नेभिगेशन

अमेरिकी नीतिको विश्वव्यापी प्रभाव: पाँच वर्षमा करिब डेढ करोड व्यक्तिको मृत्यु हुने प्रक्षेपण 

नेपाल हेल्थ न्युज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी नीति (मानवीय सहायतातर्फको कोष कटौती गर्ने कदम) ले सन् २०३० सम्ममा एक करोड ४० लाखभन्दा बढी व्यक्तिको मृत्यु निम्त्याउन सक्छ । बेलायतको ‘द ल्यान्सेट मेडिकल जर्नल’मा प्रकाशित अनुसन्धान रिपोर्टले यस्तो प्रक्षेपण गरेको हो । 

अनुसन्धानकर्ताले अनुमान गरेका छन्– अकाल मृत्युको जोखिममा रहनेमध्ये एक तिहाइ बालबालिका छन् । ‘कम र मध्यम आय भएका देशहरूले विश्वव्यापी महामारी वा ठूलो सशस्त्र द्वन्द्वको तुलनामा झट्का सामना गरिरहेका थिए’– रिपोर्टका सह–लेखक डेभिड रसेल्लाले भनेका छन् । 

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत मार्च महिनामा भनेका थिए– अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) का सबै कार्यक्रम ८० प्रतिशत भन्दा बढी रद्द गरिएको छ । ट्रम्प प्रशासनले युएसएआइडी कार्यक्रमलाई ‘व्यर्थ खर्च’को रूपमा व्याख्या गर्न थालेको छ । मानवीय संस्थाहरूले विश्वभर निन्दा गरेका विवादास्पद कटौतीलाई ट्रम्प निकट भनिएका एलोन मस्कद्वारा निरीक्षण गरिएको थियो । अर्बपतिले त्यतिबेला संघीय कार्यबल घटाउने पहलको नेतृत्व गरिरहेका थिए । 

आफ्नो दोस्रो कार्यकाल सम्हालेपछि ट्रम्पले बारम्बार भनेका छन्– ‘विदेशमा हुने खर्च व्यर्थ हो ।’ बार्सिलोना इन्स्टिच्यूट फर ग्लोबल हेल्थका अनुसन्धानकर्ता रसेल्ला र उनका उनका समकक्षीहरूको विश्लेषण छ– युएसएआइडीको कोषले २००१ र २०२१ को बीचमा विकासशील देशहरूमा ९ करोडभन्दा बढी मृत्युलाई रोकेको थियो । अमेरिकी सहयोग कटौतीपछि सन् २०३० सम्ममा एक करोड ४० लाख भन्दा बढी टार्न सकिने मृत्युको आश्चर्यजनक संख्या निम्तिन सक्छ । ‘यसमा पाँच वर्ष मुनिका ४५ लाख भन्दा बढी बालबालिकाको मृत्यु समावेश हुनेछ’ –उनीहरूले थपे । 

स्पेनको सेभिल सहरमा संयुक्त राष्ट्र संघको नेतृत्वमा भएको सहायता सम्मेलनका क्रममा विश्वका दर्जनौं नेताहरू भेला हुँदै गर्दा ल्यान्सेट रिपोर्ट प्रकाशित भएको हो । सेभिल सहरको जमघट एक दशकको अन्तरालमा भएको ठूला विश्व सम्मेलन मध्येको एक हो । विश्वको सबैभन्दा ठूलो मानवीय सहायता प्रदायक अमेरिकाले ६० भन्दा बढी देशमा विभिन्न प्रकृतिका अनुदान कार्यक्रम सञ्चालन गरेको छ । अमेरिकाले दुई वर्षअघि (सन् २०२३मा) अन्तर्राष्ट्रिय सहायतामा ४ सय ६८ अर्ब खर्च गरेको थियो । 

युएसएआइडीलाई विश्वव्यापी सहायता प्रणालीको अभिन्न अंगको रूपमा हेरिएको थियो । ट्रम्पले आर्थिक सहायता कटौती गर्ने घोषणा गरेपछि बेलायत, फ्रान्स, जर्मली लगायतका देशले पनि अमेरिकी नीति अनुशरण गर्न थालेका छन् । विभिन्न देशका मानवीय संस्थाले ट्रम्प नीतिको व्यापक रूपमा निन्दा पनि गरिरहेका छन् । अमेरिकी पछिल्लो नीतिलाई हालै संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय मानवीय क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा गहिरो कोष कटौती बताएको थियो । अमेरिकी विदेशमन्त्री रुबियोकै भनाइ अनुसार अझै पनि लगभग एक हजार अमेरिकी कार्यक्रम बाँकी छन् । जुन अमेरिकी विदेश विभाग र कंग्रेससँग परामर्श गरेर अझ प्रभावकारी रूपमा सञ्चालन गरिनेछन् । 

गत महिना राष्ट्र संघका एक अधिकारीले बीबीसीलाई बताएअनुसार अमेरिकी कोष कटौतीले खाद्यान्नलाई अहिलेसम्मकै न्यूनस्तरमा ल्याएपछि केन्याली शरणार्थी शिविरमा लाखौँ व्यक्ति क्रमशः भोकमरीमा परेका छन् । उत्तरपश्चिमी केन्याको काकुमास्थित एक अस्पतालमा बीबीसीले एक शिशुलाई देख्यो जो मुस्किलले हिँड्न सक्थ्यो । ती शिशुमा कुपोषणको लक्षण प्रष्ट थियो जसमा उनको शरीर केही भागमा चाउरी परेको थियो । 

स्रोतः बीबीसी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट