नेभिगेशन

नेपालमै पहिलोपटक बनेको मोमेटासोन न्याजल स्प्रेः म्याग्नस फार्माको इनोभेसनले खोलेको औषधि आत्मनिर्भरताको नयाँ ढोका

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालको औषधि उद्योगमा हालै एउटा ऐतिहासिक मोड आएको छ । नेपाली औषधि निर्माण कम्पनी म्याग्नस फर्मास्युटिकल्सले पहिलोपटक मोमेटासोन फ्युरोएट अणुमा आधारित न्याजल स्प्रे– ‘मोमेकोर’ ब्रान्ड नाममा उत्पादन गर्न सफल भएको छ ।

यो उपलब्धिले नेपालमा नै पहिलो पटक नाकको एलर्जी, राइनाइटिस तथा नाकभित्रको पोलिप्स जस्ता समस्याको उपचारमा प्रयोग हुने स्प्रे उत्पादन भएको इतिहास कोरेको छ ।

आयात–निर्भरता घटाउँदै आत्मनिर्भरतातर्फ पाइला
हालसम्म मोमेटासोन जस्ता अणुमा आधारित न्याजल स्प्रेहरू पूर्ण रूपमा विदेशबाट आयात गरिन्थे । भारत, बङ्गलादेश वा अन्य मुलुकबाट भित्रिने यस्ता स्प्रेको मूल्य, पहुँच, गुणस्तर र आयात प्रक्रियामा हुने ढिलाइ नेपाली बिरामीहरूको उपचारमा बाधक बन्थ्यो । यस्तो अवस्थामा म्याग्नस फार्माको यो प्रयासले औषधि आत्मनिर्भरताको दिशामा महत्वपूर्ण टेवा पु¥याएको छ ।

‘यो सुरुवात् मात्र हो’
म्याग्नस फार्माका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्के भन्नुहुन्छ—हामी सधैं नवीनता र समाजका अपूरा आवश्यकता पूर्तिमा विश्वास गर्छौं । यही सोच अनुरूप हामीले नेपाली बजारमा पहिलोपटक मोमेटासोन न्याजल स्प्रे उत्पादन सुरु गरेका छौं । यो मात्र सुरुवात हो – हामी एस्तै अन्य आधुनिक र गुणस्तरीय औषधिहरू नेपाली जनताको पहुँचमा ल्याउन प्रतिबद्ध छौं ।’

उहाँका अनुसार ‘मोमेकोर’ को निर्माण नेपाली भूगोल र जनसंख्याको उपचार आवश्यकता अनुसार गरिएको हो, जसले नेपालभित्रै नाकका एलर्जी र सूजनसम्बन्धी समस्याहरूको सहज उपचार सम्भव बनाउनेछ ।

एलर्जिक राइनाइटिस र नाक पोलिप्सका विरुद्ध
एलर्जिक राइनाइटिस भन्ने वित्तिकै नाकबाट सधैं पानी बग्ने, हाच्छ्यूँ आउने, नाक बन्द हुने, नाक पोल्ने, छातिमा भारी लाग्ने जस्ता समस्याहरू आउँछन् । धेरैजसो यस्ता समस्या धूलो, धुवाँ, चिसो, बास्ना, धुलोजस्तो एलर्जनका कारण हुने गर्छन् । मोमेटासोन अणुमा आधारित न्याजल स्प्रेले यस्तो सूजन र एलर्जीलाई न्युनिकरण गर्छ ।

त्यस्तै नाकभित्रको पोलिप्स अर्थात् नाकभित्र मासु पलाउने समस्या पनि नेपालमा व्यापक छ । खासगरी दीर्घकालीन नाकको एलर्जी वा सिनसाइटिस भएका बिरामीमा यस्तो देखिन्छ । मोमेटासोन स्प्रेलाई पोलिप्स घटाउने, शल्यक्रियाको आवश्यकता कम गराउने औषधिको रूपमा विश्वभर उपयोग गरिन्छ ।

उद्योगमै पहिलो प्रयासः म्याग्नस अग्रणी बन्न सफल

नेपालको औषधि उद्योगमा अहिलेसम्म न्याजल स्प्रे उत्पादन गर्ने कुनै प्रयास देखिएको थिएन । धेरैजसो कम्पनीहरू ट्याब्लेट, सिरप, इन्जेक्सनमा केन्द्रित थिए । यस्तो अवस्थामा म्याग्नस फार्माले अत्यन्तै संवेदनशील प्रविधियुक्त औषधि निर्माणमा हात हाल्नु आफैमा अभिनव र साहसी कदम हो ।

स्वास्थ्य विज्ञहरू भन्छन्—नेपालमा अझै धेरै रोगहरूको उपचार औषधि आयातमा आधारित छ । खासगरी विशेषज्ञ उपचार वा दीर्घकालीन रोगमा प्रयोग हुने औषधि स्वदेशमा उत्पादन भएन भने न त बिरामीलाई समयमै औषधि पुग्छ, न त सस्तोमा उपचार हुन्छ । म्याग्नसको यो प्रयासले अब अन्य कम्पनीहरूलाई पनि नयाँ क्षेत्रतर्फ सोच्न प्रेरणा दिनेछ ।

गुणस्तरीयता र सुलभताः दुबै पक्षमा सुधारको अपेक्षा
नेपालमा बनेका औषधिप्रति कहिलेकाहीँ उपभोक्तामा गुणस्तरको शंका हुने गर्छ । तर म्याग्नस फार्माको मोमेकोर न्याजल स्प्रेले गुणस्तरीय अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरेको बताइएको छ । कम्पनीले गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जिएमपी) अनुसार उत्पादित औषधिमा विशेष ध्यान दिएको जनाएको छ ।

अर्कोतर्फ विदेशबाट आयात गरिने यस्तै स्प्रेहरूको तुलना गर्दा मोमेकोरको मूल्य ५० प्रतिशतभन्दा सस्तो पर्ने अनुमान गरिएको छ । यसले खासगरी निम्न–मध्यम वर्गका नागरिकलाई सस्तोमा उपचारको सुविधा दिनेछ ।

नीति निर्माताका लागि सन्देश
म्याग्नसको यो प्रयास सरकार र नीति निर्माता संस्थाहरूका लागि पनि एक सन्देश हो । यदि उचित प्रोत्साहन, अनुगमन, र सहुलियत नीति लागु गरियो भने नेपालमै आधुनिक औषधि उत्पादन सम्भव छ । औषधि नीति, कर प्रणाली, अनुसन्धान प्रवद्र्धन जस्ता क्षेत्रमा सुधार भएमा अझ धेरै औषधिमा नेपाल आत्मनिर्भर बन्न सक्छ ।

म्याग्नस फार्मास्युटिकल्सले सुरु गरेको मोमेकोर न्याजल स्प्रे नेपाली औषधि उत्पादन क्षेत्रको एउटा माइलस्टोन हो । यो सार्वजनिक स्वास्थ्य पहुँच, आर्थिक बचत र औषधिमा आत्मनिर्भरताको दिशामा पनि एउटा ठूलो पाइला हो । यो प्रयासले अब अन्य कम्पनीहरूलाई पनि नयाँ सोच, नयाँ प्रविधिमा लगानी गर्न प्रेरित गर्ने निश्चित छ ।


नेपालको स्वास्थ्य प्रणाली अझ बलियो बनाउने यात्रामा यस्ता इनोभेटिभ कदमहरू अवश्य स्वागत योग्य छन् । ‘मेड इन नेपाल’ औषधि बिरामीका नाकमा मात्र होइन, स्वास्थ्य नीति र आर्थिक दृष्टिकोणमा पनि नयाँ श्वास बन्न सक्छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फर्मा अपडेट