नेभिगेशन

अमेरिकी सहयोग रोकिँदा नेपालको स्वास्थ्य सेवा प्रभावित

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) बाट प्रदान हुने अनुदान बन्द भएपछि स्वास्थ्यसम्बन्धी थुप्रै कार्यक्रम प्रभावित भएका छन्। परिवार कल्याण महाशाखाका अनुसार, केही योजनाहरू सरकारले आन्तरिक बजेटबाट सम्हाल्ने प्रयास गरे पनि धेरैजसो कार्यक्रम अधुरो र अनिश्चित अवस्थामा छन्।

(युएसएआइडी) को माध्यमबाट संयुक्त राष्ट्रसंघीय संस्था युनिसेफ, विश्व स्वास्थ्य संगठन , र युएनएफपिए  जस्ता अन्तर्राष्ट्रिय निकायहरू नेपालमा स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दै आएका थिए। तर अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित अन्तर्राष्ट्रिय अनुदान कटौतीले ती संस्थाहरूको सहयोग रोकिएको हो।

यसका प्रत्यक्ष असर नेपालका प्रजनन स्वास्थ्य, मातृ र नवजात शिशु कार्यक्रम, एचआईभी नियन्त्रण योजना, सूक्ष्म पोषण तत्व सर्वेक्षण परियोजना लगायतमा परेको छ। साथै, नियमित खोप अभियानमा गाभी  बाट प्राप्त हुने सहयोगमा पनि असर परेको बताइएको छ।

परिवार कल्याण महाशाखाले जनाएअनुसार हरेक दशकमा गरिने सूक्ष्म पोषण सर्वेक्षण पनि ठप्प छ। यो सर्वेक्षण आयोडिनयुक्त नुनको स्तर मापन गर्नका लागि पनि प्रयोग हुने थियो। महाशाखाका अनुसार यसले राष्ट्रिय पोषण नीति बनाउन आवश्यक तथ्याङ्क संकलनमा समस्या निम्त्याएको छ।

यसबाहेक, मातृ–शिशु स्वास्थ्यसम्बन्धी केही महत्वपूर्ण कार्यक्रम, जस्तै स्तनपान तालिम, जनशक्ति विकास, र नवजात शिशु मृत्यु विश्लेषण जस्ता कार्यक्रम पनि रोकिएको जानकारी दिइएको छ। कतिपय पूरा भइसकेका योजनाहरूको भुक्तानीसमेत अझै बाँकी रहेको र अर्थ मन्त्रालयसँग बजेट माग गरिएको महाशाखाले जनाएको छ।

खोपसम्बन्धी सहयोग घटेपछि आगामी वर्षमा सरकारले झन्डै १ अर्ब २० करोड रुपैयाँ आफ्नै स्रोतबाट व्यवस्था गर्नुपर्ने अवस्था आएको खोप शाखा प्रमुख डा. अभियान गौतमले बताएका छन्।

त्यस्तै, किशोर(किशोरी लक्षित परियोजनाहरू पनि बन्द भएका छन्। डा. गौरी प्रधानका अनुसार नवजात शिशुको मृत्यु निगरानीजस्ता कार्यक्रम आंशिक रूपमा चलिरहेका छन्, भने बाँकी योजनाहरू सीमित बजेटमा कामचलाउ रूपमा अघि बढाइएका छन्।

यसरी अमेरिकी सहयोग रोकिँदा नेपालको स्वास्थ्य सेवा प्रणालीमाथि प्रत्यक्ष प्रभाव परेको छ, जसको दीर्घकालीन असर सार्वजनिक स्वास्थ्यमा देखिन सक्ने संकेत मिलेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट