नेभिगेशन

स्वास्थ्य पत्रकार मञ्चको अस्तित्व संकटमाः नेतृत्व विवादपछि सामूहिक बहिर्गमन

कार्यक्रम अवरोध र अनुदान रोकावटः मञ्चका दुई महत्वाकांक्षी योजना गुमे 

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य क्षेत्रका पत्रकारहरूको एक संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालमा पछिल्ला केही महिनादेखिको विवाद चुलिँदै जाँदा अन्ततः कार्यवाहक अध्यक्षसहित सातजना पदाधिकारी र सदस्यहरूले पदबाट एकैसाथ राजीनामा दिएका छन्।

शुक्रबार बसेको सल्लाहकार र पदाधिकारीहरूको संयुक्त बैठकपछि कार्यवाहक अध्यक्ष बुद्धि कटेल, महासचिव शिवहरि घिमिरे, संस्थापक सचिव सरोज ढुङ्गेल,  सदस्यहरू उपेन्द्र खड्का, सुरेश खनाल, सन्तोष निरा राई र भोला अधिकारीले संस्थाको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्।

राजीनामा पत्रमा उल्लेख गरिएअनुसार पछिल्ला केही समययता मञ्चभित्रको गुटबन्दी, अनैतिक राजनीतिक खेल र संस्थाको मूल उद्देश्य विपरीतका गतिविधिले उनीहरूलाई अत्यन्तै हतोत्साहित बनाएको उल्लेख गरिएको छ।

विवादको जडः समानान्तर संस्था गठन
विवादको केन्द्रमा रहेका मञ्चका अध्यक्ष भिषा काफ्लेले संस्थासँग मिल्दोजुल्दो नाममा अर्को समानान्तर संस्था गठन गर्न प्रेरित गरेको आरोप छ। मञ्चकै नाममा मिल्दो नयाँ संस्थाबारे काफ्ले कार्यरत हेल्थ आवाज डटकम मार्फत समाचार सम्प्रेषण हुनु र त्यसबारे मञ्चलाई जानकारी नभएको अवस्था रहेको भन्दै संस्थाभित्रको असन्तुष्टि झन् बलियो बनेको हो।

यस विषयमा अनुसन्धान गर्न गठित तीन सदस्यीय छानबिन समितिले अध्यक्ष काफ्लेले संस्थाको अस्तित्व संकटमा पार्ने गरी मिल्दोजुल्दो संस्था गठनमा भूमिका खेलेको निष्कर्ष निकालेको थियो। त्यसपछि २०८२ जेठ २१ गतेको बैठकले उनलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। तर काफ्लेले आफूप्रति लागेको आरोपमा कुनै क्षमायाचना नगरेको भन्दै पदाधिकारीहरू अझ बढी असन्तुष्ट भएका थिए।

कार्यक्रम अवरोध र गुटबन्दीको आरोप
राजीनामा दिने समूहले पछिल्ला दिनमा संस्थाभित्रैबाट आयोजना गरिएका सकारात्मक कार्यक्रमहरू समेत अवरोध गर्ने रणनीति अपनाइएको आरोप लगाएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँगको सहकार्यमा सम्पन्न स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता विषयक कार्यशालापछि केही पूर्वनिर्धारित कार्यक्रमहरू अवरुद्ध गरिनु तथा सञ्चार मन्त्रालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्य कार्यक्रम स्थगित हुनु संस्थाविरुद्धको कदम भएको उनीहरूको ठहर छ।

उनीहरूले मञ्चभित्रको एक समूहले काफ्लेलाई पुनः अध्यक्षमा ल्याउने रणनीति बनाएको र त्यो प्रक्रिया कार्यसमितिका केही सदस्यमार्फत अघि बढाइएको आरोप पनि लगाएका छन्। 'आफैंले निलम्बनको पक्षमा हस्ताक्षर गरेको मसी नसुक्दै पुनरावृत्ति हुने अभियान चलाउनु लज्जास्पद हो'- राजीनामा पत्रमा भनिएको छ।

संस्थाको भविष्यको चिन्ता
राजीनामा दिने सदस्यहरूका अनुसार मञ्चलाई पुनः संस्थागत गर्न, व्यावसायिक पत्रकारिताका मूल्य टिकाउन र स्वास्थ्य पत्रकारहरूको हकहितका विषयमा समर्पित राख्न जिम्मेवार नेतृत्वको खाँचो छ। उनीहरूले पछिल्लो गतिविधि 'क्यान्सरको जटिल अवस्था' सँग तुलना गर्दै मञ्चभित्रको अवस्थालाई गम्भीर संकटको संकेतका रूपमा चित्रण गरेका छन्।

'हामी संस्थामा आएका आरोह–अवरोहसँग थुप्रै वर्षदेखि परिचित थियौं। तर पछिल्लो गतिविधिले हाम्रो आत्मसम्मानमा समेत चोट पुर्‍यायो'- बैठकपछि कार्यवाहक अध्यक्ष बुद्धि कटेलले भने।

अब के हुन्छ ?
राजीनामा दिएका पदाधिकारीहरूले अबको यात्राबारे केही उल्लेख नगरे पनि मञ्चको नेतृत्व शून्यतामा पर्ने देखिएको छ। काफ्लेको निलम्बन कायम रहेको अवस्थामा कार्यवाहक अध्यक्षकै राजीनामा पछि नयाँ नेतृत्व चयन चुनौतीपूर्ण बन्ने देखिएको छ। निलम्बित मञ्चका अध्यक्ष भिषा काफ्लेले मञ्चलाई बन्धक बनाउन नहुने धारणा राख्दै उपाध्यक्ष महेश तिमिल्सिनाको नेतृत्वमा कार्यसमितिको बैठक बसेर निलम्बन फुकाउने वा राजनीनामा स्वीकृति गर्ने निर्णय गर्ने जानकारी दिनुभयो ।  

स्वास्थ्य पत्रकार मञ्च नेपाल विगत एक दशकदेखि स्वास्थ्य पत्रकारहरूको साझा मञ्चका रूपमा क्रियाशील रहँदै आएको छ। तर पछिल्लो समय संस्था भित्रैको असहिष्णुता, सत्ताकेन्द्रिकता र गुटबन्दीका कारण यसको विश्वसनीयता र प्रभावकारितामा गम्भीर प्रश्न उठेको छ। 

हेर्नुस, राजिनामा 

1-1752414530.jpg
2-1752414542.jpg
3-1752414550.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष