नेपाल हेल्थ न्युज, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता संस्थाका प्रमुख चेन सियाओदोंग नेतृत्वको प्रतिनिधिमण्डलबीच आज राजधानीमा उच्चस्तरीय वार्ता सम्पन्न भएको छ। छलफलपछी दुई देशबीच चारवटा परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यस समझदारीअनुसार चितवनको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो उपचार सेवा स्थापनाको काम अघि बढ्नेछ। त्यस्तै, निजामती कर्मचारी अस्पतालको सेवा विस्तारका लागि सम्भाव्यता अध्ययन गरिने छ। दुवै समझदारीमा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र चिनियाँ पक्षबाट सो संस्थाका प्रमुखले हस्ताक्षर गर्नुभएको हो।
भरतपुरको अस्पतालमा करिब १८३४ वर्गमिटर क्षेत्रफलमा फैलिएको नयाँ उपचार केन्द्र निर्माण गरिनेछ, जहाँ आवश्यक उपकरण पनि जडान गरिनेछ। यसले क्यान्सर रोगको उपचारमा महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ।
यही अवसरमा कर्मचारी क्षमता अभिवृद्धि गर्न दुबै देशबीच मानव स्रोत विकाससम्बन्धी समझदारी पनि भएको छ। यस कार्यक्रमबाट एक हजार दुई सय सत्तरी जना कर्मचारीले चीनमा आयोजना हुने तालिम तथा छलफल कार्यक्रममा सहभागी हुन पाउनेछन्।
त्यसैगरी, रसुवागढीदेखि केरुङ्गसम्म सिमानाका आसपास विद्युतीय प्रसारण लाइनको सम्भाव्यता अध्ययन सम्बन्धमा पनि अलगै सम्झौता भएको छ। सो सम्झौतामा नेपाल विद्युत प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्य र चिनियाँ पक्षका प्रमुखले हस्ताक्षर गर्नुभएको छ।
अर्थमन्त्री पौडेलले नेपालको बहुआयामिक सम्बन्धलाई बलियो बनाउने यस्ता सहकार्यले आगामी दिनमा थप उपलब्धि दिलाउने विश्वास व्यक्त गर्दै चीनप्रति धन्यवाद ज्ञापन गर्नुभयो। सचिव उपाध्यायले हस्ताक्षरित परियोजनाहरूले नेपाली जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने धारणा राख्नुभयो।
यसैक्रममा चिनियाँ पक्षले हालैको भोटेकोशीमा आएको बाढीले पुर्याएको क्षतिको पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
