रण सम्भव छ। अन्यथा, अनुमानभन्दा पनि डरलाग्दो अवस्था सृजना हुने खतरा रहन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष