नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालको औषधि उद्योगमा हालै एउटा ऐतिहासिक मोड आएको छ । नेपाली औषधि निर्माण कम्पनी म्याग्नस फर्मास्युटिकल्सले पहिलोपटक मोमेटासोन फ्युरोएट अणुमा आधारित न्याजल स्प्रे– ‘मोमेकोर’ ब्रान्ड नाममा उत्पादन गर्न सफल भएको छ ।
यो उपलब्धिले नेपालमा नै पहिलो पटक नाकको एलर्जी, राइनाइटिस तथा नाकभित्रको पोलिप्स जस्ता समस्याको उपचारमा प्रयोग हुने स्प्रे उत्पादन भएको इतिहास कोरेको छ ।
आयात–निर्भरता घटाउँदै आत्मनिर्भरतातर्फ पाइला
हालसम्म मोमेटासोन जस्ता अणुमा आधारित न्याजल स्प्रेहरू पूर्ण रूपमा विदेशबाट आयात गरिन्थे । भारत, बङ्गलादेश वा अन्य मुलुकबाट भित्रिने यस्ता स्प्रेको मूल्य, पहुँच, गुणस्तर र आयात प्रक्रियामा हुने ढिलाइ नेपाली बिरामीहरूको उपचारमा बाधक बन्थ्यो । यस्तो अवस्थामा म्याग्नस फार्माको यो प्रयासले औषधि आत्मनिर्भरताको दिशामा महत्वपूर्ण टेवा पु¥याएको छ ।
‘यो सुरुवात् मात्र हो’
म्याग्नस फार्माका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्के भन्नुहुन्छ—हामी सधैं नवीनता र समाजका अपूरा आवश्यकता पूर्तिमा विश्वास गर्छौं । यही सोच अनुरूप हामीले नेपाली बजारमा पहिलोपटक मोमेटासोन न्याजल स्प्रे उत्पादन सुरु गरेका छौं । यो मात्र सुरुवात हो – हामी एस्तै अन्य आधुनिक र गुणस्तरीय औषधिहरू नेपाली जनताको पहुँचमा ल्याउन प्रतिबद्ध छौं ।’
उहाँका अनुसार ‘मोमेकोर’ को निर्माण नेपाली भूगोल र जनसंख्याको उपचार आवश्यकता अनुसार गरिएको हो, जसले नेपालभित्रै नाकका एलर्जी र सूजनसम्बन्धी समस्याहरूको सहज उपचार सम्भव बनाउनेछ ।
एलर्जिक राइनाइटिस र नाक पोलिप्सका विरुद्ध
एलर्जिक राइनाइटिस भन्ने वित्तिकै नाकबाट सधैं पानी बग्ने, हाच्छ्यूँ आउने, नाक बन्द हुने, नाक पोल्ने, छातिमा भारी लाग्ने जस्ता समस्याहरू आउँछन् । धेरैजसो यस्ता समस्या धूलो, धुवाँ, चिसो, बास्ना, धुलोजस्तो एलर्जनका कारण हुने गर्छन् । मोमेटासोन अणुमा आधारित न्याजल स्प्रेले यस्तो सूजन र एलर्जीलाई न्युनिकरण गर्छ ।
त्यस्तै नाकभित्रको पोलिप्स अर्थात् नाकभित्र मासु पलाउने समस्या पनि नेपालमा व्यापक छ । खासगरी दीर्घकालीन नाकको एलर्जी वा सिनसाइटिस भएका बिरामीमा यस्तो देखिन्छ । मोमेटासोन स्प्रेलाई पोलिप्स घटाउने, शल्यक्रियाको आवश्यकता कम गराउने औषधिको रूपमा विश्वभर उपयोग गरिन्छ ।
उद्योगमै पहिलो प्रयासः म्याग्नस अग्रणी बन्न सफल
नेपालको औषधि उद्योगमा अहिलेसम्म न्याजल स्प्रे उत्पादन गर्ने कुनै प्रयास देखिएको थिएन । धेरैजसो कम्पनीहरू ट्याब्लेट, सिरप, इन्जेक्सनमा केन्द्रित थिए । यस्तो अवस्थामा म्याग्नस फार्माले अत्यन्तै संवेदनशील प्रविधियुक्त औषधि निर्माणमा हात हाल्नु आफैमा अभिनव र साहसी कदम हो ।
स्वास्थ्य विज्ञहरू भन्छन्—नेपालमा अझै धेरै रोगहरूको उपचार औषधि आयातमा आधारित छ । खासगरी विशेषज्ञ उपचार वा दीर्घकालीन रोगमा प्रयोग हुने औषधि स्वदेशमा उत्पादन भएन भने न त बिरामीलाई समयमै औषधि पुग्छ, न त सस्तोमा उपचार हुन्छ । म्याग्नसको यो प्रयासले अब अन्य कम्पनीहरूलाई पनि नयाँ क्षेत्रतर्फ सोच्न प्रेरणा दिनेछ ।
गुणस्तरीयता र सुलभताः दुबै पक्षमा सुधारको अपेक्षा
नेपालमा बनेका औषधिप्रति कहिलेकाहीँ उपभोक्तामा गुणस्तरको शंका हुने गर्छ । तर म्याग्नस फार्माको मोमेकोर न्याजल स्प्रेले गुणस्तरीय अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरेको बताइएको छ । कम्पनीले गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएमपी) अनुसार उत्पादित औषधिमा विशेष ध्यान दिएको जनाएको छ ।
अर्कोतर्फ विदेशबाट आयात गरिने यस्तै स्प्रेहरूको तुलना गर्दा मोमेकोरको मूल्य ५० प्रतिशतभन्दा सस्तो पर्ने अनुमान गरिएको छ । यसले खासगरी निम्न–मध्यम वर्गका नागरिकलाई सस्तोमा उपचारको सुविधा दिनेछ ।
नीति निर्माताका लागि सन्देश
म्याग्नसको यो प्रयास सरकार र नीति निर्माता संस्थाहरूका लागि पनि एक सन्देश हो । यदि उचित प्रोत्साहन, अनुगमन, र सहुलियत नीति लागु गरियो भने नेपालमै आधुनिक औषधि उत्पादन सम्भव छ । औषधि नीति, कर प्रणाली, अनुसन्धान प्रवद्र्धन जस्ता क्षेत्रमा सुधार भएमा अझ धेरै औषधिमा नेपाल आत्मनिर्भर बन्न सक्छ ।
म्याग्नस फार्मास्युटिकल्सले सुरु गरेको मोमेकोर न्याजल स्प्रे नेपाली औषधि उत्पादन क्षेत्रको एउटा माइलस्टोन हो । यो सार्वजनिक स्वास्थ्य पहुँच, आर्थिक बचत र औषधिमा आत्मनिर्भरताको दिशामा पनि एउटा ठूलो पाइला हो । यो प्रयासले अब अन्य कम्पनीहरूलाई पनि नयाँ सोच, नयाँ प्रविधिमा लगानी गर्न प्रेरित गर्ने निश्चित छ ।
नेपालको स्वास्थ्य प्रणाली अझ बलियो बनाउने यात्रामा यस्ता इनोभेटिभ कदमहरू अवश्य स्वागत योग्य छन् । ‘मेड इन नेपाल’ औषधि बिरामीका नाकमा मात्र होइन, स्वास्थ्य नीति र आर्थिक दृष्टिकोणमा पनि नयाँ श्वास बन्न सक्छ ।
एफएनसीसीआई कार्यकारिणीमा एपोन अध्यक्ष विप्लव अधिकारीको उम्मेदवारी घोषणा
बुधबार, चैत ११, २०८२
खुद्रा औषधि व्यवसायीलाई क्षयरोग नियन्त्रणमा साझेदार बनाउन आग्रह
मंगलबार, चैत १०, २०८२
नेपालमै क्यान्सर औषधि—स्वदेशी सम्भावनाको कथा
बुधबार, चैत ४, २०८२
‘नेपाल फर्मा एक्स्पो २०२६’ मा १२ हजारभन्दा बढीको अवलोकन
आइतबार, चैत १, २०८२

