नेपाल हेल्थ न्युज, भक्तपुर । आज गुरुपूर्णिमा । चिकित्सा विज्ञानका गुरुहरूप्रति श्रद्धा व्यक्त गर्ने यो विशेष दिनमा भक्तपुर क्यान्सर अस्पतालले आफ्ना बिरामीहरूलाई अझ प्रभावकारी र आधुनिक सेवा दिन एक ऐतिहासिक पाइला चालेको छ ।
२०८२ असार २६ गते अस्पतालका कार्यकारी निर्देशक डा.उज्ज्वल चालिसेको नेतृत्वमा तीनजना वरिष्ठ विशेषज्ञ चिकित्सक वरिष्ठ न्युरो सर्जन डा. बसन्त पन्त, वरिष्ठ ग्याष्ट्रोइन्टेरेलोजिष्ट सर्जन प्रा.डा. सुनिलकुमार शर्मा र डा. रोमियो कन्साकारको हातबाट विभिन्न अत्याधुनिक उपकरणहरूको उद्घाटन गरिएको हो ।
आधुनिक उपकरणहरूको जडानः नयाँ युगको सुरुवात
यस अवसरमा अस्पतालमा सिस्टोस्कोप, इन्डोस्कोप, अपरेटिङ न्युरोमाइक्रोस्कोप र सि–आर्म एक्स–रे प्रणाली स्थापना गरिएको छ । यी उपकरणहरूको प्रयोगद्वारा अब सिस्टोस्कोपी, इन्डोस्कोपी र न्युरो सर्जरी सम्बन्धी प्रक्रिया अत्यन्तै सुलभ, सुरक्षित र कुशलतापूर्वक गर्न सकिने भएको छ । विशेषगरी पेट, मुत्रथैली तथा मस्तिष्कमा हुने ट्युमरको पहिचान र उपचारमा यी उपकरणहरूले क्रान्तिकारी परिवर्तन ल्याउनेछन् ।
रोगको यथार्थ निदान र समयमै उपचार
अस्पतालका कार्यकारी निर्देशक उज्ज्वल चालिसेले भन्नुभयो—‘हामी अब रोगको जटिल अवस्था नपर्खीकन प्रारम्भिक अवस्थामा नै यसको सही निदान गर्न सक्षम भएका छौँ । यसले उपचारको सफलतामा उल्लेखनीय वृद्धि ल्याउने छ ।’
उहाँका अनुसार अस्पतालको उद्देश्य भनेकै सबैखाले क्यान्सर रोगीलाई सस्तो, सुलभ र विश्वसनीय उपचार सेवा प्रदान गर्नु हो । उपकरणहरूको जडानसँगै अब कतिपय प्रक्रिया जुन अघिसम्म अन्य ठूला अस्पताल वा भारतसम्म जानुपर्ने हुन्थ्यो ती यही भक्तपुरमै सम्भव भएका छन् ।
विशेषज्ञहरूको उपस्थिति: एक प्रेरणादायी दिन
शुभारम्भ कार्यक्रममा न्यूरोसर्जरी, युरोलोजी र ग्याँस्ट्रोइन्टेरोलोजीका क्षेत्रमा महारथ हाँसिल गरेका चिकित्सकहरू डा. बसन्त पन्त, डा. सुनिल शर्मा र डा. रोमियो कन्साकारको उपस्थिति विशेष महत्वपूर्ण रह्यो । उहाँहरूले नयाँ उपकरणहरूको अवलोकन मात्रै होइन, यिनको सम्भावित प्रयोग र उपचारमा हुने फाइदाहरूबारे समेत सहकर्मी चिकित्सक र प्राविधिकहरूलाई जानकारी गराउनुभयो ।
डा. बसन्त पन्तले भन्नुभयो— अपरेटिङ न्युरोस्कोप जडानसँगै अब हामी मस्तिष्कको सूक्ष्म शल्यक्रिया अझै राम्रो तरिकाले गर्न सक्षम हुनेछौँ, जसले रोगीको जीवनको गुणस्तरमा प्रत्यक्ष सुधार ल्याउँछ ।’
भक्तपुरबाटै सुरु भएको विश्वासको यात्रा
काठमाडौं उपत्यकामा अवस्थित भए पनि भक्तपुर क्यान्सर अस्पतालले लामो समयदेखि क्यान्सरका बिरामीहरूको उपचारमा योगदान पु¥याउँदै आएको छ । तर पछिल्ला वर्षहरूमा अस्पतालले आफ्नो पूर्वाधार विस्तार, थप विशेषज्ञ सेवा र प्रविधिमैत्री उपचार प्रणाली विकासमा उल्लेखनीय फड्को मारेको छ ।
डा.उज्ज्वल चालिसे नेतृत्वमा पछिल्लो एक वर्षमा मात्र अस्पतालले धेरै नयाँ सेवा तथा विभाग थप गरेको छ — जसमध्ये आधुनिक उपकरणहरूको हालैको जडान अस्पतालको भिजन २०८५ अन्तर्गतको एउटा महत्वपूर्ण उपलब्धि हो ।
बिरामीलाई राहतः अब यात्रा होइन, उपचारमा केन्द्र
नयाँ सेवाबाट क्यान्सरको प्रारम्भिक अवस्था, ब्ल्याडर क्यान्सर, पेटको आन्द्राको समस्या र मस्तिष्कको ट्युमरको उपचारमा विशेष राहत मिल्नेछ । विशेषगरी सिस्टोस्कोप मार्फत मूत्रनली र मूत्रथैलीको अवस्था हेर्न सकिनेछ । इन्डोस्कोपले पेट र आन्द्राको अवलोकन सहज बनाउनेछ । अपरेटिङ न्युरोस्कोपले मस्तिष्क र मेरुदण्डको जटिल शल्यक्रियालाई सम्भव बनाउनेछ । सिआर्म एक्सरे मेसिनले एक्स–रेमार्फत वास्तविक समयमै छायाँ हेरेर सर्जरी गाइड गर्न सकिनेछ ।
एक उत्साहजनक सन्देश
गुरुपूर्णिमाको पावन दिनमा भएको यो उद्घाटनले अस्पतालका बिरामीहरूको जीवनमा नयाँ आशाको किरण ल्याएको छ । साथै समग्रमा नेपालको क्यान्सर उपचार प्रणालीमा नै एउटा सकारात्मक सन्देश प्रवाह गरेको छ । कार्यक्रमको समापनमा निर्देशक डा.चालिसेले भन्नुभयो—‘हामी प्रविधिको सदुपयोग गर्दै जनताको सेवामा समर्पित छौं । आगामी दिनमा भक्तपुर क्यान्सर अस्पताललाई राष्ट्रिय केन्द्र बनाउने हाम्रो लक्ष्य छ ।’
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
